तुलसीपुर, १९ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहितले कांग्रेसलाई यो निर्वाचनमा मत दिँदा खेर जाँदैन भनेर जनतालाई बुझाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसले सुरु गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ले तुलसीपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य दहितले त्यसका लागि जनताको मन जित्ने गरी गाउँ–गाउँ, टोल–टोलमा नेता कार्यकर्ताहरुलाई जान निर्देशन गरे ।
उनले कांग्रेसको उद्देश्य भनेको जनताको समस्या के छ ? कांग्रेसले हिजो के ग¥यो ? अबको एजेण्डा के हो ? भन्ने विषयमा पनि कार्यकर्ता र जनतालाई बुझाउन यो कार्यक्रम आयोजना गरेको बताए । ‘कांग्रेसले लोकतन्त्र, समाजवाद र विकासका लागि गरेका योगदानहरु जनतालाई बुझाउनुहोस्, कार्यक्रमको यो उद्देश्य पनि यही हो’, उनले भने । दहितले अहिलेको राष्ट्रिय परिस्थितिमा कांग्रेसलाई मत किन दिने र कांग्रेसलाई मत दिँदा के हुन्छ त्यसबारेमा पनि जनतालाई बुझाउन आग्रह गरे ।
‘यो पटक कांग्रेसलाई मत दिँदा देशव्यापी मत खेर जान्न भनेर जनतालाई बुझाउनुहोस्’, उनले भने । दहितले कांग्रेस एक भएर जाने हो भन्ने कांग्रेस आफैमा सक्षम रहेको भन्दै राष्ट्रिय परिस्थितिलाई मध्यनगर गरेर केन्द्रले निर्णय गरेको बताए । उनले कांग्रेसले नै यो देशमा विकास र निकास दिने प्रष्ट जनताले बुझेको भन्दै प्राप्त उपलब्धिहरु गुम्न नदिन र राजनीतिक सदुपयोगका लागि गठबन्धन गर्नुपर्ने आवश्यक रहेको समेत बताए ।
‘मुलुक चलाउनका लागि बहुमत आवश्यक छ’, प्राप्त उपलब्धि गुम्न नदिन पनि यो भएको हो’, उनले भने । उनले जिल्लामा निर्वाचनमा जाँदा विगतमा कांग्रेसले दाङमा गरेका विकास निर्माणका योजनाहरू सूचिसँगै अगामी योजना लगेर जनताका माझमा जान आग्रह गरे । ‘जसले टिकट पा एपनि कांग्रेसले पाउने हो त्यसैले कांग्रेसलाई विजय गराउन सबै एक भएर लाग्नुहोस्’, उनले भने । नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीले चुनावमा मतदातामात्र बढी भएर चुनाव जित्न नसकिने भन्दै सबै कुराहरुलाई मध्यनजर गरेर अगाडि बढ्नुपर्ने बताएका थिए ।
उनले जनतासँग कांग्रेसलाई जोड्दै आउने मंसिर ४ गतेको निर्वाचनमा पार्टी र उम्मेदवारलाई सफल बनाउने अभियानमा लाग्न जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । ‘कांग्रेस हुँ भन्ने, चोकमा बसेर पार्टीकै विरोध गर्ने प्रवृत्तिलाई त्याग्नुपर्छ’, उनले भने । उनले आफू भए सबै ठीक आफू नभए सबै बेठीक भन्ने मानसिकता सबैले त्याग्नुपर्ने बताएका थिए । ‘पार्टीलाई संगठित र मजबुत बनाउँदै आफू रहेको वडामा सबै तहका नेता कार्यकर्ताहरू जुटौँ’, उनले भने । उनले १४औं महाधिवेशनका केही तीता–मीठा कुराहरुलाई भुलेर अब अगाडि बढ्नुपर्ने बताए ।
क्षेत्रीय सभापति जगतबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारी, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य शंकर गिरी, नेपाली कांग्रेस दाङमा निवर्तमान सभापति कीर्तिबहादुर खड्का, कांग्रेस नेता महादेव शाह, केशव आचार्य, नेता जोगेन्द्र विश्वकर्मा, भरत केसी, विजुल विश्वकर्मालगायतले आगामी निर्वाचनमा कांग्रेसको पक्षमा जनधार श्रृजना गरी कांग्रेसका आधिकारिक उम्मेदवारलाई विजय गराउन सबै लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा यमप्रसाद पाण्डे, प्रदेश ३ ख का सभापति खिमबहादुर वली, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, केवलापति चौधरी, सुष्मा चन्दलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सचिव शोभाखर सापकोटा र पूर्णबहादुर डाँगीले गरेका थिए ।