बाख्रपालनबाट आम्दानी गर्दै गीता…

दाङ, ८ भदौ । लमही नगरपालिका–१ सुनडबरी निवासी गीताकुमारी चौधरी ८ वर्ष अगाडि निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध भइन् । सामान्य गृहिणीका रुपमा रहेकी चौधरीले त्यसअघि घर व्यवस्थापनको काम मात्रै गर्थिन् । उनका श्रीमान, दुई छोरी र एक छोरा छन् ।

श्रीमान पेशाले शिक्षक हुन् । जागिरे श्रीमान, छोराछोरी हुर्किसकेपछि उनलाई पनि केही काम गर्ने सोच पलायो र उनले बाख्रापालनतर्फ लागिन् । ‘सुरुमा घरको काम मात्रै गर्ने गरेका कारण के व्यवसाय गरौँ भन्ने लागेको थियो’, उनले भनिन्– ‘पछि बाख्रापालन व्यवसाग गर्ने योजना बनाएर काममा लागे ।’ गाउँमा रहेको सहकारीले कृषि व्यवसायमा लाग्नेलाई सहुलियतमा ऋण दिने गरेको थियो ।

गाउँमा युवाहरु आधुनिक कृषितिर लागेर बाख्रापालन, दूध, तरकारी खेतीबाट राम्रो आन्दानी गरेको देखेपछि गीता पनि बाख्रापालन व्यवसायमा लागेको बताइन् । त्यसका लागि उनीसँग पैसा थिएन । निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट ३ लाख रुपैयाँ लिएर एक वर्ष अघिदेखि चिसापानी बाख्रा फर्म दर्ता गरेर व्यवसाय सुरु गरेको उनको भनाइ छ ।

‘व्यवसाय गर्ने सोच त बनाए तर गर्नलाई पैसा थिएन’, उनले भनिन्– ‘आफूसँग पैसा नभएपछि गाउँमा रहेको सहकारी संस्थाबाट ऋण लिए ।’ सहकारीबाट ल्याएको पैसाले दुईवटा व्यवस्थित खोर बनाएर एउटा खोरमा माउ बाख्रा र अर्कोमा साना पाठापाठी राख्ने गरेको उनले बताइन् । उनको खोरमा अहिले साना–ठूला गरेर ८० वटा बाख्रा रहेको बताउँछिन् । यसलाई बढाउँदै लग्ने सोच उनमा छ ।

गत बर्षको दशैँमा मात्र उनले १० वटा खसी १ लाख ८६ हजार रुपैयाँ बराबरको मूल्यमा सहकारीमार्फत बेचेकी थिइन् । व्यवसाय राम्रो बन्नका साथै आम्दानीसमेत राम्रो हुन थालेपछि उनले बाख्रा फर्ममा काम गर्नका लागि २ जनालाई रोजगारसमेत दिएकी छिन् । बाख्रपालनबाट राम्रो आम्दानी लिइरहेकी गीता भन्छिन्– ‘गाउँमा बाख्रापालन गरेर अरुले राम्रो आम्दानी गरेको देखेर लागेको हुँ, अहिले आफ्नो व्यवसायबाट खुशी छु । त्यसलाई बढाउँदै लग्ने सोच छ ।’

उनले जिल्लामा बाख्रा बिक्रीका लागि समस्या नभएको बताइन् । सहकारीले जति पनि बिक्री गरिदिन्छ । व्यवसाय गर्न चाहनेका लागि सहुलियत व्याजदरमा ऋण पनि दिइरहेको छ । उनले आफूजस्ता महिला तथा युवाहरुलाई घरमै बसेर खाली समय कटाउनुभन्दा केही न केही व्यवसाय गर्नका लागि सुझावसमेत दिन्छिन् ।

पछिल्लो समय आफ्नो कामबाट घर–परिवार सन्तुष्ट रहेको र फुर्सदको समयमा सहयोगसमेत गर्दै आएको बताउँछिन् । सहकारीलाई हाल हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङले एसएलभिसी–२ परियोजनामार्फत सहयोग गर्दै आएको छ ।