उम्मेद्वार सिफारिस गर्दै मुख्य दलहरु

इन्द्र डि.सी.
दाङ, १७ भदौ । जिल्लाका मुख्य दलहरुले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस थालेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिस प्रक्रिया थालेका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसले भदौ २२ भित्र उम्मेदवारहरु सिफारिस गर्नुपर्ने केन्द्रीय सर्कुलर छ । त्यो अनुसार जिल्लामा उम्मेदवार सिफारिस गर्ने काम शुरु गरेको नेताहरुले जनाएका छन् ।

माओवादी केन्द्रले भने समानुपातिकको लागि भदौ २० मा सिफारिस गर्ने र केन्द्रमा भागवण्डा टुंगो भएपछि प्रत्यक्षको लागि सिफारिस गर्ने जनाएको छ । जिल्लामा प्रत्यक्षमा प्रतिनिधिसभाका ३ निर्वाचन क्षेत्र र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र छन् । २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा ३ वटै निर्वाचन क्षेत्रमा वामगठबन्धनका उमेदवार विजयी भएका थिए भने प्रदेशका ६ मध्ये ५ वटामा वामगठबन्धन र एउटामा नेपाली कांग्रेसका उम्मेदवारले जितेका थिए ।

एमालेले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । त्यो अनुसार तयारी भएको एमाले दाङका सचिव मनोहर बुढाथोकीले बताए । उनका अनुसार भदौ १८ मा प्रदेशसभा क्षेत्र समन्वय कमिटीको बैठक र भदौ १९ मा प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटिकौ बैठक बस्ने छ । त्यो बैठकबाट आएका उमेदवारका नामलाई रायसहित जिल्ला कमिटिले पार्टीको प्रदेश कमिटीमा सिफारिस गर्ने छ ।

एमालेको भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकले उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुनबमोजिमको योग्यतालगायतका आधार निर्धारण गरिएको छ । निर्वाचन क्षेत्र कमिटीबाट गरिने सिफारिसमा जिल्ला र प्रदेश कमिटीले रायसहित केन्द्रमा सिफारिस गर्नुपर्नेछ । समानुपातिकतर्फ सिफारिस गर्दा समावेशिताका आधारमा गर्नुपर्नेछ ।

उम्मेदवार टुंगो भने पार्टी केन्द्रले नै लगाउने छ । एमाले दाङले शुक्रवार उम्मेदवार सिफारिसको मापदण्डको बारेमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु, आयोगका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, सदस्य र जिल्लाका पदाधिकारीविच छलफल गर्ने भएको छ । ‘आज संयुक्त छलफल गरिने शनिवार र आइतवार सम्बन्धित कमिटीले उम्मेदवार सिफारिस गरेर जिल्लामा पठाउने छन्’, जिल्ला सचिव बुढाथोकीले भने– ‘आएका नाममा रायसहित प्रदेश कमिटीमा पठाउने काम हुनेछ ।’

नेपाली कांग्रेसले पनि उम्मेदवारको लागि सिफारिसको काम सुरु गरेको छ । उम्मेदवारबाट इच्छुकहरूबाट आवेदन लिन थालेको छ । पार्टीका तल्ला निकायबाट प्राप्त उम्मेदवार सिफारिस भई आएका प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका नामावली जिल्लाले प्रदेशलाई र प्रदेशले केन्द्रमा रायसहित पठाउने विधानले व्यवस्था गरेको छ । नेपाली कांग्रेस दाङले पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाममा छलफल थालेको छ । कांग्रेस क्षेत्र नं. १ ले भने प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे , केन्द्रीय सदस्य योगेन्द्र चौधरी, प्रदीप थापा, महाधिवेशन प्रतिनिधि अनुराग खड्काको नाम जिल्लामा सिफारिस गरेको छ । त्यसैगरेर समानुपातिकतर्फ सुशीला चौधरी, आत्माराम भट्टराई, खड्कबहादुर सुनार, दोर्ण भुसाल, गोबिन्द रेग्मी, रामप्रसाद चौधरी, जमिर शाहलाई जिल्लालाई सिफारिस गरेको हो ।

नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले प्रदेशसभा तथा प्रतिनिधिसभा तर्फका उम्मेदवारका आकांक्षीहरुको विषयमा छलफल र केन्द्रीय निर्देशनअनुसार प्रक्रिया अगाडि बढाएको बताए । ‘पहिलो चरणको नाम संकलनको प्रक्रिया अगाडि बढेको छ तर आकांक्षीहरुको नाम भने अझै टुंगिएको छैन्’ उनले भने– ‘केही दिनमा जिल्लाको रायसहित प्रदेश कार्यसमितिमा पठाउने काम हुन्छ ।’ उम्मेदवार सिफारिसको लागि दैनिक बैठक र छलफल भैराखेको दाङ कांग्रेसले जनाएको छ । कांग्रेस विधानअनुसार कुनै तहको उम्मेदवारको टुंगो उम्मेदवारी दर्ता गर्नुभन्दा एक महिना पहिले नै तय गरिसक्नुपछ ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता असोज २३ मा तोकेको छ । कांग्रेसले विधानअनुसार पनि उम्मेदवारको टुंगो भदौ २२ भित्रै गरिसक्नुपछ । त्यो समय आधार मानेर महामन्त्री गगन थापाले गत भदौ ९ मा मातहत निकायलाई निर्देशन दिँदै क्षेत्रीय कार्यसमिति बैठकहरू गरी उम्मेदवार सिफारिस गरिसक्न भनेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले एक–दुई दिनमा उम्मेदवार सिफारिस गर्ने तयारी गरेको कांग्रेसले जनाएको छ ।

उम्मेदवार हुन आवेदन दिएका कांग्रेसका नेता÷कार्यकर्ताको पहिलो खुड्किलो नै क्षेत्रीय कार्यसमिति हो । क्षेत्रीय कार्यसमितिले नै नाम सिफारिस गरिदिएन भने उम्मेदवार हुने सम्भावना कम हुन्छ । उम्मेदवार हुन आवेदन आएका नाम क्षेत्रीय कार्यसमितिले सिफारिस गरी जिल्लालाई पठाउनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभातर्फ बढीमा तीन जना र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न सक्ने अधिकार क्षेत्रीय कार्यसमितिमा छ । प्रदेश अधिवेशनका प्रतिनिधि, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिबीच संयुक्त बैठक गरेर उम्मेदवार सिफारिस गर्ने व्यवस्था छ ।

क्षेत्रीय कार्यसमितिले उम्मेदवार सिफारिस गरी नाम जिल्ला कार्यसमितिमा पठाउनुपर्छ । जिल्लाले नाम काँटछाँट त गर्ने कल्पना विधानले गरेको छैन तर सिफारिस भएका उम्मेदवारबारे राय भने दिन सक्ने व्यवस्था छ । विधानलाई टेकेर जिल्लाबाट नाम प्रदेश कार्यसमितिमा पठाउने कांग्रेस दाङले जनाएको छ । जिल्लाबाट प्राप्त नाम प्रदेश कार्यसमितिमा छलफल र उम्मेदवारबारे राय लेखेर केन्द्रमा दिन सक्ने र केन्द्रीय संसदीय बोर्डले उमेदवारको टुंगो लगाउने व्यवस्था छ ।

माओवादीले तत्काल समानुपातिकमा मात्र सिफारिस गर्ने

नेकपा माओवादी केन्द्र दाङले केन्द्रमा गठबन्धनको सिट बाँडफाँडको निर्णय नभएसम्म जिल्लाबाट प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस नगर्ने भएको छ । समानुपातिकको लागि भने भदौ २० गते बैठक बसेर नाम सिफारिस गर्ने माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यले बताए ।‘ प्रत्यक्षको लागि केन्द्रमा सहमति नभएसम्म सिफारिस गर्दैनौं’, इन्चार्ज आचार्यले भने– ‘समानुपातिकको लागि भने भदौ २० मा बैठक बसेर सिफारिस गर्दैछौँ ।’ त्यसैगरेर अन्य साना दलले पनि उम्मेदवार सिफारिसको तयारी गरेको जनाएका छन् ।