अव्यवस्थापनको सिकार आधुनिक बसपार्क

बालाराम खड्का
तुलसीपुर, १२ भदौ । लाखौँका गाडीहरू पार्किङमा छन् । टर्मिनल भवन पनि छ तर बसपार्कमित्र अस्तव्यस्त छ अनि असुरक्षित र दुर्गन्धित पनि । न बसपार्क वरपर पर्खाल छ न त सरसफाई । यात्रुहरूलाई पिसाव फेर्नका लागि उपयुक्त शौचालय समेत छैन । उपमहानगरपालिकाले यसै बसपार्कलाई आधुनिक बसपार्क बताउँदै आएको छ । यसलाई नगरबासीले लाजमर्दो भन्दै आएका छन् ।

तुलसीपुरको आधुनिक भनिएको बसपार्क नाम मात्रको आधुनिक छ । टर्मिलन भवन ठूलो छ भने आधा कालोपत्रे गरिएको बसपार्क नमुना र आधुनिक भनिएको छ । २०७४ सालमा नगर विकास कोषको ऋण तथा अनुदानमा साढे १० करोडमा निर्माण भएको बसपार्कको सञ्चालन २०७७ मा भएको थियो । ३४ करोड लागतमा आधुनिक बसपार्क निर्माण सुरु भए पनि बसपार्कमा अन्य संरचनाहरू भने बनेका छैनन् । १६ कोठे टर्मिनल भवन, गाडीका स्टाफहरूलाई आराम गर्ने कोठा, बगैंचा, रेष्टुरेण्ट, ५२ वटा सपिङ स्टल, अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गर्ने भनिएको थियो ।

आधुनिक भनिएको तुलसीपुर बसपार्क अस्तव्यस्त छ । बसपार्कमा कहिले विद्युत् त कहिले खानेपानीको लाइन काटिने र जोडिने गरेको छ । ‘एक कप चिया पिउने स्थान समेत बसपार्कभित्र छैन, वर्सातमा ओत लाग्ने ठाउ छैन’, एक जना यात्रुले भने, ‘यसलाई आधुनिक बसपार्क भन्नु अर्थहीन कुरा हो ।’

आधुनिक बसपार्क बनाएपछि ५२ वटा सटर भाडामा लगाइएको छ तर बसपार्कमा न त यात्रु बस्ने प्रतीक्षलय छ न त बसपार्कको शौचालय सरसफाई छ । बसपार्क अस्तव्यत भएको यातायात व्यवसायीहरू बताउँछन् । ‘पानी पर्दा भिज्ने र घाम लाग्दा पोल्ने छ, न त बस्ने ठाउँ छ न त सुरक्षा व्यवस्थापन नै । बसपार्कमा जडान भएका सिसि–क्यामेराहरू पनि बिग्रिएर काम नलाग्ने भएको यातायात व्यवसायीहरूले बताएका छन् ।

यातायात व्यवसायीहरूले भने महिनामा एउटा काउण्टरको ५० हजार र गाडी पार्किङ गरेको ३ सय ७५ रूपैयाँसम्म तिर्ने गरेका छन् । यसैबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दाङले बसपार्क व्यवस्थापन नभएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । यद्यपि, सरोकारवाला निकाय तुलसीपुर उपमहानगरपालिकाले बसपार्क व्यवस्थित गर्न चालु आर्थिक वर्षको बजेटमा कुनै सम्बोधन गरेको छैन ।

यातायात व्यवसायी महासंघका संयोजक भरतनाथ योगी र सचिव घनश्याम बस्नेतले तुलसीपुर उपमहानगरपालिकाको लागानीमा २०७६ सालमा सञ्चालन भएको बसपार्क यात्रुमैत्री नभएको र शौचालयको राम्रो व्यवस्था नभएको भन्दै ध्यानाकर्षण–पत्र सहित नगरपालिकालाई जानकारी गराएका छन् ।

उनीहरूले बसपार्क क्षेत्र भित्र सिसी क्यामराको व्यवस्थापन नगरेको, हालसम्म पनि यात्रुहरूलाई व्यवस्थित रूपमा बस्नका लागि यात्रुलाई पार्किङ शुल्कको व्यवस्था नभएको सवारी धनीका गाडीहरू तोडफोड चोरी, आगजनी समेत भएको र पर्खाल नभएको कारणले चौतर्फी खुल्ला गेटहरूबाट आइ यातायात व्यवसायीमाथि कुटपिट समेत भएको भन्दै तुलसीपुर उपमहानगरपालिकालाई बुझाएको ज्ञापन–पत्रमा उल्लेख छ ।

हाल बसपार्क वरपर तरकारी र फलफूल विक्री केन्द्र बनाएको र प्रवेशद्वार नजिक भित्रिने र गाडी बाहिरिने ठाउँमा अटो पार्किङ भएको हुँदा दुर्घटनाको जोखिम बढेको ज्ञापन–पत्रमा उल्लेख छ । महासंघले पटक–पटक बसपार्क व्यवस्थापन गर्न अनुरोध गर्दा समेत कुनै सकारात्म प्रतिक्रिया काम समेत नगरेका हुँदा आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको ज्ञापन–पत्रमा उल्लेख छ । बसपार्कलाई सफा, सुन्दर, व्यवस्थित, नमुना बनाउन पहल गरिदिन पनि अनुरोध गरिएको छ ।

यदि त्यसो नभएमा यही भदै १९ गते बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म सम्पूर्ण यातायताका साधनहरू बन्द गर्ने र असोज १ गतेदेखि यातायात व्यवासायीले बसपार्कमा तिर्दै आएको शुल्क नदिने निर्णय भएको सचिव घनश्याम बस्नेतले बताए । ‘बसपार्क व्यवस्थित भएन भनेर हामीले भनिरहेका छौँ, असुरक्षा र यात्रुमैत्री छैन’, उनले भने । उनले आधुनिक बसपार्क भने पनि शौचालय फोहर तथा अन्य सरसफाई समेत नभएको बताए ।

‘बसपार्कमा खुकुरी नचाउनेदेखि गाडी तोडफोड समेत यस अघि भएका छन्, वरपर सबै खुल्ला छ, कसरी करोडौँ मूल्यका सवारी साधनहरू त्यहाँ राख्न सकिन्छ’, बस्नेतले भने । उनले आफूहरूले तिर्नुपर्ने सबै शुल्क निरन्तर तिरेको भन्दै बसपार्क व्यवस्थित गर्नुपर्ने बताए । उनले विभिन्न माग राख्दै ज्ञापन–पत्र नगर प्रवक्तालाई बुझाएको भन्दै उनले समस्याको सामधान गर्ने आश्वासन दिएको बताए तर अहिलेसम्म तुलसीपुर उपमहानगरपालिकाले बसपार्क व्यवस्थित गर्ने सन्दर्भमा छलफलमा समेत आफूहरूलाई नबोलाएको यातायात व्यवसायीले बताएका छन् ।