गोरक्ष समाचारदाता
दाङ, १० भदौ । आउँदो आइतबार थारू समुदायले अट्वारी पर्व मनाउने भएको छ । सधैँझैं यस वर्ष पनि अट्वारी पर्व भदौको १२ गते वा १९ गते मनाउने बिषयमा विवाद देखिएको छ । धेरैले आगामी भदौ १२ गते अट्वारी पर्ने भनिरहँदा केहीले भदौ १९ गते पर्ने भन्दै आएका छन् ।
हरेक वर्ष कृष्ण जन्माष्टमीको दुई आइतबारपछि अर्थात् कुशे औंशीको पहिलो आइतबार थारू समुदायले अट्वारी मनाउँदै आएका छन् । यसैबीच थारू आयोगले यस वर्षको अट्वारी पर्व भदौ १२ गते भएको जनाएको छ । थारू आयोगले थारू अगुवा तथा संस्कृतिविद्हरुसँग छलफल गरेर यस वर्षको अट्वारी पर्व आफ्नो क्यालेन्डरमा भदौ १२ गते भएको उल्लेख गरेको थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बताए ।
पुर्खाहरुले थारू समुदायको अष्टम्की पर्वपछिको दुई आइतबार र कुशेंऔसीको पहिलो आइतबार अट्वारी मनाउने गरेकाले सोहीअनुसार आफूहरुले थारू आयोगको क्यालेण्डरमा लिखित मिति उल्लेख गरेको उनले बताए । यसैगरी थारू कल्याणकारिणीसभा (थाकस) दाङले पनि भदौ १२ गतेका दिन अट्वारी मनाउन थारू समुदायलाई अपिल गरेको छ ।
सभाका जिल्ला अध्यक्ष भुवन चौधरी र सचिव प्रकाश चौधरीले एक विज्ञप्ति जारी गर्दै अष्टम्की पर्वपछिको दुई आइतबार र कुशेऔंसीपछिको पहिलो आइतबार अट्वारी मनाउने भएकाले यस वर्ष भदौ १२ गते अट्वारी मनाउन आग्रह गरेको हो ।
अट्वारीमा सार्वजनिक विदा
थारु समुदायको अट्वारी पर्वका अवसरमा घोराही उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ । बिहीवार बसेको घोराही उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले भदौ १२ गते अट्वारी पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीद्वारा हस्ताक्षरित सूचनामार्फत जानकारी दिइएको छ । अट्वारीलाई थारु समुदायले महत्वपूर्ण पर्वका रुपमा लिने गर्दछन् ।