तुलसीपुर, २२ भदौ । तुलसीपुरमा सबै वडामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरिने भएको छ । घोराहीमा केही दिन अघिदेखि नै वडाबाट परिचयपत्र बनाउने काम भइराखेको छ । यो सँगै राष्ट्रिय परिचयपत्रका लागि अब इलाका प्रशासन र जिल्ला प्रशासन कार्यालय धाइरहनुपर्ने छैन् ।
भदौ २२ गतेदेखि तुलसीपुरको वडा नं. ५ बाट विवरण संकलनका लागि अभियान सुरु हुन लागेको हो । जिल्ला प्रशासन कार्यालय दाङले मंगलवार तुलसीपुरमा राष्ट्रिय परिचयपत्र अभिमुखीकरण कार्यक्रमको आयोजना गरी अभियान सुरु हुन लागेको जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले नागरिकको सहजताका लागि वडास्तरबाटै सुरु हुन लागेको यो अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दाङका पञ्जीकरण शाखाका प्राबिधिक बिपिन आचार्यले नागरिकहरुले वडा तहबाट सहज र शुलभ तरिकाले सेवा दिने मुख्य उद्देश्यले तुलसीपुरबाट पनि राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सुरु गर्न लागेको बताए ।
उनका अनुसार जिल्लाको घोराहीमा भदौ १२ गतेदेखि वडास्तरबाट यो अभियान सुरु भैसकेको छ भने अन्य पालिकामा पनि छिट्टै यो अभियान सुरु हुनेछ । कम्तीमा ३ देखि ४ महिनाभित्र दाङका सम्पूर्ण १६ बर्षदेखिमाथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने गरी काम भइरहेको उनले बताए । एक वडामा जनसंख्या र भूगोललाई हेरेर कम्तीमा २ देखि ४ दिनसम्म विवरण संकलनका लागि कर्मचारी खटाइने र यसरी विवरण संकलनको काम गर्दा जिल्लाका एक सय वडाहरुमा करिब ३ देखि ४ महिनाभित्र सबै नागरिकको विवरण संकलन गरिसक्ने उनले बताए ।
विवरण संकलनका लागि कर्मचारी वडा कार्यालयमै खटाइने छ भने अभियानका क्रममा सम्बन्धित वडाको नागरिकको मात्रै अभियानका क्रममा विवरण संकलन गरिने छ । उनले राष्ट्रिय परिचयपत्रका लागि नागरिकता अनिवार्य हुनुपर्ने बताए । परिचयपत्रमा ब्यक्तिको परिचय खुल्ने सूचना, बायोमेट्रिक सूचना, पृथक नम्बर, सुरक्षित चिन्हहरु, चिप हुने गर्दछ ।
आधारभूत परिचय, डिजिटल पहिचान कार्डबाट र कार्ड बाहेक पनि प्रयोग गर्न मिल्ने परिचयपत्रको बिशेषता हो । त्यस्तै परिचयपत्र बनाइसकेपछि नागरिकको सही पहिचान, सहज तथा सुलभ सेवा पाउने, सामाजिक सुरक्षा भत्ता तथा राहत सुबिधा लिन सहज, राजस्वमा वृद्धि, अपराध नियन्त्रण सजिलो, गोपनीयतालगाएतका फाइदा लिन सकिने उनको भनाइ छ ।
त्यस अवसरमा उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसे, चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीलगायतले वडास्तरबाटै सुरु हुन लागेको राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
जिल्ला प्रसासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले गरेका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाभित्रका १९ वटा वडाका सचिव, वडाध्यक्ष, कार्यपालिका सदस्य, न्यायिक समिति, सरोकारवाला, पत्रकारलगायतको सहभागिताको थियो ।