जिल्लामा खेलकुद क्षेत्रको विकास, खेलाडी उत्पादन र खेलिरेहेका खेलाडीहरुको क्षमता विकासका लागि जिल्ला खेलकुद विकास समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । त्यसका लागि तीनै तहमा रहेका सरकारसँग समन्वय गर्ने, सहयोग जुटाउने र जिल्लामा भएका खेलकुदका पूर्वाधारलाई चलायमान बनाउन सक्छ तर पूर्वाधार हुँदाहुँदै पनि किन जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सक्ने गरी ठूला प्रतियोगिताहरु हुन सकिरहेका छैनन् ? खेलकुद क्षेत्रको विकासमा कसरी अघि बढ्न सकिन्छ भनेर गोरक्षकर्मी लिलाधर वलीले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल (हमाल)सँग गरेको कुराकानीको सार संक्षेप ।
अध्यक्षमा निर्वाचित भएपछि अहिले के गर्दै हुनुहुन्छ ?
भर्खरै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दाङमा खेलाडी छनोटको काम सकेका छौँ । अब छनोट भएका खेलाडीहरू प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछन् । त्यसका लागि तयारी गरिरहेका छन् तर उक्त छनोटका लागि सम्बन्धित निकायले पैसा अझै पठाएको छैन । जसले गर्दा खेलाडीहरूलाई समस्या भइरहेको छ । अहिले हामी त्यही व्यवस्थापनसँगै दाङको खेलकुद क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर योजना बनाउन लागेका छौँ ।
तपाईं जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा आएपछि दाङको खेलकुदको अवस्था के–कस्तो पाउनुभएको छ ?
दाङ खेलकुद र संरचनाका हिसाबले सम्भावनायुक्त ठाउँ हो । यहाँ धेरै खेलहरूमा खेलाडी खेलिरहनुभएको छ । खेलाडीहरूको पनि राम्रो उत्साह छ तर नेतृत्व गर्ने र जिम्मेवारी तहमा बस्ने केही व्यक्तिका कारण जिल्लाको खेलकुद सही रूपमा अगाडि बढ्न सकेन कि भन्ने लागेको छ । जसको कारण खेलकुदका संरचना भए पनि खेलकुद अघि बढ्नसकेको छैन । कतिपय खेलकुदका संरचनाहरू जीर्ण हुने अवस्थामा पुग्ने खतरा छ ।
खेलकुदको नेतृत्व गर्छु भन्नेहरूमा छाडा प्रवृत्तिका देखिन्छ । आफ्नो खेलभन्दा अर्कालाई नस्वीकार्ने प्रवृत्ति देखिन्छ । यस कारण जिल्लामा खेलकुदको अवस्था अपेक्षाअनुसार अघि बढ्न नसकेको जस्तो लागेको छ । जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा मलगायतको टिम आइसकेपछि खेलकुदलाई व्यवस्थित गर्दै दाङको खेलकुदका लागि प्रयासको थालनी गरेका छौँ तर भर्खरै आएको र बजेट नहुँदा समस्या भएको छ । तैपनि हामीले खेलकुदको विकास र अनुशासनका रूपमा रहेको खेलकुदलाई सकारात्मक ढङ्गले अघि बढाउनका लागि प्रशिक्षिक, सहायक प्रशिक्षकलगायतका समितिका कर्मचारी राखेर राय सुझाव लिने काम गरेका छौँ ।
अहिले नवौँ राष्ट्रिय प्रतियोगिताका लागि सबै खेलसँग सम्बन्धित व्यक्तिहरू व्यस्त भएकाले प्रतियोगिता सकिएपछि वृहत रूपमा बैठक बसालेर सल्लाह र सुझावका आधारमा कसरी अघि बढ्ने भन्ने सोचेका छौँ । खेलमा राम्रो उत्साह छ तर खेलकुदको नेतृत्वमा तहमा भएका मान्छेहरू खराब हुँदा खेल र खेलाडीहरू निराश बन्नुपर्ने अवस्था छ । त्यसको उदाहरण भनेको जिल्लामा छनोट चरणको खेलहरू सकिसकेको छ तर खर्चका लागि सरकारले पठाउने पैसा आउनसकेको छैन ।
खेलाडीहरूलाई राम्रो ड्रेस लगाउन सक्ने, पोषणयुक्त खाना खाने र कतिपय खेलका खेलाडीहरूलाई सिक्ने ठाउँ समेत छैन । उत्साहसँग खेल्नुपर्ने खेलाडीहरू राज्यकै कारण निराश बन्नुपर्ने अवस्था छ । यो विषयमा प्रदेशले आयोजना गरेको बैठकमा मैले कुरा राखेको छु । खेलकुदमा बजेट बढाउन र पठाएको रकम पनि समयै पठाउन आग्रह गरेको छु । यसतर्फ सरकारको ध्यान जानुपर्छ । यी सबै कुरालाई सम्झँदा खेलकुदलाई खेलभन्दा पनि खेलौना बनाउन खोजेकोजस्तो महशुस हुन्छ । राजनीतिकीकरण र लापरबाहीले खत्तम बनाएको छ ।
दाङमा खेलकुदको पूर्वाधारको अवस्था कस्तो छ ?
जिल्लामा पूर्णरूपमा खेलकुदका पूर्वाधारहरू छन् भन्ने अवस्था त छैन तर धेरै खेलका लागि संरचनाहरू तयार भएका छन् । त्यसका उदाहरणका रूपमा बेलझुण्डी रङ्गशाला, लमहीमा रहेको क्रिकेट मैदानलगायत संरचनाहरू हुन् तर यी संरचनाहरू पनि पूरा हुनसकेका छैनन् । बेलझुण्डी रङ्गशाला बने पनि त्यसको संरक्षणका लागि थप काम गर्नुपर्नेछ । त्यसका लागि प्रदेश सरकारसँग बजेट माग गरेका छौँ ।
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री तथा यही क्षेत्रका संसद डिल्ली चौधरीले त्यसका लागि सकारात्मक कुरासँगै बजेटको समेत व्यवस्था गर्नुभएको छ । उहाँलगायत प्रदेश सरकारले थप बजेट दिनेमा आशावादी छौँ । त्यसका साथै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा जिल्लाका विभिन्न ठाउँमा संरचनाहरू बनेका छन् । तर दुःखद् कुरा हो ती मध्यका कतिपय संरचनाहरू जीर्ण हुने अवस्थामा छन् । संरक्षण पाउन सकिरहेका छैनन् । खेलकुदका संरचना बने तर संरक्षण कसले गर्ने ? खेलकुद विकास समितिसँग पैसा छैन । सम्बन्धित खेलमा लागेका व्यक्तिहरूको पनि खासै जिम्मेवारी देखिँदैन ।
जिल्लामा खेलकुदका संरचना तयार हुँदा पनि दाङलाई खेलकुदका माध्यमबाट राष्ट्रियस्तरमा चिनाउनसक्ने प्रतियोगिता हुन सकेनन् भन्छन, किन यस्तो भएको होला ?
यो जिल्लामा खेलकुदका लागि पूर्वाधार तयार छन् । केही स्थानीय तह, केही क्लब र केही सम्बन्धित खेलका समितिका माध्यमबाट पनि प्रतियोगिताहरू हुने गरेका छन् तर ती प्रतियोगिताहरू जिल्लामै सीमित हुनेगरेका छन् । जिल्लाका लागि गर्भ गर्नलायक, जिल्ला बाहिरबाट खेलाडीहरू ल्याउने गरी प्रतियोगिता गराउन सक्ने अवस्था भयो भने राम्रो हुन्थ्यो । त्यसका लागि खेलमा सम्बद्ध सबैसँग सल्लाह गरेर अघि बढ्ने सोच छ । कसरी राम्रो प्रतियोगिता गर्न सकिन्छ र भएका खेलकुदका संरचनाहरूको उपयोग हुन सक्छन् भनेर हामी अघि बढ्ने छौँ । सबै तहबाट साथ र सहयोग भए राम्रा प्रतियोगिताहरू सञ्चालन गर्न सकिन्छ ।
तपाईंले आफ्नो कार्यकाललाई के–कसरी अघि बढाउने सोच्नुभएको छ ?
पक्कै पनि म जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा केही काम गर्ने योजनाका साथ आएको हुँ । मलाई पैसा कमाउने उद्देश्य भएको भए अन्य क्षेत्र रोज्न सक्थे तर खेलप्रति मेरो माया र सम्मान छ । खेलकुदको विकास गर्दै आफ्नो कार्यकाललाई सम्झनयोग्य बनाउने सोच छ । तर अहिले ‘जब प¥यो राती, तब बूढी ताती’ भनेझैँ भएको छ ।
अहिले राज्यको ध्यान नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छ । जिल्लामा पैसा छैन । विभिन्न कार्यक्रमका लागि बजेट माग गरेका छौँ तर पैसा दिइएको छैन । प्रदेश सरकारमा स्टिमेट बनाएर बुझाएका छौँ । मन भएर पनि घरबाट पैसा खर्च गर्नसक्ने अवस्था छैन । राज्यका निकायसँग समन्वय गरेर अघि बढ्ने हो । मैले जिल्लामा भएका खेलकुद संरचनाहरूको संरक्षण, नयाँ खेलाडी उत्पादन, खेलिरहेका खेलाडीहरूको क्षमता विकास, आवश्यक ठाउँमा खेलको पूर्वाधार विकासका लागि समन्वय र पहलसँगै जिल्लालाई दीर्घकालीन फाइदा हुने गरी सबैको छलफल र सल्लाहअनुसार प्रतियोगिता सञ्चालन गर्ने सोचेको छु ।
एकले अर्कालाई नटेर्ने प्रवृत्ति छ । त्यसमा सुधार हुन आवश्यक छ । क्वलहरूले समेत जिल्ला खेलकुद विकास समितिलाई नटेर्ने प्रवृति देखिएको छ । यो राम्रो होइन । आपूmखुसी क्लबहरू खोल्ने र अघि बढ्नेभन्दा जिल्लाको खेलकुदको विकासका लागि कसरी मिलेर अघि बढ्न सकिन्छ भनेर सबैले सोच्न आवश्यक छ ।
जिल्लामा नयाँ खेलाडी उत्पादन र खेलिरहेका खेलाडीका क्षमता विकासका लागि केही योजना छन् ?
दाङ खेलकुदका लागि अत्यन्त सम्भावना बोकेको ठाउँ हो । राम्रोसँग खेल्न पाउने व्यवस्था ग¥यौँ भने क्षमतावान् खेलाडीहरू उत्पादन हुन सक्छन् । त्यो भर्खरै सम्पन्न भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले पनि देखाएको छ । त्यसैले जिल्लामा नयाँ खेलाडी उत्पादन र खेलिरहेका खेलाडीहरूको क्षमता विकासका लागि विभिन्न ठाउँमा प्रतियोगताहरू गरेर खेल्ने अवसर बनाउने सोचेका छौँ । त्यसका लागि बजेट समेत माग गरेका छौँ । खेलिरहेका खेलाडीहरूको हौसला बढाउनका लागि स्थानीय सरकार र स्कूलहरूसँग समन्वय गरेर नियमित रूपमा प्रतियोगिता आयोजना गर्ने खेलकुदका गतिविधिहरूलाई अगाडि बढाउने सोचेका छौँ ।
खेलकुद क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?
जिल्ला तहको नेतृत्वको हिसाबले भन्नु पर्दा खेललाई राज्यले हेर्ने दृष्किोणमा सुधार हुन आवश्यक छ । यही तरिकाले सोच्ने र काम गर्ने हो भने अपेक्षा गरेअनुसार खेलकुदको विकास हुन सक्दैन । राष्ट्रको गहनाका रूपमा रहेका केन्द्रदेखि जिल्ला तहका खेलाडीहरूलाई खेल्नका लागि सहयोगसँगै हौसला आवश्यक छ । तर जिल्लामा नवौँ राष्ट्रिय खेलकुदको छनोटका खेलहरू सकिसकेका छन् ।
यही खेलका लागि मन्त्रालयले बजेट छुट्याएको छ तर अहिलेसम्म एक रूपैयाँ पनि जिल्लासम्म आएको छैन । जसले गर्दा खेलाडीहरूले छनोट खेलमा राम्रोसँग पानी समेत खान नपाएर सहभागी हुनुपरेको छ । हामीले सकेजति आन्तरिक रूपमा विभिन्न ठाउँमा भनेर व्यवस्थापन गर्ने प्रयास ग¥यौँ तर यसरी खेलाउँदा हामीले खेलाडीबाट कति अपेक्षा गर्ने ? समयमा बजेटको व्यवस्थापन गरेर खेलाउन सक्ने अवस्था भयो भने राम्रो हुने थियो ।
सरकारका विभिन्न निकायमा बस्ने केही व्यक्तिहरूका कारण खेलकुदलाई खेलका रूपमा भन्दा पनि खेलौनाका रूपमा विकास गर्न खोजेको हो कि भन्ने लागेको छ । यसमा सुधार हुन आवश्यक छ । राष्ट्र र जनताका लागि खेल्ने खेलाडीहरूको सम्मान र हौसला बढाउन तीनै तहका सरकारले ध्यान दिनुपर्छ ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
मलगायतको नेतृत्व जिल्ला खेलकुद विकास समितिमा आएको लामो समय भएको छैन तर छोटो समयमा पनि जिल्लाको खेलकुदको विकासका लागि प्रयासको थालनी गरेका छौँ । त्यसका लागि विभिन्न खेलकुद समितिका पदाधिकारी, प्रशिक्षक, सहायक प्रशिक्षकलाई बोलाएर छलफल गर्ने काम गरेका छौँ । यसका साथै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गर्नुका साथै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने काम गरेका छौँ ।
आशा छ, प्रदेशस्तरीय छनोट प्रतियोगितामा पनि राम्रो क्षमता प्रदर्शन गर्नेछन् । अन्त्यमा जिल्लाको खेलकुदको अवस्था र योजनाका बारेमा विचार राख्ने अवसर दिनुभएकोमा धेरै–धेरै धन्यावाद । साथै आगामी दिनहरूमा पनि जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि निरन्तर रूपमा कलम चलाइदिन समेत आग्रह गर्दछु ।