मेरो सुखी : हापुरमा मावि विद्यालय स्थापना हुँदा …

विगत ३४ वर्षदेखि शिक्षण पेसामा आबद्ध उनी मानवअधिकार, रेडक्रसदेखि थुप्रै सामाजिक संघसंस्थामा आबद्ध छन् । पिता लोकराज न्यौपाने तथा माता तिलका न्यौपानेका दोस्रो सन्तानको रूपमा हापुरको बगालेमा जन्मिएका प्रमोदकुमार न्यौपाने सधैँ हँसिला, मिजासिला र शिक्षाको ज्योति फैलाउनमा तल्लीन छन् ।

न्यौपानेले आफू सधैँ खुसी हुने गरेको भन्दै उनले विगतलाई सम्झिए । ‘म सधैँ खुसी नै हुन्छु, हँसिलो मुहारमा मुस्कान छ’, उनले भने, ‘कहिले देख्नुभएको छ र मलाई खुसी नभएको ?’ प्रारम्भिक शिक्षा नेपाल राष्ट्रिय प्रावि शिवपुरबाट लिएका न्यौपानेले तत्कालीन समयमा डेढ घण्टाको दूरीमा रहेको मावि नारायणपुरमा अध्ययन गर्न जानुपर्ने बाध्यता भएको सुनाए । त्यसपछि हापुर मावि निघुवार स्थापना गरियो र आफू त्यही स्कूलमा पढ्न पाउँदा त्यो जतिको खुसी जीवनमा कहिल्यै नभएको सम्झिए । ‘मेरो पहिलो खुसी नजिकैको विद्यालयमा पढ्न पाउँदाको हो, यहीलाई मैले पहिलो खुसीको रूपमा लिएको छु’ न्यौपाने भन्छन् ।

स्वर्गीय पिता लोकराजलगायतका शिक्षाप्रेमी, समाजसेवी दुर्गाबहादुर न्यौपाने, लालबहादुर न्यौपाने, जुद्धबहादुर न्यौपाने, टेकनाथ गौतम, शिवराज गौतम, शोभाखर थापा र इन्द्रबहादुर न्यौपानेहरूको अथक प्रयत्नले सो विद्यालय स्थापना भएको र आफूसँगै अन्य सबैले त्यहीँ अध्ययन गर्न पाएको उनले बताए । त्यस्तै माध्यमिक शिक्षा हापुर मावि निघुवारबाट एसएलसी पास गरेको र तत्कालीन समयमा भारतको बनारमा गएर अध्ययन गर्ने प्रचलन कायमै रहेकाले पनि आफ्नै ठाउँको विद्यालयबाट एसएलसी पास गर्दा आफू निकै खुसी भएको सुनाए ।

‘मेरो अर्को खुसी आफ्नै ठाउँमा स्थापना भएको विद्यालयमा पढेर एसएलसी पास गर्दाको हो, त्यति बेला मेरो परिवारमा खुसीको सीमा नै रहेन’, न्यौपाने भन्छन् । त्यस्तै उनले अर्को खुसी आफूले विसं २०४५ सालमा पढेको विद्यालयमा शिक्षकको रूपमा सेवा गर्ने अवसर मिल्दाको बताए । न्यौपानेले आफू उच्च शिक्षा स्वास्थ्य क्षेत्रमा गर्न चाहेको र सिएमए पढ्न सुर्खेत जाँदा एकाडेमिक कोर्श नभएको पाएपछि महेन्द्र क्याम्पस दाङबाट पिसिएल तह अध्ययन गर्दा क्याम्पस प्रमुख नारायणसिंह पुन र प्राध्यापक प्रेम गिरीले शिक्षा क्षेत्रमा लाग्न दिनुभएको उत्प्रेरणाले आफूले घरआँगनमै शिक्षण गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।

‘त्यो बेला शिक्षक बन्नु पनि चानचुने कुरा थिएन । शिक्षकको महत्व धेरै थियो’, उनले भने । उमावि निघुवारबाट शिक्षण सुरु गरेका न्यौपानेले नारायणपुर, उरहरी कालाखोला हुँदै हाल मावि रक्षाचौरमा कार्यरत रहेको बताए । उनले आफूले ३४ वर्षसम्म हजारौँलाई शिक्षा दिएको र आफूले पढाएका विद्यार्थीहरू हाल विभिन्न स्थानमा कार्यरत रहेको बताए । उनले आफूले शिक्षा दिएका विद्यार्थीहरूको प्रगति र उनीहरूले बेला–बेलामा सम्झँदा खुसी लाग्ने गरेको सुनाए । ‘मैले पढाएका विद्यार्थीहरू अहिले विभिन्न पेसा व्यवसायमा हुनुहुन्छ, उहाँहरूलाई भेट्दा अनि ठूलो–ठूलो पोस्टमा पुगेको देख्दा आफूलाई पनि आत्मन्तुष्टि हुन्छ’, उनी भन्छन् ।

न्यौपानेले अर्को खुसी विसं २०४६ सालमा अध्ययन र अध्यापन गर्दै जाँदा ऐतिहासिक जनआन्दोलनमा समेत सरिक हुन पुगेको सम्झिए । आन्दोलनको प्रभावले राजनैतिक चेतलाई अझ बढी उचाईमा पु¥याएको भन्दै जनआन्दोनमा पञ्च र पञ्चायती शासकबाट प्रजातन्त्रवादीको आवाजलाई दबाउन गरिएको क्रुर दमनले सर्वत्र मानवअधिकारको हनन्को घटनाले आफूलाई मानवअधिकार रक्षकको रूपमा कार्य गर्ने प्रेरित गरेको भन्दै खुसी व्यक्त गरे ।

त्यससँगै विसं २०४८ सालमा काठमाडौंबाट प्रकाशित सुरुचि साप्ताहिकमा स्टिङ्गरको रूपमा काम गरेको र स्वतन्त्रताका आवाजहरू पत्रिकामार्फत संप्रेषित गर्ने प्रयास गरेको बताए । त्यस्तै न्यौपानेले विसं २०६७ सालमा संसारकै सबैभन्दा बढी सदस्य रहेको गैरसरकारी संस्था अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एमनेस्टी इन्टरनेशनल नेपालको राष्ट्रिय कार्यसमितिको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा अर्को खुसी प्राप्त भएको बताए ।

अध्ययन, अध्यापन, पत्रकारिता तथा मानवअघिकार प्रबद्र्धनजस्ता विशेष क्षेत्रमा भूमिका निर्वाह गर्दै गर्दा नेपाल शिक्षक संघ दाङको सहसचिव, केन्द्रीय प्रतिनिधिको रूपमा कार्य गर्न पाउँदा र साथीभाइले जिम्मेवारी दिँदा अर्को खुसी मिलेको सुनाए । न्यौपानेले हाल श्रमिक आन्दोलमा क्रियाशील नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशको कोषाध्यक्षको रूपमा काम गर्न पाउँदा पनि खुसी भएको सुनाए । एपिएम विषयमा स्नातकोत्तर गरेका न्यौपानेले विसं २०४५ सालदेखि शिक्षण पेसामा आबद्ध भइ प्रावि, निमावि, उच्च माध्यमिक शिक्षकको रूपमा काम गर्ने अवसर पाएकोमा पनि खुसी व्यक्त गरे ।

त्यस्तै जिल्लाकै उत्कृष्ट विद्यालयको रूपमा रहेको गुरू जजुर नमुना माविमा सहायक प्रधानाध्यापकको रूपमा जिम्मेवारी पाउँदा अर्को खुसी प्राप्त भएको उनले सुनाए । त्यस्तै घरपरिवारमा पनि श्रीमती, छोरा छोरीहरूको प्रगति र आफू सेवामा लाग्दै गर्दा सबैको साथ, सहयोग पाएकोमा पनि उनले खुसी व्यक्त गरे । ‘मैले आफन्त, साथीभाइ अनि परिवारको पनि सहयोग पाएको छु, दिएको जिम्मेवारी पूरा गरेको छु, म यसैमा खुसी छु’, उनले भने ।

त्यस्तै स्वर्र्गीय पिता र गुरूहरूले स्वदेशमै रहेर केही गर्नुपर्छ भन्ने प्रेरणा दिएकाले विदेशिने अवसर आए पनि म नेपालमै केही गर्छु भनेर नेपालमै सेवा गर्न पाएकोमा अहिले आफू खुसी र सन्तुष्ट भएको उनले बताए । हाल तुलसीपुर–६ निवासी शिक्षक प्रमोदकुमार न्यौपाने गुरू जजुर नमुना माविका सहायक प्रअ, यौन तथा प्रजनन् स्वास्थ्य मानवअधिकार विषयको प्रशिक्षक तथा विभिन्न समाजिक संघसंस्थामा आबद्ध छन् ।

प्रस्तुती : बालारामखड्का