परिवार नियोजनको प्रदेश समीक्षा
अमरराज आचार्य
दाङ, ९ भदौ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएर प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । नेपाल परिवार नियोजन संघ केन्द्रीय समितिको आयोजना तथा जिल्ला शाखा दाङको आतिथ्यमा घोराहीमा आयोजित प्रदेशस्तरीय परिवार योजना, यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले यस्ता बताएका हुन् ।
‘नागरिकको स्वास्थ्यप्रति प्रदेश सरकार गम्भीर रहेको छ’, मन्त्री थारुले भने । यसका लागि सरकारले स्वास्थ्य क्षेत्रमा देखिने समस्याका बारेमा अनुसन्धान गरेर अगाडि बढ्ने बताए । ‘प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा के कसरी अगाडि बढ्ने भनेर योजना निर्माण गरेर अगाडि बढ्छ’, उनले भने । अहिले संघीय सरकारले सशर्त सहितको कार्यक्रमहरुलाई अगाडि बढाइएको भन्दै आउँदा दिनमा प्रदेश सरकारले आफ्नै योजना निर्माण गरेर अगाडि बढ्ने उनको भनाइ रहेको छ । नागरिकहरुले पनि आफ्नो स्वास्थ्यप्रति ध्यान दिन आवश्यक रहेको बताए । ‘जान्दा जान्दै पनि लापरबाही गर्ने प्रवृत्ति रहेको छ’, मन्त्री थारुले भने । यसले नागरिकलाई नै समस्यामा पार्दछ ।
असुरक्षित गर्भपतन बढ्दै गएको भन्दै यसलाई रोक्नुपर्ने बताए । यसका बारेमा सचेतना दिनुपर्ने उनले बताए । सरकारले थालेका दिगो लक्ष्य प्राप्त गर्नका लागि हुने कार्यक्रमसमेत प्रभावकारी हुन नसकेको उनले बताए । त्यस प्रकारका कार्यक्रमहरुको बारेमा अध्ययन गर्न आवश्यक रहेको समेत बताए । नेपाल परिवार नियोजन संघले स्वास्थ्य क्षेत्रमा धेरै राम्रा काम गरेको समेत बताए । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा काम गर्न संघ संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने समेत बताए ।
‘सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्दा प्रभावकारी हुनेछ’, उनले भने । प्रदेशसभा सदस्य दामा शर्माले गैर सहकारी संघसंस्थाहरुले पनि धेरै काम गरेको बताइन् । दातृ निकायको सहयोगमा पनि उनीहहरुले धेरै राम्रा काम गरेको उनको भनाइ रहेको छ । यसरी काम गर्ने संघसंस्थाहरुलाई राज्यले सहयोग गरेमा नागरिकहरुले सहजरुपमा सेवा पाउन सक्ने बताइन् ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले नेपाल परिवार नियोजन संघले स्वास्थ्यको क्षेत्रमा धेरै राम्रो काम गरेको बताए । नागरिकलाई सचेतना तथा उपचारमा समेत सहयोग गदै आएको उनको भनाइ रहेको छ । ‘समुदायमा स्वास्थ्य सेवा दिन परिवार नियोजन संघले महत्वपूर्ण भूमिका खेलेको छ’, उनले भने । जिल्लामा आफूले भूमिका निर्वाह गर्न आफू तयार रहेको उनको भनाइ रहेको थियो । प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले गुणस्तरीय सेवा प्रदान गर्न सरकार लागिपरेको बताए ।
‘नागरिकलाई गुणस्तरीय सेवा दिन सरकारले प्राथमिकता दिएको छ’, सचिव देवकोटाले भने । यसका लागि सरकारले काम गर्दै आएको समेत उनको भनाइ रहेको छ । ल्याव, स्वास्थ्य भवन तथा अन्य आवश्यक पर्ने सामग्री सहयोग गर्दै आएको उनले बताए । नागरिकहरुको सोचमा परिवर्तन हुन जरुरी रहेको सचिव देवकोटाले बताए । यसका लागि सचेतना दिनुपर्ने देवकोटा बताउँछन् । ‘जसले गर्दा स्वास्थ्यको कभरेज बढ्ने छ’, सचिव देवकोटाले भने । सरकारले सबैसँग सहकार्य गर्दै अगाडि बढ्दै आएको र आउँदा दिनमा पनि निरन्तरता दिने उनले बताए ।
घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले स्वास्थ्य क्षेत्रको विकासमा सबै सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताइन् । सहकार्यका लागि उपमहानगरपालिका तयार रहेको उनको भनाइ रहेको थियो । नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीले सामाजिक संघसंस्थाहरु समाज विकासको लागि काम गर्ने भएकाले राज्यले पनि सहकार्य गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले समय अनुसार प्रविधिको प्रयोग गरेर सेवा दिन सक्नुपर्ने बताए । यसले सेवालाई गुणस्तरीय बनाउन सहयोग पुग्ने उनको भनाइ रहेको छ ।
नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कशजुले स्वास्थ्य क्षेत्रमा काम गर्न आफूहरु तयार रहेको बताए । आफूहरुसँग स्वास्थ्य क्षेत्रका काम गर्नका लागि जनशक्ति तथा भवनहरु रहेको समेत बताए । ‘राज्यसँग सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा काम गर्न तयार रहेका छौँ’, कशजुले भने । दातृ निकायको सहयोगले अहिले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए । कार्यक्रममा विषयबारे जानकारी केन्द्रका कार्यकारी निर्देशक नरेशप्रताप केसीले गराएका थिए ।
सो अवसरमा परिवार नियोजनसम्बन्धी नेपालको अवस्था, स्रोत परिचालन तथा परामर्शदाता सुभाषचन्द्र श्रेष्ठ र नेपाल परिवार नियोजन संघका कार्यक्रम अधिकृत जमुना सिटौलाले तथा लुम्बिनी प्रदेशको परिवार नियोजन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी प्रदेश निर्देशनालयका कौशल भण्डारीले गराएका थिए । संघका केन्द्रीय उपाध्यक्ष निर्मला गौतम रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण परिवार नियोजन संघ दाङका सचिव माया पोख्रेलले गरेकी थिइन् ।
प्रदेश सरकारको प्रतिबद्धता
यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारमा सबैको पहुँच पु¥याउन लुम्बिनी प्रदेश सरकारले प्रतिबद्धता व्यक्त गरेको छ । प्रदेश सरकारका मन्त्री चौधरीले प्रतिबद्धता व्यक्त गरेका हुन् । लुम्बिनी प्रदेशका प्रजनन् उमेर समूहका सबै व्यक्तिहरु, विशेषगरी सीमान्तकृत र जोखिममा परेका समुदायका सबैमा गुणस्तरीय यौन तथा प्रजनन् स्वास्थ्य सेवा र सूचनाको पहुँच पु¥याई विद्यमान शिशु, बाल तथा मातृ मृत्युदरलाई उल्लेख्यरुपमा घटाउन र परिवार नियोजनको आधुनिक साधनको मागलाई पूरा गर्न प्रतिबद्धता जनाउँदै परिवार नियोजन र यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा लुम्बिनी प्रदेशलाई आवश्यक पर्ने बजेट विनियोजन गर्न आवश्यक पहल गर्ने भन्दै प्रतिवद्धता जनाएका हुन् । लुम्बिनी प्रदेशका यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारसम्बन्धी नीतिहरुको तर्जुमा र परिमार्जन गरी अझ व्यावहारिक रुपमा कार्यान्वयनको सुनिश्चितता गराउने आफ्नो प्रतिबद्धता रहेको उनीहरुको अठोट छ ।