मेरो खुसी : कार्यपालिका सदस्य बन्दा …

मान्छेको सरदर आयुले उनलाई उत्तरार्धतिर पु¥याउँदै छ, तर उनका रहर त्यत्तिकै छन् । भर्खरै मात्र जनताको अदालतमा उभिने मौका पाएका छन् । पास फेलको समय अझै भएको छैन । पाँच वर्षपछि कार्यकाल सकिँदै गर्दा प्रश्न गर्न सकिएला ‘पाँचवर्षे कार्यकालको मूल्याङ्कन पास कि फेल ? तर मंगलवार मेरो खुसीको लागि यो पंक्तिकार गफिन खोज्दा मानबहादुर विश्वकर्माले भने, ‘मेरो भूमिकाअनुसार उत्तीर्ण नै हुन्छ ।’

२०७४ र २०७९ को स्थानीय तहको चुनावमा घोराही उपमहानगरपालिका वडा नं १८ को वडाको अध्यक्षको टिकटको रेशमा थिए । दुवै रेशमा उनलाई अर्को साथीले नै उछिन्दै टिकट पाए तर उनले मन कमजोर पारेनन् । पार्टीले जुन जिम्मेवारी दियो, त्यसैमा खटे र दुई पटक नै साथीलाई चुनाव जिताएर पठाउने भूमिका खेले । त्यो भूमिकाको मूल्याङ्कन गरेर उनलाई पार्टीले जेठ २८ मा एउटा खुसीको दियो, ‘कार्यपालिका सदस्य’ । त्यो नै उनको जीवनको सबैभन्दा खुसीको क्षण भएको छ ।

राजनीतिप्रति पूर्ण चेत छन्, उनी । प्रवासमा बसेर राजनीतिक सुरुवात गरेका थिए । २०६३ सालमा नेपाल फर्केपछि यहीँ आएर पार्टी र संगठनमा बसेर काम थाले, जुन आजसम्म पनि निरन्तर नै छ । नेपाल फर्केपछि नेपाल उत्पीडित जातीय मुक्ति समाज दाङको सदस्य भएर काम गरे । मुक्ति समाजको सदस्य, अध्यक्ष र इञ्चार्ज भएर समेत काम गरेका छन् । अहिले पनि उनी समाजको सचिवालय सदस्य र जिल्लाको इञ्चार्ज छन् । नेकपा एमाले दाङको सचिवालय सदस्य समेत छन् । पार्टीको जिल्ला कमिटीमा बसेर काम गरेको पनि धेरै नै भइसकेको छ ।

चुनाव अघि कहीँ न कहीँ व्यवस्थापन गर्ने शर्तमा उनलाई मनाउने काम भएको थियो तर चुनावको परिणाम यही नै आउँछ भन्नेमा उनी पनि ढुक्क थिएनन् । एकातिर गठबन्धनसँग चुनाव लड्नुपर्ने थियो तर घोराहीमा चुनावी परिणाम राम्रो नै आयो । उनको वडा सहित बहुमत वडा, मेयर र उपमेयर एमालेले नै जित्यो र उनी कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित नै भए । ‘जुन दिन म घोराही उपमहानगरपालिका कार्यपालिका सदस्यमा निर्वाचित भएको घोषणा भयो । त्यो क्षण बेग्लै खुसी प्राप्त भएको थियो’, उनले भने, ‘त्यही नै मेरो खुुसी लेखिदिनुहोला ।’

विन्दुको अभावमा रेखागणित वा वीजगणित खडा हुँदैन तर विन्दुको ठोस अस्तित्व के हो त ? यो कुनै छाम्ने, तौलिने कुरा होइन ।’ तर यो पटक उनलाई पार्टीले केही भूमिका दिएर जनताले जाँच गर्ने ठाउँमा पु¥याएको छ । जीवन उनले राम्रोसँग भोगेका छन्, त्यो पनि दलित परिवारमा जन्मेर । कुनै समय मृत्युँसँग पनि नजिकेका थिए तर दिन नआएपछि फिर्ता नै भए अर्थात बाँचे । डेढ वर्ष अघि प्रेसरले हार्नेर उनी अचेत नै भएका थिए ।

कोमामा नै बसे तर बाँचे । जुन उनको लागि अर्को खुसी भएर बसेको छ । बाँच्ने आशा कम नै गरेका थिए तर दाङमा उपचार नभएपछि कोहलपुर, नेपालगञ्जबाट काठमाडौँ लगियो । काठमाडौंमा एक साताको सघन उपचारपछि उनी होसमा आए र आज यहाँ छन् । ‘सबैको सहयोग र मायाले त्यो सघन पीडालाई जितेको छु’, उनले भने, ‘त्यो मेरो लागि अर्को खुसीको क्षण हो ।’ जन्मेको मितिभन्दा ठिक एक वर्ष जेठा भएर जन्मेका छन् नागरिकतामा ।

उनको जन्म २०२९ साल असार २० मा तर नागरिकतामा भने २०२८ साल असार २० नै लेखिएको छ तर त्यो लेख्नेप्रति पनि उनको कुनै गुनासो छैन । जे हुन्छ राम्रोका लागि नै हुन्छ । त्यही भएर उनको गुनासो छैन । बाबु भीमबहादुर सुनार र आमा लक्ष्मीका ६ सन्तानमा छोरामध्ये मानबहादुर जेठा सन्तान हुन् । त्यसैले जीवन धेरै भोगेका छन् । जन्मेको भूगोलदेखि प्रवासको भूगोल पनि राम्रोसँग छामेका छन् । औपचारिक शिक्षा धेरै छैन। तर जीवन चलाउने शिक्षा राम्रोसँग बुझेका छन् । गाउँकै विद्यालयबाट औपचारिक शिक्षा थालेका उनले मावि रझेनाबाट कक्षा ८सम्म अध्ययन गरेर औपचारिक शिक्षालाई पूर्णविराम नै दिए ।

औपचारिक शिक्षा राम्रो नभए पनि जीवन चलाउने व्यवहारिक शिक्षा भने राम्रोसँग चिनेका छन् । उनको जीवन पनि धेरै उतार चढावमै बितेको छ । ६० सालसम्म उनको जीवन पनि वक्ररेखामा नै थियो । तर त्यसपछि विभिन्न क्षेत्रमा प्रवेश गरेसँगै उनको जीवन सरल रेखामा नै छ । भाग्यविधताले जे दिन्छन् त्यही हुने हो’, उनले भने, ‘प्रवासबाट फर्केपछि आर्थिक पाटोमा सुधार भएको हो ।’ सगोल परिवारमानै छन् । भाइहरूले व्यवसाय धानेका छन् । ‘सबै राम्रोसँग चलेको छ’ उनले भने ‘त्यो कारण मैले सामाजिक क्षेत्रमा ढुक्क भएर काम गर्न पाएको छु । त्यो पनि मेरो लागि अर्को खुसीको क्षण हो ।’

मुलुकमा सशस्त्र द्वन्द्व चलेको समयमा उनले लक्ष्मीपुरको सुनपुरबाट विवाह गरेका हुन् । विवाह मागी नै हो । विवाहपूर्व चिनजान थिएन । माया प्रेम त टाढाको कुरा नै भयो । कुरा आयो र दुई तिन चरणमा संवाद भएपछि बल्ल सुनितासँग विवाह भयो र बल्यो सुनितासँग मायाको दीप । जुन अहिले पनि उज्यालो नै छ । दुईको मायाको साझी छन् एक सन्तान… ।