दंगीशरणमा निःशुल्क आँखाको अप्रेशन

दाङ, १९ भदौ । दंगीशरण गाउँपालिकाले आँखाका बिरामीहरूलाई निःशुल्क अप्रेशन गरिदिने भएको छ । अन्धोपन न्यूनीकरण कार्यक्रमअन्तर्गत नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल र गाउँपालिकाबीच निःशुल्क मोतियाबिन्दुको अप्रेशनका लागि साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

उज्यालो अभियानअन्तर्गत निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रमका लागि गाउँपालिका र अस्पतालबीच सम्झौता भएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा १ सय जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने सम्झौता भएको अस्पतालका सूचना अधिकृत बालाराम खड्काले बताए ।

गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर वली र राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेलबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले गाउँपालिकाभित्र कुनै पनि ज्येष्ठ नागरिकहरू अब पैसाको अभावले आँखा नदेख्ने समस्याबाट बञ्चित हुन नपर्ने बताए । उनले आँखाको अप्रेशन गर्नुपर्ने बिरामीहरूलाई गाउँमै शिविर आयोजना गरी चेकजाँच गरी निःशुल्क अप्रेशन हुने बताए ।

‘कोही आँखाका बिरामीहरू आर्थिक अभावले घरमा नै उपचार नपाएर बस्नुभएको छ भने गाउँपालिकाले निःशुल्क अप्रेशन गर्नेछ,’ उनले भने । अन्धोपन न्यूनीकरण गर्नको लागि गाउँपालिकामा रहेका नागरिकलाई उज्यालो प्रदान गर्न उज्यालो आँखा कार्यक्रम नाम दिएर कार्यक्रम लागू गरिएको उनको भनाइ छ ।

निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रमअन्तर्गत गाउँपालिका र अस्पतालले साझेदारी गरी गाउँपालिकाभित्रका आँखाका बिरामीहरूको उपचार तथा अप्रेशन निःशुल्क हुनेछ । गाउँपालिकाको सिफारिस लिएर आएमा मोतियाबिन्दुका बिरामीहरूले अप्रेशन गर्न पाउने अस्पतालले जनाएको छ ।