दाङ, ९ भदौ । बालबिवाह नरोकिनुले कहालीलाग्दो अवस्था भएको भन्दै यसले महिलाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको घोराहीमा आयोजित एक कार्यक्रमका बक्ताहरूले बताएका छन् । साथै उनीहरुले बालविवाह रोक्नका लागि घरपरिवारलाई सचेत बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।
महिला तथा बालबालिकामाथि हुने हिंसाले स्वास्थ्यमा हुने असर र न्यूनीकरणमा सरोकारवालाहरूको भूमिका बिषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्ने बक्ताहरुले न्यायिक समितिले मिलाएका मुद्दाहरू दीर्घकालीन हुने गरेका छन् कि छैनन् भन्ने कुरामा समय–समयमा जानकारी लिनुपर्नेमा समेत जोड दिएका थिए ।
स्वास्थ्यमा संवेदनशील नहुँदा महिलाहरूले दोहोरो हिंसा खेप्न बाध्य भएको सरोकारवालाहरूको भनाइ थियो । जीवन दान गर्ने अभिन्न अंगको बिषयमा समाजमा कोही पनि संवेदनशील नभएको सहभागी बक्ताहरुले गुनासो गरेका थिए । महिला हिंसाका कारण अधिकांश महिला मानसिक रोगी बन्दै गइरहेको भए पनि सचेत मानिसहरु जिम्मेवार बन्न नसकेको बताएका थिए ।
उनीहरुले पछिल्लो समय स्कुले बालिकाहरू आफ्नै बाबुबाट बलात्कृत हुँदा स्कुल छोडेको अवस्था देखिएको पनि बताएका थिए । कार्यक्रमकी प्रमुख अतिथि लक्ष्मी आचार्यले बिभेदका कुरामा संरचना नफेरिएको भन्दै सचेत नागरिक फेर्नका लागि लाग्नुपर्नेमा जोड दिएका थिए । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले समस्या समाधानको पाटोमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै प्रत्येक पालिकाहरूमा जस्ता खालका समस्याहरू आए त्यसैमा फोकस गर्दै सम्बन्धित बिषयमा छलफल गर्दै समाधानको बाटो रोज्नुपर्ने बताए ।
मदिराका कारण पनि हिंसा फैलिएको भन्दै यसलाई न्यून गर्ने उपाय निकाल्नुपर्ने बताएका थिए । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षता एवं महिला मानवअधिकार रक्षक सञ्जाल दाङका संस्थापक लक्ष्मी आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला पुनःस्थापना केन्द्र ओरेक दाङको आयोजना र महिला मानवअधिकार रक्षक सञ्जालको सहकार्यमा सम्पन्न कार्यक्रममा ओरेक दाङकी संयोजक ईश्वरी थापाले विषय प्रवेश गराएकी थिइन् । कार्यक्रमको सञ्चालन महिला मानवअधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुशीला पौडेलले गरेकी थिइन् ।
कार्यक्रममा बबई गाउँपालिकाका उपप्रमुख बमकुमारी खड्काले पालिकाभित्रै आफूहरूले न्याय नपाएको बताएकी थिइन् । साथै उनले गाउँपालिकाबाट विनियोजन हुने बजेटमा महिलाको बिषयमा बजेट छुट्याउँदा पनि सहमति नजनाइदिने हुँदा आफूहरू पीडामा पर्ने गरेको बताएकी थिइन् ।
शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमा केसीले समस्या समाधान गर्छु भनेर पनि केही गर्न नसक्ने अवस्था भएको बताइन् । साथै उनले परिवर्तनका लागि सबैभन्दा पहिले सोचमा परिवर्तन हुन आवश्यक रहेको बताइन् ।
राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले अरूलाई दोष नदिई आफैमा सक्षम भएर आफ्ना अधिकारका लागि डटेर लाग्नुपर्ने बताइन् । राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले अझै पनि सचेतनाका कार्यक्रमहरू व्यापक हुनुपर्ने बताइन् । आफ्ना बालबालिकाका लागि अभिभावक पनि चनाखो हुनुपर्ने बताइन् । दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा खड्काले सबैका समस्या एउटै भएकाले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले महिला हिंसाका घटना व्यापक रहेको भन्दै त्यसका लागि सबै–सबैले ध्यान दिनुपर्ने बताइन् । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले स्वास्थ्य, शिक्षा र गरिबी हिंसासँग जोडिएको हुँदा यो बिषयमा सचेतना कार्यक्रम स्कुलबाटै सुरू गर्ने बताउँदै आफैले पनि यो अभियान थालेको बताइन् । स्वास्थ्य क्षेत्रको ब्यवस्थापनमा सुधार आउनुपर्ने बताइन् । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले हिंसा न्यूनीकरणका लागि अझ बढी सचेतनाका कार्यक्रम ल्याउनुपर्ने बताइन् ।
सञ्जालका पूर्व अध्यक्ष सुष्मा गिरी, घोराही उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मोती बिश्वकर्मा, तुलसीपुर उपमहानगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख माया श्रेष्ठ, घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, राप्ती गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख कल्पना खनाल, मानवकल्याणका अध्यक्ष निर्मला गौतम रेग्मी, ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आस्मानी चौधरी, महिला अधिकारकर्मी कृष्णा चौधरी, स्वास्थ्यकर्मी राधा पौडेल, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन गौतम, जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद्बहादुर शाहीलगायतले महिलामाथि हुने हिंसाले स्वास्थ्यमा गम्भीर खालको असर पर्ने भन्दै त्यसबाट बच्नका लागि सबैले सचेतना अपनाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।