दाङमा बढ्यो चुनावी सरगर्मी

  •   
  •  

इन्द्र डिसी
दाङ, २२ भदौ । जिल्लामा मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी सरगर्मी सुरु भएको छ । राजनीतिक दलले निर्वाचनमा दुवै सभामा उम्मेदवार छनोट प्रक्रियासँगै चुनाव लक्षित योजना सञ्चालन गरेका छन् । उम्मेदवारमा हेभिवेट नेतादेखि जिल्ला कमिटीसम्मका छन् ।

३ प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा कांग्रेस र नेकपा एमाले, नेकपा एकीकृत समाजवादीलगायतले उम्मेदवार सिफारिस गरेका छन् भने नेकपा माओवादी केन्द्र उम्मेदवारको प्रारम्भिक सुची तयार पार्दैछ । नेपाली कांग्रेसले दुवै सभामा आकांक्षीको नाम प्रदेश समितिमा सिफारिस गरिसकेको छ । नेकपा एमालेले पनि आकांक्षी उम्मेदवारको सूची प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनमा एमालेले पार्टी उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव शंकर पोख्रेल चुनावी मैदानमा उतार्नको लागि सिफारिस गरेको छ । कांग्रेसले केन्द्रीय सदस्यहरु दीपक गिरी, कृष्णकिशोर घिमिरे, योगेन्द्र चौधरीलाई प्रतिनिधिसभाको प्रत्यक्षमा सिफारिस गरेको छ । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षको लागि ५२ जनाको नाम सिफारिस गरेको छ ।

एमालेले पार्टीका उपाध्यक्ष, महासचिवसँगै पोलिटव्यूरो सदस्य शान्ता चौधरी, केन्द्रीयसदस्यहरु घनश्याम पाण्डे, कोमल वली, गंगा चौधरी र लेखा आयोगका सदस्य रेवतीरमण शर्मालाई प्रत्यक्षको लागि सिफारिस गरेको छ । एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको लागि जिल्लाबाट २५ जनाको नाम प्रदेश कमिटिमा सिफारिस गरेको छ ।

एमालेले तीन प्रतिनिधिसभा सदस्यका लागि ७ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नं. २ मा मात्र पार्टी महासचिव शंकर पोख्रेलको नाम मात्र प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ । एमालेले क्षेत्र नं. १ र २ मा भने ३÷३ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नं. १ बाट पोलिटव्यूरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्य गंगा चौधरी र लेखा आयोग सदस्य सदस्य रेवतीरमण शर्माको नाम एमालेले सिफारिस गरेको छ ।

क्षेत्र नं. ३ बाट एमाले उपाध्यक्ष ज्ञवालीसहित केन्द्रीय सदस्यहरु घनश्याम पाण्डे र कोमल वलीको नाम सिफारिस गरेको एमाले दाङले जनाएको छ । ६ जना प्रदेशसभा सदस्यका लागि १८ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नं. १ (क) बाट प्रदेश कमिटी सदस्य गंगाराम भट्टराई, मोहनप्रसाद पाण्डेसँगै खिमबहादुर केसीको नाम सिफारिस भएको छ । क्षेत्र नं. १ (ख) बाट केन्द्रीय अनुशासन आयोग सदस्य सरस्वती गौतम, प्रदेश कमिटी सदस्य कुलबहादुर केसी र जिल्ला कमिटी सदस्य रतन केसीको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. २ (क) बाट भने प्रदेश कमिटी सदस्य बलिभद्र रानाको नाम मात्र उम्मेदवारका लागि सिफासिर भएको छ । २ (ख) बाट प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, प्रदेश कमिटी सदस्य गिरिराज केसी र तुलसा केसीको नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नं. ३ (क) बाट जिल्ला कमिटी उपसचिव कृष्णप्रसाद भुसाल, प्रदेश कमिटी सदस्य विनोद शर्मा, जिल्ला सदस्य नवराज लामिछाने र तुलसा पोख्रेलको नाम सिफारिस भएको छ । ३ (ख) बाट एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, जिल्ला सदस्य मेघराज भुसाल र प्रदेश कमिटी सदस्य धमकली चौधरीको नाम सिफारिस भएको छ ।

नेकपा माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरालाई चुनावी मैदानमा उतार्ने तयारी गरेको छ । सम्भवतः उपाध्यक्ष महरा दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको चुनाव लड्नेछन् । त्यसैगरेर नेकपा एकीकृत समाजवादी दाङले संघ र प्रदेश उम्मेदवारहरुको टुंगो लगाएको छ । समाजवादीले तीनवटै निर्वाचन क्षेत्रबाट संघीय र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको नाम छनोट गरी सिफारिस गरेको हो ।

दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको निर्वाचनको लागि स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय परिषद् सदस्य प्रेम बक्स मियाँ र तारा देवकोटालाई सिफारिस गरेको छ । दाङ क्षेत्र नं. ३ प्रदेश (क) बाट जोगबहादुर राना, डिल्ली डाँगी र अनारकली मियाँ, त्यसैगरी दाङ क्षेत्र नं. ३ प्रदेश (ख) बाट दाङ जिल्ला उपाध्यक्ष चूर्णबहादुर वली, केन्द्रीय सदस्य शारदा स्वर्णकार र केन्द्रीय परिषद् सदस्य लिलाधर डाँगीको नाम सिफारिस गरिएको छ ।

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको निर्वाचनको लागी पार्टीका केन्द्रीय सचिव भागवत विश्वासी, चित्रा मल्ल र गोविन्द शेर्पाइलीको नाम सिफारिस गरिएको छ । क्षेत्र नं. २ प्रदेश (क) बाट जिल्ला पार्टी अध्यक्ष सुरामणि बेल्बासे, ससमति चौधरी र रामप्रसाद चौधरी त्यसैगरी दाङ क्षेत्र नं. २ प्रदेश (ख) बाट शोभा शाह, देउमन दमाई र गजेन्द्र खड्काको नाम सिफारिस गरिएको छ । दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको निर्वाचनको लागी शहरी विकास मन्त्री मेटमणि चौधरी, तिलक केसी र मिना गुरुङको नाम सिफारिस गरिएको छ ।

दाङ क्षेत्र नं. १ प्रदेश (क) बाट रामप्रसाद गैरे, मुकुन्द रोकाय त्यसैगरी दाङ क्षेत्र नं. १ प्रदेश (ख) बाट थानेश्वर गैरे, शिल्पा चौधरी र बीरबहादुर केसीलाई सिफारिस गरेको पार्टी उपाध्यक्ष चूर्णबहादुर वलीले बताए । उम्मेदवार सिफारिस गरेका दलहरुले निर्वाचन लक्षित कार्यक्रम जिल्लामा गर्दै आएका छन् । फरक दलका कार्यकर्ता पार्टी प्रवेश गराउनेदेखि भेला, प्रशिक्षणलगायतका कार्यक्रमलाई तीव्रता दिएका छन् ।

एमालेले पहिलो चरणको वडा भेलादेखि चुनावकेन्द्रित जिल्ला बैठक सम्पन्न गरेको छ । एमाले दाङले केही दिनमा नै जन वर्गीय संगठनको बैठक समेत बोलाएको छ । ‘चुनाव लक्षित योजना बनाएर काम शुरु गरेका छौँ’, एमाले दाङका सचिव मनोहर बुढाथोकीले भने– ‘चुनावमा पार्टीको जित सुनिश्चित गर्ने गरेर योजना बनाएर काम थालेका छौँ ।’ उनका अनुसार जिल्लाका १ सय वडामा भेला, १० पालिकामा भेला तथा बैठक र थप योजनाको लागि असोज ७ गते पार्टीको जिल्ला बैठक बस्ने भएको छ ।

नेपाली कांग्रेसले चुनाव लक्षित जनताको साथमा कांग्रेस अभियान जिल्लामा सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत वडास्तरीय प्रशिक्षण तथा भेला भइराखेको कांग्रेस दाङले जनाएको छ । कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीका अनुसार जिल्लाका वडा र पालिकामा जनताको साथमा कांग्रेस अभियान सञ्चालन भइराखेको छ । अभियानअन्तर्गत महिला, दलित, कृषक, शिक्षक, जेष्ठ नागरिकलगायतसँग छलफल र उनीहरुको सुझाव लिने काम भएको सचिव योगीले बताए ।

‘मुख्य अभियान नै यही छ । यो अभियान टोल समितिसम्म छ’, उनले भने– ‘अभियानले पार्टीको पक्षमा जनमत सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।’ त्यसैगरेर नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य पार्टीले पनि चुनाव लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छन् ।