नारी सशक्तिकरण, प्रजनन् स्वास्थ्य र ऋषिपञ्चमी

  •   
  •  

भुवन पोख्रेल
तिज पर्वले हिन्दु नारीसँग बिदा माग्ने बित्तिकै अर्को नारीप्रधान पर्व ऋषिपञ्चमीले ढाको ढकढक्याउँछ र हर्षोल्लास भित्रिन्छ । तिजको ब्रतपछि दिदीबहिनी उत्साहका साथ पुनः ब्रत बसेर ऋषिपञ्चमी चाड मनाउँछन् । वर्षाको हरियाली मौसममा माटाहरु भिजेका छन्, जलको स्पर्षले बोटविरुवा र बालीनाली पुलक्कित भएका छन् ।

नारीहरु रातो सारी, गरगहना, पुजाअर्चना, नाचगानले चोकचौतारा र मठमन्दिर खचाखच भरिएका छन् । गाउँ, टोल संगीतले गुञ्जायमान भएका छन् । आज ऋषिपञ्चमीमा नारीहरुको सप्तऋषिको पूजाअर्चना गर्ने विशेष दिन हो । आजको दिन रजस्वला सुरु भइसकेका नारीले आफू रजस्वला हुँदा छुवाछूत वा केही गल्ती क्रियाकलाप भएको भए ती कुराको शुद्धिकरणका लागि पूजाअर्चना गर्ने दिन हो । मानव सृष्टिको जननी नारी हुन् । नारीबिना सृष्टि सम्भव छैन । रजस्वला नारीहरुको गर्भाधान गर्नसक्ने क्षमताको प्रतीक हो । यो हरेक नारीमा प्रत्येक महिनामा हुने प्राकृतिक चक्र हो । रजस्वलालाई जति नै लुकाए पनि यो सृष्टिको पुण्य र प्रथम गुण हो ।

ऋषिपञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो र वैदिक सनातनसँग सम्बन्धित छ । नारीको रजस्वलाको दिनहरुलाई चारवटा देवीहरु अनुरुप तुलना गर्ने चलन छ । प्रथम दिन चण्डालनी, दोस्रो दिन ब्रहाघातिनी, तेस्रो दिन धोविनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन छ । रजस्वला कुनै दोषभन्दा पनि एउटा विशेष क्षमता र सृष्टिको कारकका रुपमा अभिव्यक्ति गर्दै आजका दिनमा रजस्वलालाई नितान्त सामान्य वा छुवाछूतभन्दा पनि सरसफाईलाई प्राथमिकता दिँदै नारीहरुको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्नुपर्छ । महिलाहरुलाई रजस्वलाको अवधिमा आराम, ख्याल गर्ने वातावरण सिर्जना गर्ने वातावरण हुनुपर्छ । नारीहरु दया, माया, करुणा मात्र नभई शक्तिका प्रतिमूर्ति हुन् । देवीहरु हुन् ।

महिनावारीलाई छुवाछूतसँग तुलना गर्नु शास्त्रीकथनको अपव्याख्या हो । महिनावारीको समयमा पर्याप्त आराम होस् भनेर परापूर्वकालमा भान्सा अनि अन्य कामहरु गराउन निषेध गरिएको हो । नारीहरुको रजस्वलाको रगत पवित्र र पुजनीय छ, यो जगत र सृष्टिको आधार हो, यसलाई छुवाछूत दृष्टिले हेर्नु अपराध हो । यस पर्वलाई वैदिक सनातन हिन्दु संस्कारको वैज्ञानिक चाडको रुपमा नारीहरुले मनाउनु पर्दछ र मनाउँदै ाइरहेका छन् । अबका दिनमा छुवाछूत र छाउपडीका कारणले कुनै चेलीबेटीले दुःख पाएको अनुभूति गर्न नपरोस् अनि छाउपडी वा छाउगोठ भत्किँदै जाऊन्, यस प्रथाको अन्त्य होस्, यसका कारण कुनै पनि चेली बलात्कृत बन्न र मृत्यु वरण गर्न परेका खबरहरु सुन्न नपरोस्, रजस्वलाको महत्व सबैले बुझ्न सकौँ ।

आजको दिन नारीहरुले उपमार्ग अर्थात् एउटा विशेष प्राकृतिक जडिबुटीगुणयुक्त बनस्पती दत्तिवनको प्रयोग गरेर बिहानको आफ्नो नित्यकर्म सकाएपछि दाँत माझ्ने वा चपाउने गर्दछन् । उपमार्ग नेपाली माटोमा सहज रुपले उपलब्ध हुने एउटा बनस्पती हो । संस्कृत शब्द उपमार्ग भन्नाले रोगनाशक भन्ने बुझाउँछ । ३६५ वटा उपमार्गका डाँठका टुक्राहरु प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरुले नजिकैको खोलानाला या तालतलैयामा गएर स्नान गर्ने चलन छ । स्नान गरिसकेपछि पञ्चभाग्य अर्थात् दूध, दही, घ्यू, दुवो, कुश, गोबर, गउँत मिसाएर तामाको भाँडोमा राखिएको कुराको एक–एक थोपा सेवन गरेर पवित्र हुने सनातन प्रचलन रही आएको छ ।

पञ्चभाग्यको सेवनले क्षयरोग र छालासम्बन्धी चर्म रोग नहुने विश्वास पनि गरिएको छ । यसरी बिहानको स्नानले शरीर र आत्माशुद्धि गरिसकेपछि नारीहरुले दियो, कलश, गणेश स्थापना गरी विभिन्न पूजा अर्चना प्रार्थना गर्दै सप्तऋषि, कश्यप, अतृ, भारद्वाज, विश्वामित्र, गौतम, जमदानी अनि वशिष्ठलगायतका ऋषिहरुको आह्वान गरिन्छ । यस दिन नारीहरुल्े आफ्नो सौभाग्यका सूचक सिन्दुर–पोते, चुरा, टीका, धागोहरु चढाउने प्रचलन छ । त्यसपश्चात ब्राह्मणलाई टीका, दक्षिण र दान गर्ने संस्कार छ । आजको दिन विशेषतः माटोमा हलोले नजोतेर आmै खनेर खोस्रेर रोपेका खाद्यवस्तुहरु, कन्दमुल, कर्कला आदिको परिकार बनाएर सेवन गर्न प्रचलन छ । यस्ता अर्गानिक खाद्यवस्तुको सेवनले हाम्रो शरीरमा एक किसिमको उर्जा भरिदिन्छन् ।

वशिष्ठ ऋषिको पत्नी अरुन्धतीको पूजा गर्दा स्त्रीवर्गले सौभाग्य सामग्री अर्पण गर्नु पर्दछ । ऋषिपञ्चमीको पूजा गर्दा बेलपत्र नभइ नहुने पूजा सामग्री हो । पारिवारिक सुख, शान्ति, आरोग्यता, धन, धान्य, असल सन्तान, वैभव र विजयी प्राप्तिको लागि तथा महिला महिनावारीका समय स्त्री र पुरुषद्वारा परिवारमा जानअञ्जानमा हुन पुगेका त्रुटि र गरिएका पाप कर्म निवारणका लागि यो ब्रत नेपालमा गरिने चलन रहेको हो । शास्त्रले यो ब्रत स्ती–पुरुष दुवैले लिनुपर्ने बताएको भए तापनि नेपाली समाजमा चाहिँ महिलाले मात्र यो ब्रत लिने चलन छ । ब्रह्माचार्यमा रहनु यसको अनिवार्य नियम हो ।

पारिवारिक आनन्द, सौभाग्य वृद्धि, अज्ञात पापबाट मुक्ति, शारीरिक सौन्दर्य वृद्धि, सत्वितारी छोराछोरीको प्राप्ति यस चाडको लक्ष्य हो । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको अवस्थामा अरुन्धती सहित सप्तऋषिको पूजा गर्नाले पापबाट मुक्ति पाइने शास्त्रीय वचन छ । यसरी रजस्वलालाई पाप मान्न आधुनिक नारीहरु तयार छैनन्, जब रजस्वला पाप नै होइन, सृष्टिको जग हो भने किन नारीले पापबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी ब्रत राख्नुप¥यो भन्ने सवाल पनि उठिरहेका छन् । ऋषिपञ्चमी पर्वलाई रजस्वलासँग मात्र जोडेर हे¥यौँ भने यस पर्वको महिमा र गरिमा कमजोर हुँदै जान्छ । यसलाई संकीर्ण घेराबाट मुक्त भइ फराकिलो सोच राख्यौँ भने आधुनिक युगका नारीले पनि यो पर्व हर्षोल्लासका साथ मनाउने छन् र यो पर्वले निरन्तरता पाउनेछ ।

अहिले ऋषिपञ्चमीलाई महिनावारीको बेला गरेको पाप पखाल्ने पर्व वा ब्रत भनिएको छ तर यही दिनलाई प्रजनन् स्वास्थ्य र महिनावारीको ज्ञान दिने पर्वको रुपमा मनाउन सकिन्छ । हाम्रो ऋषिपञ्चमी नै महिनावारीको बारेमा ज्ञान दिने एउटा राम्रो दिवस बनाउन सकिन्छ । हरेक वर्ष २८ मे लाई अन्तर्राष्ट्रिय महिनावारी दिवस भनेर मनाउन थालेको केही वर्ष भयो । हामीले ऋषिपञ्चमीलाई महिनावारी दिवसको रुपमा मनाउन सक्छौँ, विदेशी दिवस मनाउनै पर्दैन । अहिले नेपाली समाज धेरै परिवर्तन हुँदै गएको छ ।

नेपाली समाजमा महिनावारी कुनै लुकाउनुपर्ने, छलफल गर्न नहुने विषय होइन भनेर पढाइन्छ । स्कूल–स्कूलमा महिनावारी व्यवस्थापनका लागि प्याड बाँड्न सरकारले अर्बौँ रुपैयाँ बजेट छुट्याएको छ । अब ऋषिपञ्चमी नारी स्वच्छन्दताको पर्वको रुपमा मनाउन थाल्यो भने पक्कै सांस्कृतिक रुपान्तरण गर्न सकिन्छ । यदि ऋषिपञ्चमीलाई त महिनावारीको बेलामा छुन नहुने, छोएको पाप पखाल्ने दिन भनेर पुरानै मान्यताको राग अलापिरह्यौँ भने ऋषिपञ्चमी विस्तारै हराउँछ । संस्कार र प्रजनन् स्वास्थ्य दुवैलाई सुरक्षित राख्न ऋषिपञ्चमी नयाँ तरिकाले मनाऔँ ।

ऋषिपञ्चमीपछि तिजको रोनक समाप्त हुन्छ । आफ्ना श्रीमान छोराछोरी परिवारका सबै सदस्यका साथै आफ्नो पनि सुस्वास्थ्य तथा दीर्घ जीवन होस् भन्ने अवधारणाले अध्यात्मिक भावना भएका नारीहरु सप्तर्षिको समक्ति पूजाअर्चना गर्दछन् भने उनीहरुले गरेको आस्थालाई रजस्वलासँग मात्र जोडेर हेर्नु हुँदैन । तिज, पञ्चमी पर्वलाई नारीहरुको स्वतन्त्रता, अधिकार, स्वच्छन्दताको पर्वको रुपमा बुझ्नुपर्छ । घरको गृहस्थी बोझले च्यापिएर थिलो–थिलो भएका नारी घरको कामकाजलाई चटक्कै छोडेर हर्षित, स्वतन्त्र भएर घरबाहिर निस्कन्छन् ।

उनीहरु आफ्ना आमा, दिदीबहिनीसँ गीतमार्फत् वेदना अधिकारका कुराहरु साट्छन् । यसले महिलाहरुलाई सशक्त बनाउँछ । तिज पर्वको रौनकता पञ्चमी पर्वसँग जोडिएको हुन्छ । तिजबाट पञ्चकर्म पर्वलाई कदापि हटाउन सकिँदैन । तिज पर्व जसरी पञ्चमी पर्व पनि नारी सशक्तिको आवाजलाई बुलन्द गर्दै सशक्तिकरणको पर्वको रुपमा सांस्कृतिक रुपान्तरण गर्न जरुरी छ । तिजको दिन मात्र नभइ पञ्चमीको दिन पनि महिलाहरुलाई सार्वजनिक बिदा दिनुपर्छ । पञ्चमीको परम्परालाई दिगो र दरिलो पार्नुपर्छ यो हिन्दु नारीको कर्तव्य हो ।

धर्मको रक्षा ग¥यौँ भने प्राकृतिक प्रकोप, दैवी विपत्ति, रोग, व्याधी, संकट, अभाव, दरिद्रताबाट सबैलाई टाढा राख्दछ । आधनिक युगसँग नारीहरु घरभित्रको काममा मात्र सीमित छैनन्, उनीहरुलाई यस्ता पर्वले केही फुर्सदिलो तुल्याउँछन् । यस्ता पर्वहरुमा परिवारका सदस्य, छरछिमेकी, इष्टमित्र, साथीभाइ जम्मा भएर मनका वेदना, पीडा बिसर्जन भइ नयाँ भावना र विचार उत्पन्न हुन्छन् । यो संसकार यस्तै रहेछ भनेर मन बुझाउन सजिलो हुन्छ । महिला दिदीबहिनीहरुले गीत गाएर पनि विद्यमान समस्या, विकृति, विसंगति, गलत संस्कृति, खराब संस्कार, बेथिति, उच्छृंखलता, अराजकता, अन्याय प्रवृत्तिको विरोध गरिरहेका हुन्छन् । घरपरिवार, समाज र सभ्य मुलुक, सुखी र समृद्धि होस् भन्ने चाहना गरिरहेका हुन्छन् । समय परिवर्तनको क्रमसँगै नेपाली दिदीबहिनीले तिजपञ्चमीको मौलिकतामा कुनै आँच नपुग्ने गरी आफ्नो धर्म परम्परा जोगाउनु पर्दछ ।

तिज महिला दिदीबहिनीको सोह्रशृंगारमा सजिने पर्व हो । पञ्चमीलाई पनि तिजकै एउटा पाटोको रुपमा मनाउने गर्नुपर्छ । पञ्चमी पनि शौभाग्य र शुभकार्यको पर्व हो भनी बुझ्नु पर्छ । पञ्चमी पर्वले पनि घरपरिवारमा सुख, शान्ति र समृद्ध छाउँछ भन्ने विश्वास जगाउन सक्नु पर्दछ ।
तिज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन धुमधामका साथ मनाइन्छ । तिजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गरिन्छ ।

नेपाली हिन्दु महिलाहरुद्वारा स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तिज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । आद्यशक्ति भगवान शिवकी अर्धाङ्गिनी हिमालयपुत्री पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनी यसमा कुनै बाधा नहोस् भनी कडा ब्रत राखेकी थिइन् । त्यो दिन यही हरितालिका तिजको दिन थियो । त्यसैले त्यसै दिनदेखि आजसम्म हिन्दु नारीहरुले यो ब्रत मनाउँदै आएका छन् भन्ने विश्वास गरिन्छ ।

हिमालयकी पुत्री पार्वतीले आफू रोजेको पति महादेव प्राप्त गर्नका लागि तिजको ब्रत बसेकाले यो नारी सशक्तिकरणको पर्व पनि हो भन्न सकिन्छ । श्रीमानको स्वास्थ्य, शरीर, समृद्धिमा कुनै बाधा उत्पन्न नहोस् भनेर हरेक नारी तिजको ब्रत बस्ने प्रचलन छ । पतिको सुस्वास्थ्य र दीर्घायुका लागि मात्र नभइ सन्तानको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र समृद्धिका लागि पनि यो पर्व मनाइन्छ ।

वास्तवमा नारी सशक्तिकरण पक्षमा आवाज उठाउनेहरुले हामी नारी मात्र किन पतिको स्वास्थ्य र दीर्घायुको कामनाका लागि जल पनि नखाइ निराहार ब्रत बस्ने, हामी महिलाका लागि पतिले ब्रत बस्नु पर्दैन ? भन्ने गरिएको पनि सुनिन्छ । जल पनि नखाइ निराहार ब्रत बस्नु भनेको होइन, दूध, फलाहार, प्रशस्त पानी पिएर ब्रत बस्ने हो ।

यदि आफ,्नो स्वास्थ्य अवस्थाले साथ दिँदैन भने खाना खाएर पनि पूजाअर्चना गर्न बर्जित छैन । हरेक कुराको सकारात्मक पक्षलाई उजागर गर्दै अघि बढ्ने हो । हाम्रो धर्म, संस्कृतिको रक्षा गर्दै अघि बढ्ने हो । धर्म, संस्कृति र परम्परामा राजनीति गर्ने होइन, हिन्दु धर्ममा महिलालाई विभेद गरेको पाटो मात्र हेर्ने होइन, यस धर्ममा महिलालाई लक्ष्मी, भगवती, दुर्गा, काली, सरस्वती स्वरुपको रुपमा हेरेको पाटो पनि उजागर गर्नुपर्दछ ।

ऋषिपञ्चमी पनि महिला सशक्तिकरणको पर्व बन्नु पर्छ । पुरातन वैदिक सोचमा केही सांस्कृतिक रुपान्तरण गर्न सक्यौँ भने यसको महिमा जीवन्त हुन्छ । धर्म संस्कृतिको जगेर्ना गर्ने दायित्व हामी सबैको तर संस्कृतिको नाममा रहेका विकृतिलाई सामाजिक रुपान्तरण गर्दै अघि बढ्न सक्नुपर्छ ।