के.पी. सुवदी
वातावरणीय प्रदूषण दिनदिनै बढ्दो क्रममा छ । मानिसले उत्पादन गरेको प्रदूषण मानिसकै समस्या बनेको भए तापनि यसबाट पाठ सिक्ने बानी झटपट विकास नहुने रहेछ । मानिसले उत्सर्जन गरेको वस्तुले स्वयम्लाई हानि गरिरहेको हुन्छ । यो क्रम जनसंख्या वृद्धिसँगै फोहरका स्रोतहरु पनि बढिरहेका कारण दिन प्रतिदिन जटिल समस्या बनेर मानव स्वास्थ्य घेरिएको छ ।
स्थानीय स्रोतबाट उत्पन्न धुलोका कणहरु र धुवाँ वायुमण्डलमा मिसिएर जताततै फैलिने हुँदा एक ठाउँमा उत्पादित धुलो र धुवाँले व्यापक रुपमा असर गरिरहेको हुन्छ । आजभोलि वायुमण्डलमा कति धुलो छ भनेर अनुमान गर्न चिल्ला सतह भएका वस्तुमा टाँसिएको धुलोको तहलाई हेरेर अनुमान गर्न सकिन्छ । त्यस्तै अर्को उदाहरणलाई लिऔँ, बाहिर राखिएका सवारीसाधन् वा त्यस्तै वस्तुहरु राखिछोडेका बेला हल्का मात्र वर्षा हुँदा हिलोले छ्यापेझैँ हुन्छ । धेरै दिन पानी नपरेको अवस्थामा धेरै धुलो वायुमा बाक्लिएर त्यस्तो भएको हुनु स्वाभाविक हुन्छ तर दुई–चार घण्टा मात्र पानी नपर्दा वायुमा त्यतिधेरै माटो थुप्रिनु स्वास्थ्यको दृष्टिले गम्भीर चुनौती बनेर उभिएको बुझ्नुपर्छ ।
अब हाम्रो वायुमण्डलमा यति धेरै धुलो कसरी जम्मा हुन्छ ? निश्चय पनि सोचनीय विषय हो र यसले हाम्रो स्वास्थ्य कति प्रभावित होला ? हामी अनुमान गर्न सक्छौँ । किनभने पानी नपरेको दुई घण्टा बित्न नपाउँदै हामीले फोक्सोमा हुलेर प्राणमा रूपान्तर गर्ने वायु यतिका धुलोले भरिएको हुन्छ । त्यो त्यही सिमसिमे पानीले भिजेर सुकेको ठोस सतहहरुलाई हेरेर थाहा पाउन सकिन्छ । धुलोको स्रोत हामीले विकासको नाममा गर्दै गरेका उद्योग वा यान्त्रिकहरुको अव्यवस्थित प्रयोगले सिर्जना गरेकोमा कुनै शंका छैन । हाम्रो सडक, सिमेन्ट कारखाना, ढुङ्गाखानी, बालुवाखानी, सबै विकासका शीर्षकहरु हुन् । जसले धुलो उत्पादन गरिरहेका छन् ।
त्यो धुलो कसैको रोजगारीसँग सम्बन्धित छ त कसैको समस्या मात्र बनिरहेको छ । तैपनि यस बारेमा कमैले मात्र आँकलन गरिरहेका होलान् । यसको समाधान खोज्नुपर्छ कि पर्दैन ? समस्या मानिसकै कारणले बढेको हुनाले समाधान गर्नै नसक्ने पक्कै पनि नहुनुपर्ने हो तर विचार पु¥याउनुपर्ने समय गइसकेपछि, हेरफेर गर्न धेरै क्षति व्यहोरेर गर्नुपर्छ । सहरबजार होस् वा गाउँले व्यापारिक केन्द्र, जहाँ पनि सडकको सुविधा पहिले हेरिन्छ र त्यहाँ त्यही धुलाम्मे सडक । त्यहाँ पसलका सामानहरु धुलो, बिग्रिरहेका, खाद्य सामग्री नष्ट भइरहेका, औषधी, कपडा, मिठाईलगायतका सबै वस्तुहरु बिग्रेको बारेमा धेरै चिन्ता छैन र उपभोक्ता पनि त्यसको गुणस्तरप्रति सचेत भएको देखिँदैन ।
सरकारी निकायबाट अनुगमन गरिन्छ, नाम मात्रको त्यसले प्रदूषणको स्रोत नियन्त्रण गर्ने सोच र जिम्मेवारी नहुने भएकोले औपचारिकतामा सिमित हुन्छ ।धुलोको नियन्त्रण गर्नसके मात्र धेरै हदसम्म मानिसको स्वास्थ्यमा प्रदूषणको असरबाट लाग्ने स्वासप्रश्वास र छालामा देखिने समस्या धेरै नियन्त्रण हुनसक्छ । छाला चिलाउने, घाउ, खटिराजस्ता बिरामीहरु पनि धुलोले हुनसक्ने भएकोले धुलोको मात्रा बढेसँगै घाउ खटिरा आँखामा र एलर्जिक लक्षणहरु बढिरहेको पाइएको छ । धुलो बाहेक मानव स्वास्थ्यमा समस्या ल्याइदिने प्रदूषणका अनेकानेक स्रोतहरु छन् ।
केही नजानेर व्यवस्थित हुनसकेका छैनन् भने कति जानेर पनि बाध्यताले हुने, जस्तै धुवाँ, जथाभावि असुरक्षित प्रयोग गर्दा हावामा तैरिरहेका विभिन्न रसायनहरु, सडेगलेका वस्तुबाट निस्कने दुर्गन्धयुक्त वायु र अनावश्यक उत्पादन भइरहेका ध्वनिप्रदूषणले पनि हाम्रो स्वास्थ्यमा समस्या ल्याइरहेका हुन्छन् । खास कुरा के हो भने जुन प्रदूषण नगरिकन विकासको उपभोग गर्न सकिन्छ, त्यो पनि गर्न नखोज्नु या नचाहनु ठूलोसमस्या हो । राज्य चलाउनेहरुमा, प्रशासन चलाउने क्रममा या विवेकीय प्रयोग गर्नुपर्ने नागरिक तहमा जहाँ पनि जिम्मेवारीबोध कम भैरहेको छ ।
राम्रो कामको सुरुवात जसले गरे पनि त्यसलाई सबैले साथ दिनु अनिवार्य हुन्छ । सके आफैले सुरु गरौँ नसके अरुले गरेकोमा अर्थपूर्ण सहयोग गरेर त्यसको स्वामित्व ग्रहण गर्ने विवेक प्रदर्शन गरौँ । धुलोको प्रदूषणले ग्रस्त हामी दङाली सिमेन्ट उद्योग बनाउँदा ध्यान पु¥याउन नसकेर पछुताउनु परेकै छ । अब जहाँसुकै टिपरहरु चलाउने तर त्यसले मापदण्ड पूरा गरेको नगरेको कसैले वास्ता नगर्ने, व्यवसायीहरु आफ्नो व्यवसाय गर्दा जनसाधारणको स्वास्थ्यमा अथवा वातावरणीय प्रतिकूलता हुन्छ कि भन्ने किन्चित जिम्मेवारीबोध नहुने हो भने त्यसले अराजकता ल्याउने गर्छ, असभ्यताको परिचय दिन्छ । यहाँ सडकको हालतले स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई जिस्क्याइरहेको जस्तो महसुस हुन्छ ।
विशेष गरी नगरपालिका, डिभिजन सडक कार्यालय प्रमुखहरु गैह्रजिम्मेवार हुँदा सडक किनारका मानिसहरु, सडकमा यात्रा गर्ने मानिसहरुदेखि पूरै वायुमण्डल प्रदूषित भइरहेको छ । कुनै समय सफा स्वच्छ, सहरमा पर्ने घोराही, तुलसीपुरले नेपालको प्रदूषित उपत्यका भनेर चिनाउन थाल्यो । जब कि यहाँको परिचय कर्मचारीतन्त्रको जिम्मामा रहँदा स्वच्छ सहरको उपाधिले पुरस्कृत भएको थियो । जनताको सुविधालाई असुविधा र दिनानुदिन बढिरहेको कष्ट सुन्न आवश्यक नसम्झनेहरु आगामी निर्वाचनमा उम्मेदवार भए भने उनीहरुलाई जनादेशमार्फत् अस्वीकृत हुनुपर्छ ।
दाङमा केही वर्ष अघिदेखि सडक अनुशासन कायम गर्न गरिएको सानो प्रयास गरेको थियो, ट्राफिक प्रहरी कार्यालयले । ‘नो हर्न’को उक्त प्रयास सडक अनुशासन कायम गर्ने र ध्वनि प्रदूषण कम गर्न ‘नो हर्न’ अभियान एउटा सकारात्मक प्रयास थियो । ध्वनिरहित यातायातको परिकल्पना भए पनि त्यसको प्रभाव धेरै सकारात्मक हुनसक्थ्यो । जब सडकमा सवारी चालकले सवारी चलाउँदा ध्वनिरहित गर्नुपर्छ तब सवारीको गति स्वतः नियन्त्रित हुन्छ । ध्वनि बजाउनै
सको सुरुमा टाढा–टाढा बजेका ध्वनि पछ्याउँदै गएर जरिवाना गर्ने ट्राफिक प्रहरीले आजभोलि अस्पतालको गेटमा चर्को स्वरमा ध्वनि बजाउने चालकलाई कारबाही गरेको पाइँदैन । राम्रो, सम्भव प्रयत्नहरु सुरु गर्दै छोड्दै गर्नु गैह्रजिम्मेवारीपनको उदाहरण हो । त्यसले के बुझाउँछ भने आफ्नो जिम्मेवारी कसैबाट पनि राम्रोसँग निर्वाह हुनसकेको छैन र आम नागरिकमा पनि अनुशासनहीनता बढिरहेको छ । अगाडि लागेका सबै गैह्रजिम्मेवार र अनुशासनहीन भएपछि पछिल्ला कसरी जिम्मेवार हुने ?