मतदाता नामावली अद्यावधि गरिने

गोरक्ष समाचारदाता
दाङ, ९ भदौ । आउँदो संघ तथा प्रदेशको निर्वाचनलाई फोटोसहितको मतदाता नामावलीको अद्यावधि गरिने भएको छ । निर्वाचन आयोगले आउँदो संघ तथा प्रदेशको निर्वाचनका लागि मध्यनजर गर्दै यस प्रकारको कार्य गर्न थालेको हो ।

प्रदेश निर्वाचन कार्यालय दाङले मतदाता नामावली अद्यावधि कार्यक्रमसम्बन्धी गरेको कार्यक्रममा यस्तो जानकारी दिएको हो । मृत्यु भइसकेपछि मतदाता नामावलीमा नाम रहिरहेकाहरुको नाम हटाइने भएको छ । यसका लागि यही भदौ १३ देखि १५ गते हटाउनका लागि जानकारी दिनुपर्ने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिए ।

स्थानीय तहमा रहेका वडा कार्यालयहरुले मृत्यु भएर मृत्यु दर्ता गराएकाहरुको जानकारी गराइदिएर सहयोग गर्न समेत उनले आग्रह गरे । सबैको सहयोग भएमा मात्र यस प्रकारको काम गर्न सकिने उनको भनाइ रहेको छ । मृत्यु भइसकेकाहरुको समेत मतदाता नामावलीमा हुँदा संख्या मात्र बढी हुने गरेका छन् । अहिले एउटै वडामा एक स्थानबाट अर्को स्थानमा नाम सार्न मिल्ने छ भने वडाभन्दा बाहिर पाइने छैन । आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने सूचना अधिकारी कुवरले बताए ।

जिल्लामा संघ र प्रदेशको निर्वाचनका लागि १ सय ५३ वटा मतदान स्थल र ४ सय ६८ मतदान केन्द्र रहने उनको भनाइ रहेको छ भने ४ लाख १९ हजार ४ सय बढी मतदाता रहने भएका छन् । निर्वाचनको मिति घोषणा भइसकेपछि अहिले फोटोसहितको मतदाता नामावली संकलन समेत बन्द रहेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले निर्वाचन आयोगले थालेको कार्यमा सबैले सहयोग गर्नुपर्ने बताए । यसका लागि जनप्रतिनिधि, राजनीतिक नेतृत्व, कर्मचारी, नागरिक समाज, सञ्चार क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन आयोगले अद्यावधि गर्न थालेको कार्यमा सहयोग गर्नुपर्ने सबैको दायित्व रहेको बताए । वडा कार्यालयहरुसँग मृत्यु भएकाहरुको रेकर्ड रहने भएकाले यसमा विशेष ध्यान वडा कार्यालयहरुले दिनुपर्ने उनको भनाइ रहेको छ । निर्वाचनको महाअभियान सबै मिलेर सफल बनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । उनले मृत्यु भएका व्यक्तिहरुबारे वडा कार्यालयलाई जानकारी सहजै हुने भएकाले तोकिएको समयसीमामा मृत्यु भएका व्यक्तिहरुको लगत कट्टा गरेर निर्वाचन कार्यालयमा पठाउन पनि प्रमुख जिल्ला अधिकारीको आग्रह थियो ।

पत्रकार शरद अधिकारीले मत बदर हुन नदिका लागि मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्ने बताए । नागरिकहरुलाई सहज हुने गरी मतदानस्थल बनाउनुपर्ने उनको भनाइ रहेको थियो । कार्यक्रमको सहजीकरण प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण भण्डारीले गरेका थिए ।