Goraksha

National Daily

संक्रमित युवासँगै फर्किने दाङका १० जनाको पहिचान, सबै प्रहरी सम्पर्कमा

लिलाधर वली

दाङ,२३ चैत । कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० जना युवाहरु भएको खुलेको छ । संक्रमित युवासँगै भारतबाट आउने दाङका अधिकांस युवाहरु घोराहीका रहेका छन् ।

भारतबाट फर्किएका मध्य घोराही उपमहानगरपालिका–४ का पाँच जना युवा रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जसमा घोराही–४ का २२ वर्षीय दुई जना, १७ वर्षीय एक जना र २९ वर्षीय एक जना युवा भारतको मुम्बईबाट चैत १२ गते नेपाल आएका हुन् ।

संक्रमित युवासँगैको भिडमा साविक सोनपुर–२ का १९ वर्षीय एक युवा,त्यसैगरी भारतको चेन्नईबाट आएका लमही नगरपालिका–५ का २० वर्षीय एक युवा र भारतको केरलाबाट फर्किएका सोही ठाउँकै २५ वर्षीय अर्का एक जना रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै राजपुर गाउँपालिका–६ का १९ र २६ वर्षका दुई जना युवा पनि गौरीफन्टा नाकाबाटै चैत ११ गतेको भिडमा रहेको प्रहरीले जनाएको छ । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा उत्रिएको भिडमा उनीहरु पनि सहभागी रहेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिएका छन् । प्रहरी प्रमुख भट्टराईले उनीहरु प्रहरीको सम्पर्कमा रहेको र अब उनीहरुलाई बेलझुण्डीको कोरोना विशेष अस्पतालमा लगिने जानकारी दिए ।