घोराही डेंगुको जोखिममा

दाङ, २० भदौ । जिल्लामा डेंगु रोगको जोखिम उच्च तहमा बढ्दै गएको छ । डेंगुका बिरामीहरु समुदायस्तरसम्म पुगेका छन् । जोखिम बढेसँगै नागरिकहरुलाई सचेत रहनसमेत स्थानीय तह तथा स्वास्थ्य कार्यालयले आग्रह गर्दै आएका छन् । डेंगु रोग नियन्त्रणका लागि स्थानीय तहहरुले प्रभावकारी काम गरेको भने देखिएको छैन ।

घोराही उपपहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाले डेंगु रोगको महामारी नियन्त्रणका लागि घोराहीमा जनप्रतिनिधि, स्वास्थ संस्था प्रमुख तथा सरोकारवालाहरुका लागि पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ । स्वास्थ्य कार्यालय दाङका ल्याब टेक्निसियन अधिकृत देवीलाल डाँगीले घोराहीमा मात्र डेंगुका बिरामीहरु १ सय ४८ जना रहेको बताए । भदौ १६ गतेसम्म यो संख्यामा बिरामी रहेको उनको भनाइ छ ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५८ जना, नेशनल प्याथोलोजी ११ जना, मितेरी अस्पतालमा ३ जना, गोरखा अस्पतालमा १३ जना, बुद्ध अस्पतालमा ४३ जना र दीपज्योति अस्पतालमा २० जना गरेर १ सय ४८ जनामा डेंगु देखिएको उनले बताए । रोगबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्न सक्नुपर्ने उनले बताए । रोकथामका लागि पानी जम्न सक्ने भाँडा गमला, फुलदानी, खाली वट्टा, अलकत्रा वा मट्टितेल राखेका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने, पानीका टयाङ्कीलाई लामखुटे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हाल्नुका साथै जम्मा भएको पानी सफा गर्नुपर्ने उनले बताए ।

त्यसैगरेर फुलदानीमा रहेको पानी कम्तीमा हप्ताको दुई पटक फेर्नुपर्ने, एडिस एजिप्टाइ जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउने, दिउँसो सुत्दा पनि झुल लगाएर सुत्ने, केटाकेटीहरुलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउने, लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने मलहम लगाउने, घर वरिपरि सरसफाई राख्ने, पानी जम्मा हुने खाल्डाखुल्डी पुर्नुपर्ने उनले बताए ।

घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख नारायण घर्तीले डेंगु जनसंख्या बढी रहेको बस्तीहरुमा बढी पाइएको बताए । घोराही बजार क्षेत्रमा बढी रोग देखिएको उनले बताए ।
गाडीको टायर तथा कवार्ड रहेको स्थानमा बढी बिरामी भएको उनले बताए । उपमहानगरपालिकाले डेंगु रोगबाट नागरिकहरुलाई बचाउनका लागि काम सुरु गरिरहेको बताए । पालिकास्तर तथा वडास्तरमा समेत समिति गठन गरेर थप योजनासहित अगाडि बढिने प्रमुख घर्तीले बताए ।

‘नागरिकहरुलाई सचेत बनाउने काम भैराखेको छ’, उनले भने । विद्यालय विद्यार्थीहरुमार्फत, सञ्चारमाध्यमहरुबाट तथा पर्चा बनाएर नागरिकलाई सचेत गराइने उनी बताउँछन् । केही दिनमा नै जोमिख क्षेत्रहरुको अनुगमन समेत गरिने उनको भनाइ छ । नागरिकहरु आफै आ–आफ्नो घर वरिपरि सरसफाई राख्नुपर्ने उनले बताए । सरसफाई भएमा यसको जोखिम पनि कम हुने उनी बताउँछन् । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले सरसफाई कम भएको स्थानमा डेंगुको संक्रमण बढ्दै गएको बताइन् ।

त्यसका लागि सरसफाईमा ध्यान दिनुपर्ने समेत उनको भनाइ छ । सबै मिलेर नागरिकलाई सचेत बनाएर यसलाई नियन्त्रण गर्न लाग्नुपर्ने उनको सुझाव छ । कार्यक्रम घोराही उपमहानगरपालिकाअन्र्तगतको सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, स्वास्थ्य शाखा, सरसफाइ शाखा प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, अटो व्यवसायी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य प्रवद्र्धन शाखाका ठाकुर खनालले गरेका थिए ।