आध्यात्मिक चेतनाबिना भौतिकवादले जीवन चल्दैन

  •   
  •  

नारायणप्रसाद श्रेष्ठ
जीवनको हरेक क्षेत्रमा नम्रता, शिष्टता, विश्वास, भरोसा, समर्पण र सेवाको आवश्यकता रहेको हुन्छ । जसले जीवनमा यिनै कुरालाई आफ्नो उद्देश्य बनाएर अघि बढ्ने संकल्प गर्दछ, ऊ नै विश्वको विजेता र मालिक बन्नलायक बन्दछ । हिजोका हाम्रा पुर्खाको इतिहास पढ्ने हो भने उनैको साहस, विश्वास, समर्पण र संकल्पबाट वर्तमान यो अवस्थासम्म आइपुगेको पाइन्छ ।

उनीहरुले देखाएको पदचिह्नबाट नै संसार आपसी भाइचारा र एकताको सूत्रमा बाँधिएको अवस्था छ । एकले अर्कालाई सहयोगी बनेको स्थिति छ । पुर्खाले हामीलाई जुन संस्कार र संस्कृति सिकाए त्यही संस्कारले सेवा र सद्भाव पनि बढेको छ । चहराइरहेको घाउको मल्हमपट्टी बनेर मानिस आदरणीय बनेका छन् । भैतिकवादले जरा गाड्नुपूर्व आध्यात्मिक सत्यले जुन कुराको उद्घाटन गरेको छ, संसारलाई सत्यको धरातलमा रहन उत्प्रेरित गरेकोछ, त्यसको गहिरिएर अध्ययन गर्ने हो भने संसारलाई सहज गति दिने प्रमुख तत्वको रुपमा आध्यात्मिक सत्संग रहेको पनि पाइन्छ ।

सेवाबिनाको कर्म र धर्मबिनाको संस्कार भौतिकवादी सत्यको चिनारी भएर देखापरेको वर्तमानलाई हेर्ने हो भने भौतिकताले क्षणिकता र विलासितातर्फ मानवीय चिन्तन बढाएको पाइन्छ । आँखाले देखेको मात्र सत्य ठान्ने भौतिकवादले आफू र आफ्नो जन्मको सार्थकता समेत बिर्सेको देखिन्छ । बाह्य वातावरणमा रमाउन सिकेको भौतिकवादले अन्तरमनको सत्यलाई उजागर गर्न खोजेको वास्तविकता पहिचान गर्न नसकेको देखिन्छ ।

क्षणिकतालाई सुख र आनन्द मान्ने भौतिक युगले आध्यात्मिक सत्यले उजागर गर्न खोजेको अन्तरमनको सत्यलाई जान्न नखोजेको देखिन्छ । ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ भन्ने थाहा हुँदाहुँदै पनि भौतिकवादी चिन्तनले ल्याएको विनाशकारी तत्वभित्र मन बहलाउनु वास्तवमा विडम्बना मान्नुपर्छ । तसर्थ, आध्यात्मिक सत्यले देखाएको गोरेटोलाई आत्मसात गर्दै भौतिकवादी चिन्तनले ल्याएको परिवर्तनलाई स्वीकारी अगाडि बढ्न वर्तमानले हामीलाई प्रोत्साहित गरेको अवस्था छ ।

आध्यात्मिक सत्संगबाट प्राप्त आदर्शलाई अँगाल्दै भौतिक विज्ञानले देखाएको परिस्थितिलाई समायोजन गरी जसरी वर्तमान अगाडि बढेको छ, समाजमा आदर्श चिन्तन प्रवाह भएको छ, त्यसरी नै सामाजिक परिवेश र यसको उपादेयतालाई बुझी सबैले यसलाई स्वीकार्न र बुझ्नु पर्छ । आध्यात्मिक विज्ञानले सिकाएको आदर्शलाई भौतिक विज्ञानको असल पक्षसँग तालमेल गरी अघि बढ्नु भनेको जीवनलाई सफल बनाउनु हो ।

सांसारिक गतिविधिमा सकारात्मक भाव बढाइ ‘बसुधैव कुटुम्बकम’को मान्यता शिरोधार्य गर्नु हो । त्यसैले समय र परिस्थितिको आँकलन गरी आध्यात्मिक ज्ञान धारण गरेर मनको पवित्र उद्वेगलाई सकारात्मक प्रवृत्तिउन्मुख गराउन परेको छ । समयले स्वीकारेको भौतिकतालाई आध्यात्मिक सत्यको गोरेटोभित्र समाहित गरी जीवन र जगतलाई जान्ने कोशिस गर्नु नै सामाजिक गतिविधिमा आफूलाई सहज बनाउनु हो ।

आध्यात्मिक सत्संगबाट प्रभावित भएर जुन संस्कार र संस्कृति हाम्रा पुर्खाले हामीलाई सिकाएका छन्, आत्मविश्वासका साथ अघि बढ्ने संकल्प गर्न उत्प्रेरित गरेका छन्, त्यसलाई गम्भीर भएर चिन्तन गर्ने हो भने त्यहाँ स्वच्छ र स्वतन्त्र जीवनको उद्देश्य र लक्ष्य हासिल गर्न कुनै कठिनाइ हुँदैन । ज्ञान र विवेकले भरिपूर्ण मानवीय स्वभाव त्यहाँ गएर सार्थक हुन्छ जहाँ परिपक्व आध्यात्मिक सचेतना जागृत हुन्छ । आध्यात्मिक परिपक्वता हासिल गर्नु छ भने मानिसले क्षणिक वशिकरणलाई भुल्न सक्नुपर्छ ।

अहंकार र घमण्डले परिपोषित वर्तमानको स्वार्थी प्रवृत्तिलाई त्याग्नु पर्छ । सुनौलो बिहानीको सुन्दरतासँगै झुल्के घामसँगैको रोशनी जसले पहिले अनुभव गर्दछ उसैलाई सूर्यको ताप र शक्तिको पहिचान हुन्छ । यो सत्यलाई कदापि भुल्नु हुँदैन । आध्यात्मिक सत्यको उजागरसँगै जसले सत्य, असत्य, राम्रो, नराम्रोको अनुभूतिसँगै आफूलाई आध्यात्मिक सचेतनाले परिपूर्ण गराउँछ उसले नै जीवनको सच्चाइ बुझेको हुन्छ । यसलाई सबैले स्वीकार्न जरुरी छ । किनकि सत्य सधैँ एउटै धरातलमा रहने सत्यलाई कदापि बिर्सनु हुँदैन । तसर्थ, आध्यात्मिक चिन्तनको कारण विकसित हुँदै आएको भौतिक सत्यलाई ज्ञान, विज्ञानभित्रको आध्यात्मिक आदर्शले हेर्नु, बुझ्नु जरुरी छ ।

आध्यात्मिक सत्यभित्रको ज्ञान, ध्यान, कर्म, विचार र विवेकलाई आध्यात्मको कसौटीमा निखारी मानिसले वर्तमानलाई उपयोग गर्न जान्नु पर्छ । भावनामा बगेर विवेक शून्य हुनु भनेको आफैलाई पतन गराउनु हो । क्षणिक स्वार्थ र लोभले ल्याउने परिणाम भनेको दिग्भ्रमित हुनु हो । तसर्थ, त्यस सत्यलाई बुझी वर्तमान भविष्यको सूत्राधार हो, अहिले नगरे कहिले गर्ने भन्दै सचेतना जगाइ विश्वास र समर्पणको सिद्धान्तलाई अँगाल्दै उज्यालो भविष्यको परिकल्पना गर्नुपर्छ ।

आध्यात्मकबाट नै विज्ञानले धेरै कुरा सिकेको र नयाँ–नयाँ आविष्कार गर्दै आएको कुरा कहिल्यै भुल्नु हुँदैन । आध्यात्मवादले पारेको प्रभावबारे हाम्रा पुर्खाको अनुभवलाई पढ्ने हो भने आध्यात्मिक सत्संगबाट निखारिएको व्यक्तिमा विनम्रता, सरलता र सेवाभाव प्रशस्त लुकेको अवस्था देखिन्छ । जो व्यक्तिमा आध्यात्मिक परिपक्वता रहेको हुन्छ उसले झुक्न जानेको हुन्छ । शिष्टता र अनुशासन तथा नैतिकता उसको जीवनको उद्देश्य रहेको हुन्छ ।

आत्मविश्वासका साथ नम्र भएर अरुको सेवामा समर्पित भावले विश्वास जित्नु भनेको सबैलाई भाइबहिनीको नजरले हेर्नु हो । जहाँ छलकपट, अविश्वास रहँदैन त्यहाँ सत्य आफै खोज्दै आउँछ । सत्य खोज्न मन्दिर, मस्जित, गल्ली खोज्नु पर्दैन । जो व्यक्ति इमानदार, सक्षम र नैतिकतामा आधारित जीवनसँग परिचित हुन्छ ऊ नै महान बन्न सक्छ । त्यसैले अन्तरमनभित्रको सत्यलाई पहिचान गरी धैर्य र सतर्क रहेर सेवाभावमा समर्पित रहने दृढता जगाउनु पर्छ । प्रत्येक कार्य प्रारम्भ गर्नुपूर्व होसियारीपूर्वक मनको पवित्रतालाई बुझेर प्रेमपूर्वक सबैको मन जित्ने संकल्प गर्नुपर्छ ।

हिरातुल्य जीवनको त्यो चमकलाई निरन्तर गतिशीलता दिन कर्म र व्यवहारलाई नैतिकतासँग जोडेर कर्म क्षेत्रमा उत्रिनु पर्छ । अरुलाई सम्मान दिन जान्नु नै आफू सम्मानित हुनु हो । व्यर्थ संकल्प गरी अरुलाई होच्याउने कार्य गर्नु भनेको घिनौना कर्म हो । यसरी घिनौना कर्मतिर प्रविष्ट गराउनु भनेको आफूले आफैलाई पतन गराउनु हो । फलेको हाँगा जसरी झुकेको हुन्छ त्यसरी नै मानवले मानवप्रति देखाउने श्रद्धाभाव र शिष्टतामा नम्रता जगाइराख्नु पर्दछ । एकले अर्कालाई आदर सम्मान दिन जान्नु पर्छ ।

शान्त र सहज गतिशीलता दिइ नदी जसरी एकनाससँग समुद्री सतहमा पुग्न गतिशील भइरहन्छ, वर्षाको उर्लँदो खहरे खोलालाई पनि आफैमा समाहित गर्दै रुखको शीतल छहारीसँगै वृथ्वीलाई सिंचित गर्दै अघि बढेको हुन्छ त्यसरी नै आध्यात्मिक सचेतना जगाइ आफूले आफैलाई नियन्त्रण गरेर व्यर्थ संकल्प र विचारबाट टाढा रहनुपर्छ । जन्म दिने आमाको भरोसालाई जन्मजन्मान्तर भरोसा र विश्वासको कडीमा जसरी राखिएको हुन्छ, बाबुको विश्वास र पसिनालाई जसरी मूल्यांकन गरिएको हुन्छ र उनै अभिभावकको संकल्पबाट आफूलाई अगाडि बढाइएको हुन्छ, त्यसरी नै आध्यात्मिक सत्य हाम्रो जीवनको अभिन्न अंग हो ।

आध्यात्मबाट नै भौतिकवादी चिन्तन अघि बढ्न सक्छ भन्ने दृढनिश्चय गरी जीवनलाई कर्मयोगी बनाउन सक्नुपर्छ । झुठ, असत्य बोलेर वा अरुलाई नीच देखाइ आफूलाई सर्वोपरी ठान्ने प्रवृत्ति भनेको आफ्नो अस्तित्व आफैले समाप्त पार्नु हो । यस कुरालाई मनन गरी म उसको लागि र ऊ मेरो लागि यो भूस्वर्गमा जन्म लिएको हो भन्ने आदतार्थ सम्मान र सम्बोधन गरेर प्रत्येकले आफूलाई समर्पण गर्नुपरेको छ । स्वार्थले विचार र कर्ममा ल्याउने गलत चिन्तन हटाइ, बाँच र बाँच्न देऊ, गर र गर्न देऊ भन्दै सच्चा र इमानदार प्रवृत्तिको विकास गर्नु परेको छ । यो नै जीवनको उद्देश्य हो । चेतना भया ।