अमरराज आचार्य
दाङ, १७ भदौ । आस्थाको राजनीतिका धरोहर व्यक्तित्व तथा नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको श्रद्धाञ्जलीसभा विहीवार सम्पन्न भएको छ । नेपाली कांग्रेसको आयोजनामा भएको श्रद्धाञ्जलीसभामा स्व. गिरीले नेपाली राजनीतिक इतिहासमा खेलेको भूमिकाको प्रशंसा गरे ।
नेपाली कांग्रेसका नेता स्व. गिरीको १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्देशनअनुसार दाङमा पनि श्रद्धाञ्जली सभा गरिएको हो । नेपाली कांग्रेस दाङको आयोजनामा सभा भएको हो । सभामा बोल्ने बक्ताहरुले स्व. गिरीको निधनले नेपाली कांग्रेसलाई मात्र नभई देशलाई नै ठूलो क्षति पुगेको बताएका थिए । गिरी सादा जीवन उच्च विचार राख्ने व्यक्ति रहेको उनीहरुको भनाइ रहेको थियो । पार्टीले गिरीलाई चिन्न नसकेको सहभागीले बताएका थिए ।
गिरीले देखाएको बाटोमा अगाडि बढ्न सकेमा पार्टीलाई बलियो बनाउन सकिने समेत सहभागीहरुको भनाइ रहेको थियो । शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नसमेत लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेले व्यक्तिभन्दा पनि पार्टीलाई ध्यान दिएर अगाडि बढ्नुपर्ने बताए । ‘व्यक्तिको हितभन्दा पनि पार्टीको हितमा काम गरौँ’, उनले भने ।
पार्टीको हितमा काम गरेमा सबैलाई फाइदा पुग्ने उनको भनाइ रहेको थियो । नेता, कार्यकर्ताहरु अध्ययनशील तथा अरुको कुरा सुन्न सक्नुपर्ने बताए । नेपाली काग्रेसका महासमिति सदस्य तथा लुम्बिनी प्रदेश सरकारका उर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले प्रदीप गिरीलाई चिन्न नसकेको बताए । उनलाई समयमा चिन्न सकेको भए देशमा अहिलेको अवस्थामा नआउने उनको भनाइ रहेको थियो ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति बीरकेशरी गौतमले स्व. नेता गिरी सरल तथा स्पष्ट व्यक्तित्व रहेको बताए । हरेक क्षेत्रका बारेमा राम्रो ज्ञान भएको उनको भनाइ रहेको थियो । उनीबाट पार्टी तथा नेता कार्यकर्ताले लाभ लिन नसकेको उनी बताउँछन् ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व सभापति मोहलाल वली, महासमिति सदस्यहरु भूपबहादुर डाँगी, गोमा रावत, विमला योगी, पृथ्वी चौधरी, नेपाली कांग्रेस दाङका सचिब बालिका लम्साल, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधिहरु किरणकिशोर घिमिरे, गोपालराज शर्मा, बद्रीकुमार खड्का, नेपाली कांग्रेस दाङका जिल्ला सदस्य किरण रेग्मी, नेपाली कांग्रेस क्षेत्र नं. २ क का सभापति प्रकाश श्रेष्ठ, नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाका उपसभापति दुर्लभ केसी, घोराही उपमहानगरपालिका वडा नं. ५ का सभापति विष्णुमणि दाहाल, वडा नं. १६ का वडाअध्यक्ष तारा डिसीलगायतले भनाइ राखेका थिए ।
कार्यक्रम नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले गरेका थिए ।