भुवन पोख्रेल
विधिको विधानका अगाडि लाखौँ शुभचिन्तकले गरेका कामना र प्रार्थनाले पनि काम गरेन । अन्ततः मृत्युसँगको लडाइँमा सरल र वैचारिक नेताले हार खाए । प्रदीप गिरीको निधनबाट नेपाली कांग्रेसमा मात्र होइन, सिङ्गो नेपाली राजनीतिमा समेत विचार र राजनीति बुझ्ने अध्ययनशील, बौद्धिक प्रखर लोकतान्त्रिक समाजवादी कटुआलोचकको अभाव खड्किएको छ ।
भारतको दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) बाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका प्रदीप गिरीको ज्ञानको र बौद्धिकताको कदर विपक्षी दलहरुले पनि गर्दथे । प्रदीप गिरीले आजीवन आफूलाई राजनीतिज्ञका रुपमा उभ्याउनुभयो तर सत्ता उहाँको साध्य थिएन । राजनीति उहाँको साधना हतियार थियो । प्रदीप गिरीको रुची क्रमशः साहित्य, अध्यात्म, राजनीति थियो तर उहाँको राजनीतिक व्यक्तित्वले साहित्यिक र आध्यात्मिक व्यक्तित्वलाई ओझेलमा पारेको थियो । वीपी, सुवर्ण र पुष्पलालपछि बनारसको नेपाली वातावरणमा प्रदीप गिरीकै नाम आउँछ । अध्ययनमा तिक्ष्णता, संगठन गर्न सिपालु भएकाले उहाँको व्यक्तित्व निखारिँदै गयो ।
नेपालको संसदको इतिहासकै बेजोड सशक्त विचारक तथा रोचक वक्ताको त्यो बहस अब सदाकै लागि अस्ताएको छ । साच्चिकै भन्ने हो भने गिरीको विचार र वक्तव्यले संसद र समाजलाई ब्यूँझाइदिन्थ्यो । कटु आलोचना र हृदयस्पर्षी प्रस्तुतीबाट उहाँले मुलुकमा भइरहेको कुशासन, भ्रष्टाचार, वेथितिलाई उदाङ्गो पारिदिनुहुन्थ्यो । यस्तो प्रखर व्यक्तित्वलाई नियतिले छिट्टै हामी माझबाट खोसेर हरण गरिदियो । अहिलेको पद, पैसा र प्रलोभनका लागि सिद्धान्तलाई लात मार्ने समाजमा पनि उहाँ आफ्नै आदर्श, त्याग र ढिपीका एक ठिगो टापु वा प्रतीकजस्तो भएर अडिक रहनसक्नु उहाँको वैशिष्ठ्यता थियो ।
यिनै कारणले गर्दा नेपाली राजनीतिक वृत्तमा रोलमोडलका रुपमा स्थापित बन्न र राजनीतिज्ञहरुको प्रेरणाको स्रोत आकर्षण केन्द्र बन्न सम्भव भएको हो । उहाँ नेपाली राजनीतिमा युवाहरुको प्रेरक बन्नुभयो । पार्टीमा लाग्नुभयो, संसद पनि बन्नुभयो, आफ्नो पार्टी र सरकारलाई घचघचाइ पनि रहनुभयो । साथै यो सन्देश बाहिर जनसमुदायमा पनि प्रवाहित गर्दै रहनुभयो तर पार्टीमा सर्वोच्च नेतृत्वको आकांक्षी नहुनु, पदको दौडमा नलाग्नु एवम् कुनै सरकारी ओहदा पनि नसम्हाल्नुको प्रमुख कारण उहाँका हकमा वैयक्तिक स्वतन्त्रता नगुमोस् भन्ने त थियो नै तर यति मात्र थिएन, अहिलेको यो पार्टीबाट समाजवादी नीित तथा कार्यक्रम फेरि शुभाराम्भ होला भन्ने सपना बिर्सेर पनि नदेखिकन पनि दृढसंकल्प हुनसक्छ ।
प्रदीप गिरी बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । मधेस र पहाडबीचका उहाँ बहुआयामिकताका कारण सेतु हुनुहुन्थ्यो । पार्टीभित्र पनि एक्लै हिड्न सक्ने, सत्ताको स्वार्थ नभएका भिन्न सोच भएका स्वतन्त्रता, अन्याय विरुद्ध, मानवअधिकार तथा मर्यादित जीवनका लागि लडिरहने अथक योद्धा र युगपुरुष हुनुहुन्थ्यो । संकीर्ण दलीय घेराभित्र सीमित रहने आम राजनीतिज्ञको जस्तो विशेषता प्रदीप गिरीको व्यक्तित्वमा कहिल्यै देखिएन । प्रदीप गिरी खास गरी राजनीतिकर्मी कम र विचारक ज्यादा प्रखर भएका व्यक्तित्वको रुपमा हामी चिन्दछौँ । प्रखर समाजवादी चिन्तकका रुपमा उनको चिनारी पार्टीभित्र मात्र होइन बाहिर पनि उत्तिकै स्थापित र स्वीकार्य थियो ।
आधा शताब्दीभन्दा लामो राजनीतिक जीवनमा प्रवासदेखि जेलसम्म बसेका गिरीले राजनीति र समाज रुपान्तरणका लागि हरपल ावाज बुलन्द गरिरहे । आफ्नै पार्टी सत्तामा हुँदा किन नहोस्, लोकतन्त्र र सामाजिक न्यायका पक्षमा वकालत गरिरहे । समाज र राष्ट्रका समस्या औल्याइरहे । देशले लिनुपर्ने दिशाबारे नेतृत्वलाई निरन्तर सजग गराइरहे वा बाटो देखाइरहे । विभिन्न राजनीतिक, प्राज्ञिक र साहित्यिक अनुष्ठानदेखि संसदसम्म उनले जेजति बोले ती सबैमा आफ्नो गहिरो प्रभाव मात्र छाडेनन् सम्बन्धित सबैलाई दिशाबोध पनि गराए ।
समग्रमा उनले लोकतन्त्रलाई जीवन्त बनाइरहे । उनी पदलोलुपता नभएका राजनीतिज्ञ थिए, उनले आफ्नो भागमा आएको मन्त्री पद नखाएर सांसद र पार्टी केन्द्रीय सदस्यमा रमाए र पनि उनको राजनीतिक उचाइ अरुभन्दा उच्च रहिरह्यो । यही सच्चरित्रका कारण गिरी चीरकालसम्म हामी माझ स्मरणीय रहिरहनेछन् । राजनीति उनको कहिल्यै पेसा भएन र कहिल्यै राजनीतिभन्दा पृथक रहेनन् ।
बहुआयामिक व्यक्तित्वका धनी गिरीको भौतिक शरीर नव्यूँतिने गरी यस संसारबाट बिदा भएको छ । उनका सम्झना र सम्मानमा जनसमुदायको अपार भिडले अन्तिम बिदाई गरेको छ । राष्ट्रले गौरव गर्नलायकका एक होनहार राजनीतिक व्यक्तित्वको क्षति हुनु भनेको राष्ट्रको अपुरणीय क्षति हो । उनी राजनीतिज्ञ मात्र थिएनन् मानव अधिकारवादी थिए । उनले जातीय विभेदको निरन्तर विरोध गरे । अल्पसंख्यक तथा दलितका अधिकारका पक्षमा लागे । लैङ्गिक विभेदविरुद्ध आवाज उठाए ।
उनको राजनीतिक यात्रा निःस्वार्थ थियो । सत्यवादी तथा निडर स्वभावका प्रदीप गिरी सहज रुपमा बुझ्न सकिने व्यक्ति अवश्य थिएनन् । पछिल्लो उदाहरणमा संविधानसभबाट संविधान जारी गर्दा कांग्रेसका उनी मात्र यस्ता व्यक्ति थिए जसले हस्ताक्षर गरेनन् । संविधान निर्माणका सम्पूर्ण प्रक्रियामा भाग लिए पनि जारी गर्ने समयमा अपनत्व लिएनन् । साथै किन हस्ताक्षर नगरेका भनेर सहजै बुझ्न सकिन्छ । उनी हस्ताक्षरबाट पछि हट्नुको कारण संविधानप्रति असन्तुष्टि थियो भन्ने अड्कल लगाउन सकिन्छ । संविधानमा रहेका विभेदकारी प्रावधानमा उनको सहमति नभएको अनुमान लगाउन सकिन्छ । उनी अन्तरमनदेखि मानवअधिकारवादी थिए ।
दिवंगत गिरीप्रति समर्पित यस लेखले उनको बहुआयामिक योगदानको अवश्य न्याय गर्न सक्दैन तर म जान्ने बुझ्ने भएदेखि उनका विचार, व्यक्तित्व, चिन्तनबाट प्रभावित भएको छु । उनको सत्यवादी, निडर, निःस्वार्थ, मन्त्री पदको अफर गर्दा पनि नस्वीकार्ने स्वभावले सबै राजनीति गर्ने युवा पिढीका लागि उनी आदर्श र प्रेरणाका स्रोत बन्नेछन् । दण्डहीनता र भ्रष्टाचार तथा विभेदकारी गतिविधिले राजनीतिक व्यवस्था नागरिकबाट टाढिने उनको चिन्ताको विषय थियो ।
जनआन्दोलनका उपलब्धि गुम्नसक्ने खतरा उनले बुझेका थिए । राजनीतिक आडमा आएका अक्षम्य अपराधको संरक्षणले राजनीतिक दल मात्र होइन, व्यवस्थाप्रति नै वितृष्णा फैलने अनुमान गरेका थिए । हत्या आरोपितले प्रतिनिधि सभाको नेतृत्व गरिरहँदा द्वन्द्वपीडितमाथि परेको पीडाप्रति उनी चिन्तित थिए । उनी निष्ठाका प्रतीक र राजनीतिक कटुआलोचक थिए । प्रदीप गिरीका अनुसार दुनियाको घनघोर दक्षिणपन्थीदेखि समाजवादी क्रान्तिसम्म युवाले नै गरेको हो ।
युवाले परिवर्तनको चाहना त गर्छन् तर त्यो परिवर्तनको नेतृत्व गान्धीले गर्छन कि गोड्सेले ? हिट्लरले गर्छन् कि लेनीनले ? नेपाली युवाले यो सवाल पक्रेको देखिन्न । जुन समाजलार्य नायक चाहिन्छ त्यो आगामी समाज हो । समकालीन राजनीतिमा कोही यस्तो थियो जसलाई पदको आशक्ति कहिल्यै भएन । मन्त्री बन्नुपर्ला भनेर तर्सिरह्यो । रुची साहित्य र अध्यात्ममा तर कर्म राजनीति पनि । राजनीतिमा वैचारिक तरंग सिर्जना गर्नु मार्गनिर्देशन गर्नुको कर्म बाहेक सनातन राजनीतिमा मोह नभएका पात्र थिए, प्रदीप गिरी ।
जो कहिल्यै मन्त्री भएनन्, पार्टीको नेतृत्व के पदाधिकारीभित्र पर्ने यच्छा देखाएनन् । त्यस्ता विरलाकोटी राजनीति व्यक्ति भौतिक रुपमा ओझेल परे पनि उनको वैचारिक आलोकले सधैँ नेपाली राजनीति परिदृश्यमा उज्यालो छर्दै जानेछ । माक्र्सवादका धुरन्धर विद्वान् पार्टीगत हिसाबमा कम्युनिस्ट होइनन् कांग्रेस थिए तर पार्टीभन्दा माथि उठेर उनी सबैका प्रिय र सम्मानित व्यक्तित्व थिए । उनको बहुआयामिक व्यक्तित्व नेपाली कांग्रेस पार्टीको सीमित घेरभित्र खुम्च्याउनुभन्दा दक्षिण एसियाकै राजनीतिक वृत्तमा समेट्नु न्यायसंगत हुन जान्छ । अहिले नेपाली कांग्रेसको मात्र क्षति भएको छैन, सिङ्गो दक्षिण एसियाको राजनीतिक तारा अस्ताएको छ । उनको अपुरणीय क्षतिले देशभित्र मात्र होइन विदेशमा समेत सबैलाई स्तब्ध तुल्याएको छ ।
राजनीति र त्यसमा पनि समाजवादी दृष्टि, अर्थराजनीति, इतिहास, दर्शन, धर्मसंस्कृति, अध्यात्म, साहित्यमाथि गिरी जति पनि प्रवचन दिन सक्थे उनको विद्वत् ज्ञानको चुम्बकीय वाककलाले जोकोहीलाई आकर्षित गर्दथ्यो । बोलीमा एक किसिमको दाजुयी क्षमताका धनी थिए, उनी । अध्ययन, अध्ययन अनि अध्ययन, व्याख्या, विश्लेषण, आलोचना, लेखन उनको रुचिका विषय थिए । आफ्ना ज्ञानगुनलाई पनि उनले दर्जन पुस्तकमा उतारिसकेका छन् ।
नेपाली सहत्यि वृत्तमा गुन लगाउन भ्याइसकेका छन् । प्रदीप गिरीले हिडेको राजनीतिक बाटोलाई आजको राजनीतिले पनि कतै पछ्याएको भेनिन्न । उनी एक्लो वृहस्पति थिए । उनको जीवन शैली अध्यात्मबाट प्रभावित भए पनि होला पूरै सादगी र फकिरको जस्तो थियो । उनमा अध्यात्मको भोक जागिरह्यो । प्राज्ञिक व्यक्तित्वको हैसियतले संसदमा आफ्नो अन्तरमनको आवाज बोलिरहे । आफ्नो पार्टी सरकारमा छ कि विपक्षी छ त्यसको ख्याल उनले कहिल्यै राखेनन् ।
प्रदीप गिरीले महाभारत, पुराण, माक्र्स, गान्धी, वीपी, संगीत, सहत्यि, कला, संस्कृति अध्ययन गरेर आफ्नो व्यक्तित्वमा निखार गर्नुभयो । यो ज्ञानले प्रज्ञा थपिदियो, उहाँमा र राजनीतिक संस्कार पनि थपियो । त्यो बन्यो सबैको लागि प्रेरणा र आदर्श । क्रमभङ्ग वा क्रान्ति समेत भन्ने गरिएको अहिलेको राजनीतिक परिवर्तन व्यवहारमा कतिसम्म, मनपरीतन्त्र तथा भ्रष्टाचारमय भइरहेको छ । सबै उदाङ्गो पार्नसक्ने व्यक्तित्व अब हाम्रो सामू छैनन् ।
राम्रा, योग्य, समर्पित मान्छे दैवलाई पनि छिट्टै चाहिन्छ भने जस्तै नियतिले कसरी अप्रत्यासित रुपमा हरण गरिदियो ? एक शीर्ष तथा अथक लोकतान्त्रिक योद्धा, स्वतन्त्र तथा प्रखर विचारक माक्र्सवाद तथा समाजवादका सर्वराजनीतिक खेमाप्रिय व्याख्यता, सत्तामोहबाट टाढै रहने साधक हुन् । मानिस दिवंगत भइसकेपछि मात्र उसका राम्रा पक्षको चर्चा गरिन्छ । जीवित छँदासम्म प्रशंसाका शब्दहरु खर्चन कन्जुस्याइ गरिन्छ । सत्य अँगाल्ने आदर्श व्यक्तिलाई एक्लो पारिन्छ ।
उनका व्यक्तिगत कमजोरी नभएका होइनन् । उनको आफ्नै स्वभाव थियो । आफू स्वतन्त्र र स्वच्छन्द जीवन बिताउन चाहन्थे । उनले फकिरको जस्तो सादगी जीवन बिताउँथे । उनको बौद्धिक छवि यति प्रदीप्त थियो कि त्यसका अगाडि उनका केही कमजोरीहरु पनि स्वतः छायाँमा पर्थे र परिरहेका छन् । बौद्धिक विमर्ष र वैचारिक बहसमा गिरी जसरी खरो उत्रिए त्यो उनले कमएको पुँजीमात्र होइन नेपाली समाज र राजनीतिमा छोडेर गएको नासो पनि हो । आस्थाको दियो निभे पनि त्यसले छरेको उज्यालो अस्ताउनु हुँदैन नेपाली राजनीतिक परिदृश्यमा ।
शोकको यस घडीमा उनलाई सम्झनामा लेखहरु लेख्नु, श्रद्धाञ्जलीका शब्दहरु अर्पण गर्नु, सामाजिक सञ्जालमार्फत् संवेदनाका भाव प्रकट गर्नु फगत औपचारिकता पूरा गर्नेमा मात्र सीमित हुनु हुँदैन । उनको आस्था र विश्वासको उज्यालो दियोमा तेल थप्दै नेपाली राजनीति र समाजले आफ्नो गन्तव्य पहिल्याउने प्रण गर्नु पर्दछ । गिरी हामी माझ भौतिक रुपमा अस्ताए पनि उनको योगदान र विचारको आलोकले नेपाली राजनीतिमा हमेसा बाटो देखाइरहनेछ ।
पद, प्रतिष्ठा, पैसाका निम्ति राजनीतिलाई कमाइ खाने भाँडो बनाइरहेका भ्रष्ट नेतृत्वहरुका लागि गिरीको सादगी जीवनले दह्रो झापड हानेको छ । राजनीतिलाई पेसा बनाएर पद र कुर्सीमा लिसो लागेर चुम्बकझैँ चेप्टिनेहरुले गिरीको सरल, सादगीय व्यक्तित्वबाट पाठ सिक्नुपर्छ । उनले राजनीतिलाई अवसरको रुपमा कहिल्यै हेरेनन्, राजनीतिलाई कमाइखाने पेसा कहिल्यै बनाएनन् । बरु आफ्नो सम्पूर्ण जीवनलाई राजनीतिमा अर्पण गरेर सदाका लागि ध्रवतारा बनिरहे ।