मंसिर ४ को चुनाव
बालाराम खड्का
तुलसीपुर, १६ भदौ । नेपाली कांग्रेसले आगामी चुनावका लागि उम्मेदवार बन्न इच्छुकहरूबाट आवेदन लिन थालेको छ । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ । सोही चुनावमा कसलाई उम्मेदवार बनाउने भनेर कांग्रेसले पार्टीका नेता तथा कार्यकर्ताहरूबाट आवेदन लिइरहेको हो ।
कांग्रेस विधानअनुसार कुनै तहको उम्मेदवारको टुङ्गो उम्मेदवारी दर्ता गर्नुभन्दा एक महिना पहिले नै तय गरिसक्नुपर्छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता असोज २३ मा गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ । कांग्रेसले विधानअनुसार पनि उम्मेदवारको टुङ्गो भदौ २२ भित्रै गरिसक्नुपर्छ । यही समय आधार मानेर महामन्त्री गगन थापाले गत भदौ ९ मा मातहत निकायलाई निर्देशन दिँदै क्षेत्रीय कार्यसमिति बैठकहरू गरी उम्मेदवार सिफारिस गरिसक्न भनेका छन् । जसअनुसार प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले इच्छुकहरूबाट आवेदन संकलन गर्ने काम गरिसकेको छ ।
अब ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमिति र १६५ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति बैठकबाट उम्मेदवार सिफारिस गर्नुपर्ने विधानकै व्यवस्था छ । अधिकांश प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले एक–दुई दिनमा उम्मेदवार सिफारिस गर्न बैठक गर्दैछन् । उम्मेदवार हुन आवेदन दिएका कांग्रेसका नेता÷कार्यकर्ताको पहिलो खुड्किलो नै क्षेत्रीय कार्यसमिति हो । क्षेत्रीय कार्यसमितिले नै नाम सिफारिस गरिदिएन भने उम्मेदवार हुने सम्भावना कम हुन्छ । विधान मिचेर केन्द्रीय संसदीय बोर्डले टिकट दिन गाह्रो हुन्छ ।
उम्मेदवार हुन आवेदन आएका नाम क्षेत्रीय कार्यसमितिले सिफारिस गरी जिल्लालाई पठाउनुपर्ने हुन्छ । इच्छुकहरूबाट आवेदन लिइसकेपछि प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका बैठक गरी विधानले तोकेको संख्याअनुसार मात्रै उम्मेदवार सिफारिस गर्ने व्यवस्था छ । प्रतिनिधि सभातर्फ बढीमा तीन जना र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्नसक्ने अधिकार क्षेत्रीय कार्यसमितिमा छ ।
प्रदेश अधिवेशनका प्रतिनिधि, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिबीच संयुक्त बैठक गरेर उम्मेदवार सिफारिस गर्ने व्यवस्था छ । क–कसलाई उम्मेदवार सिफारिस गर्ने भन्नेमा विवाद भए बहुमतका आधारमा उम्मेदवार सिफारिस गर्न सकिन्छ । उम्मेदवार हुन इच्छुकलाई दोस्रो खुड्किलो क्षेत्रीय कार्यसमिति बैठकको निर्णय हो । क्षेत्रीय कार्य समितिले उम्मेदवारको नाम नै काटछाँट गरिदियो भने उम्मेदवार हुने बाटो लगभग बन्द हुन्छ ।
क्षेत्रीय कार्यसमितिले उम्मेदवार सिफारिस गरी नाम जिल्ला कार्यसमितिमा पठाउनुपर्छ । यो तेस्रो खुड्किलो हो ।
जिल्लाले नाम काँटछाँट त गर्ने कल्पना विधानले गरेको छैन तर सिफारिस भएका उम्मेदवारबारे राय भने दिन सक्ने व्यवस्था छ । जिल्ला कार्यसमितिले क्षेत्रीय कार्यसमितिबाट प्राप्त उम्मेदवारको नाम सम्बन्धित प्रदेश कार्य समितिमा पठाउनुपर्ने हुन्छ । उम्मेदवारका लागि यो चौथो खुड्किलो हो । जिल्लाबाट प्राप्त नाम प्रदेश कार्यसमितिमा पनि छलफल हुन्छ । प्रदेशले नाम काट्न र थप गर्न पाउने व्यवस्थाबारे पार्टी विधान मौन छ तर उम्मेदवारबारे राय भने केन्द्रमा दिनसक्छ ।
यसरी पार्टीका तल्ला निकायबाट प्राप्त उम्मेदवार सिफारिस भइ आएका प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका नामावली प्रदेशले केन्द्रमा पठाउँछ । जस अन्तर्गत कांग्रेसले त्यसको प्रकृया सुरु गरको छ । नेपाली कांग्रेस दाङले पनि प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिकको पहिलो चरणको आकांक्षीको नाम संकलनका लागि छलफल थालेको छ । त्यस्तै प्रतिनिधि सभाका लागि पनि छलफल तथा पहिलो चरणमा बैठक बुधवार तुलसीपुरमा भएको क्षेत्र नं ३ का सभापति जगत खड्काले जानकारी दिए ।
प्रतिनिधि तथा प्रदेश सभाका लागि पहिलो चरणमा भएको आकांक्षीहरूको नाम संकलनमा अधिकांश नयाँ अनुहार रहेको सहभागीहरू बताउँछन् । यसैगरी प्रतिनिधिसभा तर्फका आकांक्षी उम्मेदवारको नाम लागि छलफलमा जुटेको कांग्रेसले बताएको छ । नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले प्रदेसभा तथा प्रतिनिधि सभातर्फका उम्मेदवारका आकांक्षीहरूको विषयमा छलफल र केन्द्रीय निर्देशनअनुसार प्रकृया अगाडि बढाएको बताए । पहिलो चरणको नाम संकलनको प्रकृया अगाडि बढेको छ तर आकांक्षीहरूको नाम भने टुङ्गिएको छैन । उनले आफूहरू छलफल र बैठकमै रहेको प्रतिक्रीया दिए ।
केही दिन अगाडि नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. ३ क को बैठक भएको थियो भने बुधवार क्षेत्र नं. ३ ख र क्षेत्र नं. ३ को बैठक पनि भएको छ । बैठकमा विभिन्न नयाँ पुराना नेताहरूले आकांक्षा व्यक्त गरेको नेताहरू बताउँछन् । त्यस्तै बैठकमा आकांक्षीहरू धेरैले सामानुपातिकमा देखिएका छन् भने प्रत्यक्षमा भने थोरै आकांक्षा देखाएको नेताहरू बताउँछन् । ‘प्रत्यक्षमा भन्दा सामानुपातिकका धेरैले आकांक्षा व्यक्त गर्नुभएको छ’, एक नेताले भने । पुरानो र नयाँ पुस्ता दुवैको संख्या बराबर रहेको पनि नेताहरू बताउँछन् ।
जिल्लामा प्रदेशसभामा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । त्यस्तै प्रतिनिधि सभामा ३ वटा रहेका छन् । जसमा प्रदेश सभा तर्फको आकांक्षीहरूको पहिलो चरणको छलफल सुरु भएको छ । ‘आकांक्षीको नाम निकै नै लामो छ, आकांक्षा देखाउन सबैले पाउँछन् तर अन्तिम टुङ्गो लगाउँदा पार्टीले निकै नै विचार पु¥याउनु पर्नेछ’, कांग्रेसका एक नेताले भने । आकांक्षीमध्ये एक महिलासहित तीन जनाको सूची प्रदेशस्तरमै टुङ्गो लगाउनुपर्ने हुन्छ तर आकांक्षी बढी भएकोले उम्मेदवार टुङ्गो लगाउन सहज भने नदेखिएको नेताहरू बताउछन् ।