दुई किशोरीको मृत्यु, ९ घाइते
गोरक्ष समाचारदाता
दाङ, १६ भदौ । भदौ १४, तिजको दिन । गाउँलाई तिजको रौनकले छोपेको थियो । ब्रत बसेको गाउँका महिलाहरू गाउँ नजिकैको सालडाँडामा जम्मा भएर दिनको नाँचगान गरेर तिजको उल्लास बाँडेका थिए ।
नाँचगान चल्दाचल्दै पानी परेपछि जम्मा भएका दिदीबहिनी साँझ गाउँमा जम्मा भएर नाँच्ने सल्लाहमा फाटेका थिए तर त्यो साँझ गाउँका महिलाले उल्लास बाँड्नै पाएनन् । क्षणभरमै गाउँ शोकमा परिणत भयो । मंगलवार साँझ घोराही उपमहानगरपालिका वडा नं १२ गुरौंगाउँका महिलाहरू दिउँसोको नाँचगान सकेर घरतिर फर्किँदै गर्दा नयाँ बस्ती नजिकमा परेको चट्याङले दुई जनाको ज्यान गएको छ । चट्याङले दुई जना किशोरीको मृत्यु भएपछि गाउँ नै शोकमा छ । घटनामा थप ९ जना महिला घाइते समेत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन गौतमकाअनुसार चट्याङले दुई जना किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा गुरौगाउँका १६ वर्षीय दीपा घर्ती र १९ वर्षीय मनिसा शाह छन् । घटनामा परेर अचेत भएका दुवै जनाको केही सयमपछि ज्यान गएको थियो । घटनामा थप ९ जना महिला घाइते भएका छन् । मृतक शाह विवाहित हुन् । उनी तिज मनाउन माइत आएकी थिइन् । उनको गत वर्ष गाउँदेखि झण्डै एक घण्टा समय लाग्ने खरिबोट गाउँमा विवाह भएको थियो । अर्की मृतक घर्तीले यसै वर्ष एसइई पास गरेर उच्च शिक्षाको तयारीमा थिइन् ।
चट्याङमा परेर गाउँका १५ वर्षीया निरुता शाह, १५ वर्षीया जयन्ती घर्ती मगर, १६ वर्षीया मायुसरी थापा, ३८ वर्षीया यमकुमारी शाह, १४ वर्षीया अञ्जना घर्र्ती, ३८ वर्षीया बेलकुमारी घर्ती, ४२ वर्षीया मनकुमारी वली, १५ वर्षीया सावित्रा वली र ४ वर्षीय जेनिशा शाह छन् । घटना स्थलमा फोन पनि नलाग्ने र दुर्गम भएकाले घाइतेलाई डोकोमा राखेर उपचारका लागि घोराही ल्याइएको प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक गौतमले बताए ।
‘पहाडको ठाउँ भएकाले अप्ठ्यारो भूगोल छ । सञ्चारको पनि सुविधा छैन’, प्रवक्ता गौतमले भने, ‘त्यसैले घाइतेलाई मानिसले डोकोमा राखेर चार घण्टा बोकेर हापुरसम्म ल्याउनुपरेको थियो ।’ उनकाअनुसार घाइतेहरूको घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घटनाको खबर प्राप्त गरेपछि वडाध्यक्ष द्रोण बहकरी बिहानै घटना भएको गाउँमा पुगेका थिए । ‘घटना मंगलवार बेलुकी करिब ६ बजेतिरको हो । पानी परेको र फोन सम्पर्क नभएपछि ढिला गरी आफूलाई जानकारी आएको थियो’, उनले भने, ‘हामी बिहान मात्र घटनास्थल पुगेका छौँ ।’ गाउँमा पुग्नको लागि पैदल ३ घण्टा बडी सयम लाग्छ । घटना भएपछि रुवाबासी चल्यो, पानी ठूलो परेकाले खबर गर्ने अवस्था पनि मिलेनछ । खबर आउनासाथ प्रहरीलाई खबर गरेर साढे ३ घण्टा पैदल हिँडेर घटनास्थल आइपुगेका हौँ’, वडाअध्यक्ष बहकरीले भने, ‘गाउँ पूरै शोकमा छ ।’
घटनामा घाइते भएकाहरूलाई डोकोमा बोकेर साढे ३ घण्टापछि तल बाटोमा पु¥याएको उनले बताए । तल बाटोमा ल्याइएका घाइतेलाई घोराहीबाट २ वटा एम्बुलेन्सले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका थिए । घटना भएपछि गुरौँगाउँ अहिले शोकमा डुबेको छ । रोल्पा र दाङको सीमा क्षेत्रमा पर्ने गुरौँगाउँ विकट भएकाले आधारभूत सेवासुविधा पाउन निकै कठिन छ । यो गाउँमा झण्डै ७० भन्दा धेरै घरधुरी छन् । यो गाउँमा अझैसम्म गाडी चल्ने सडक छैन । सञ्चार र अन्य सुविधा समेत पुगेको छैन । बजार आउनको लागि पैदल आउनुपर्ने बाध्यता छ ।
चैत–बैशाखमा गाउँ नजिकसम्म सवारी साधन आउने बाटो भए पनि वर्षासँगै त्यो बाटो भत्केपछि गाउँ पूरै सडकसञ्जालदेखि विच्छेद नै छ । बाटो नपुगेपछि गाउँमा बिरामी भएपछि डोकोमा बोकेर अस्पताल ल्याउनुपर्ने बाध्यता छ । गुरौँगाउँ उपमहानगरपालिका भित्रको दुर्गम, विकट पहाडी गाउँ हो । मानव सूचाकमा समेत यो गाउँ धेरै कमजोर छ । शिक्षा, स्वास्थ्य र सडक सबै क्षेत्रबाट यो गाउँ वञ्चित नै छ । गाउँमा प्राथमिक तहको विद्यालय छ, त्यो भन्दा माथिको शिक्षाको लागि हापुर नै आउनुपर्ने बाध्यता छ ।