संस्कृतिभित्रको बाबुको मुख हेर्ने पर्व तथा हरितालिका तिज

नारायणप्रसाद श्रेष्ठ

हिन्दु संस्कारभित्रको चाडपर्व र चाडपर्वभित्रका मौलिक संस्कृतिमा स्थापित मानवीय जीवन चरित्र बनेर प्रत्येक वर्ष आउने बाबुको मुख हेर्ने पर्व तथा हरितालिका तिज पर्व अब केही दिनपछि हाम्रो घरआँगनमा भित्रिँदै छ । श्रद्धा र विश्वास जगाउँदै मान, सम्मान र अनुशासनलाई जीवनको अभिन्न अङ्ग बनाउँदै आउने यी पर्वहरुले मानवीय जीवनमा नौलो अभ्यास सिकाउँदै जानेछन् । आचरण र व्यवहारलाई परिस्कृत गर्दै सामाजिक सद्भाव बढाउन यी पर्वले हामीलाई नयाँ उर्जा दिनेछन्, यस अवसरमा हामी सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

२१औँ शताब्दीभित्रको हाम्रो सामाजिक संस्कृति आधुनिक युगसुहाउँदो हुनु कुनै नौलो विषय होइन । समय र परिस्थिति अनुकूल संस्कृति र संस्कारमा परिमार्जित हुनु यो पनि नयाँ विषय हुँदैन । अहिले हिन्दु संस्कृति र सभ्यताले सिकाएको अनुशासित जीवनशैलीमा समय सापेक्ष केही परिमार्जित हुँदैछ । परिवर्तन, समायानुकूल हुनु नराम्रो विषय पनि होइन । सूर्य उदाउँछ, अस्ताउँछ, फेरि उदाउँछ र यो फेरि अस्ताउँछ । यो नियमित प्रक्रिया हो । जबसम्म प्रकृति र यसको नियमले नियमितता पाइरहन्छ तबसम्म यो यसरी नै चलिरहन्छ ।

त्यसरी नै संस्कृति र संस्कार पनि प्रत्येक वर्ष आउँछ, जान्छ र फेरि आउँछ तर यहाँ बुझ्नुपर्ने के हो भने हामी कति अनुशासित भयौँ ? हाम्रो कर्म र व्यवहारमा कति परिवर्तन भयो ? हामीले निर्वाह गरेका र चाडपर्वले दिएका मर्यादित सन्देश कति सार्थक हुन पुग्यो ? हामीले पर्वसँग गाँसिएको सत्यलाई कति महशुस ग¥यौँ ? हामी नियमबद्ध हुन सक्यौँ वा सकेनौँ ? यो विषय निकै सुझबुझपूर्ण तरिकाले हेर्न जरुरी छ । अहिले समन्वयवादी संस्कृतिभित्रको सामाजिक संस्कृति र संस्कारमा परिमार्जन गर्ने वहानामा सामाजिक, सांस्कृतिक मनोविज्ञानमा समेत असर पर्ने गरी आधुनिकताले प्रवेश गरेको अवस्था देखापरेको छ ।

विकृति र विसंगतिको माहोलले पौराणिक सत्यभित्र लुकेको आचरण र व्यवहार परिवर्तन भइरहेको छ । मर्यादित आचरण र व्यवहारभित्रको अनुशासित जीवनशैलीमा नयाँपन देखापरिरहेको छ । खानु, लाउनु, पिउनु, मोजमस्ती गर्नु नै जीवनको उद्देश्य हो भन्दै सुखानन्दको खोजीमा सामाजिक संस्कृति बदलिँदै छ । कुन कुरा हाम्रो जीवनको लागि आवश्यक हो ? हामीले सामाजिक परिवेशमा निभाउनुपर्ने दायित्व के हो ? त्यसतर्फ ध्यान नदिइ केवल मनोरञ्जन प्रधान पश्चिमी मुलुकबाट आयातीत संस्कृति र संस्कारलाई प्रश्रय दिन खोजिँदैछ ।

पौराणिक सत्यभित्र लुकेको जीवनको यथार्थ सत्यभन्दा मानवीय सोच र चिन्तनलाई आयातीत संस्कृतिभित्र समायोजन गर्दै अघि बढ्ने संस्कृति अहिले विकसित भइरहेको छ । हिजो हामीले जुन कुरा छाडा संस्कृति भनि भन्दै आएका थियौँ, त्यही संस्कृति स्वतन्त्रताभित्र परिभाषित भइ युग सुहाउँदो सभ्यता भनी अंगीकार गरिरहेका छौँ । प्रकृतिको नियमसँग हुर्केको मानव जीवनलाई मनोरञ्जन र विलाषितातर्फ धकेलिँदै छ । आयातीत र छाडा संस्कृति नै जीवनको सुखद क्षण र उद्देश्य हुँदोरहेछ भन्ने सोच वृद्धि गरी अपवित्र आचरणले मानवीय सोच त्यतातिर आकर्षित भइरहेको छ ।

हिन्दु संस्कृति र सभ्यताले सिकाएको आचरण र पद्धतिलाई पूर्णविराम दिइ मानवीय स्वच्छतालाई क्षणिक खुसी, आवेग र सटही प्रवृत्तितर्फ रुपान्तरण गरिँदैछ । शान्ति र सद्भाव कायम गर्दै समान भाव र मानवीयता हाम्रो उद्देश्य हुनुपर्छ भन्ने मान्यतामा प्रश्न चिह्न खडा हुँदैछ । हुँदा खाने र हुनेखाने बीचको सम्बन्धमा भेदभाव पैदा हुँदैछ । चर्मदृष्टिको सुखद क्षणतर्फ बाल, युवा, प्रौढ र सबैको मानसिकता दौडिरहेको छ । मानव अन्तरनिहित दिव्यताको बोध गराइ असल आचरणको विकास गर्ने बेलामा छाडा संस्कृतिसँग मेल खाने गरी आफूलाई सटही गरिँदैछ । हिन्दु संस्कृति केही होइन भन्ने गरी अरुबाट लादिएको संस्कृतिप्रति हाम्रो ध्यान किन अकर्षित हुँदैछ ? यसतर्फ सबै गम्भीर हुनै पर्छ ।

अब केही दिनपछि भाद्र ११ गते बाबुको मुख हेर्ने पर्व हाम्रो घरआँगनमा भित्रिँदैछ । यस अवस्थामा हामीले हाम्रो अभिभावकलाई के–कसरी सम्मान र मर्यादा राख्छौँ ? वृद्ध बाआमाप्रतिको हाम्रो धारणा के–कति परिवर्तन भएको छ ? अहिले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । बाबुको त्याग र समर्पणले नै म यो अवस्थासम्म आइपुगेको छु र म पनि कसैको बाबु बनेको छु भन्ने सोच वृद्धि गर्न यस पर्वले हामीलाई के सन्देश दिएको छ ? प्रत्येकले आफूलाई बाबु सम्झेर जिम्मेवारी निभाउनु परेको छ । आमाबाबुलाई मैले पालेको छु भनेर गर्व गर्नुको बदला बाबुआमाबाट म पालिएको छु भन्दै उनै बाबुआमाको सम्पत्तिमा रजाइँ गरेर उनलाई वृद्धाश्रममा लैजाने ढृष्टता कतै हामीले गरिरहेका त छैनौँ ? अहिले गम्भीर भएर सोच्नुपर्ने भएको छ ।

बाबुआमा हाम्रा लागि ईश्वरको अर्को रुप हो भन्ने मान्यताका साथ नै यो पर्व परापूर्वकालदेखि स्वीकार गरिँदै आएको हो । तसर्थ, आफूले वृद्ध बाआमालाई दिनुपर्ने जुन संस्कार छ, त्यसमा कतै त्रुटि त छैन ? अहिले गम्भीर चिन्तन मनन् गर्नु छ । अनुशासन र मर्यादालाई ख्याल गरेर बाबुलाई जुन किसिमको श्रद्धा दिनुपर्ने हो, त्यसमा कत्ति पनि कञ्जुस्याइ नगरी अब हामीले यस पर्वलाई साच्चिकै जीवनको आदर्श बनाएर मनाउनु परेको छ । किनकि हामी सबै कसै न कसैको बाबु हौँ । हामीले गरेका कर्म र व्यवहार हाम्रा सन्ततीका लागि मार्गदर्शक बन्नसक्छ । तसर्थ, सबैले सोचौँ, बुझौँ क्षणिकतामा होइन निरन्तरतामा आधारित सत्यतालाई अँगाल्दै अगाडि बढौँ ।

अर्को चाड हरितालिका तिज अब केही दिनपछि २०७९ भाद्र १४ गतेका दिन आउँदै छ । तिज भित्रन केही दिन हुँदा नहुँदै अहिलेदेखि तिजको रमझम जताततै घन्किन सुरु भइसकेको छ । प्रत्येक टोल, होटल, रेष्टुराँ, पार्टी प्यालेसमा नानातरिका गरगहना र कपडाले झकिझकाउ भएर दिदीबहिनी, दाजुभाइसमेत मस्तसँग झुमिरहेको देखिन्छ । तिज आउनु केही समय अघिदेखि नै आफ्ना साथीभाइ, इष्टमित्र, संगीनीसँग प्रत्येकदिनजस्तो दिदीबहिनीहरु तिजको दर खाने भन्दै रमाउँदै नाचगान गरिरहेका छन् ।

‘तिज आयो भन्छन्, सबै माइत जान्छन्, म चेलीको को छ र, माइत जाउँ ?’ करुणरसले भरिएको गीतभन्दा ‘हङकङको साडीले धुलो उडायो …., हाय मेरो फरिया, झन माथि सा¥यो झन झन तल झर्छ …’ जस्ता गीतले प्राथमिकता पाइरहेका छन् । वर्ष दिनपछिको भेटमा आमाछोरीले आ–आफ्ना कथा र व्यथा सुनाउँदै विश्राम लिने र तिजको अघिल्लो दिन मीठो मसिनो खाइ उत्तम वरको लागि तिजको ब्रत बसेर रमाउने तिज पर्वमा दुःख र वेदनाले भरिएका गीतसंगीत घन्काउँदै मनाए पनि केही हदसम्म ठिकै मान्न सकिन्थ्यो तर त्यसो नभइ मनोरञ्जनप्रधान भएर यो पर्व मनाउँदै गरेको देखिन्छ ।

यदि यसरी नै पर्वलाई मनोरञ्जनात्मक आचरण र व्यवहारतर्फ आकर्षित गर्दै भड्किलो र खर्चिलो पाराले मनाउँदै जाने हो भने समाजमा हुने खाने र हुँदा खानेबीचको खाडल झन बढ्दै आपसी सम्बनधमा चीसोपल नबढ्ला र ? हाम्रो तिज पर्वको संस्कृतिसँग लुकेको आदर्शता कसरी सुन्दर होला ? पश्चिमी मुलुकको देखासिकी गरेर क्षणिक आनन्द र मोजमा जीवनलाई उत्साह गराउँदै लैजाने हो भने यो पर्वको महत्व कति रहला ? अहिले देखासिकीले पनि ऋण काढेर पर्वलाई तडकभडक गरेर रमाउँदै मनाउँदै गरेको देखिन्छ ।

त्यसले पछि कस्तो रुप लेला ? संस्कृति बचाउने नाममा पाश्चात्य संस्कृतितर्फ मौलिक संस्कृतिलाई रुपान्तरण गर्ने हो भने हाम्रो स्वाभिमान कति उच्चादर्शउन्मुख होला ? तसर्थ, यस अवस्थामा पर्वलाई यसको सत्यसँग जोडेर मनाऔँ । पार्वतीले महादेव स्वामि पाउँ भनी जुन किसिमको तप, ध्यान गरेर यो पर्वको सुरुवात भएको मान्यता छ, त्यही अनुरुप अहिले पनि उत्तम वर पाउन त्यस्तै भक्ति गर्नुपर्छ भन्ने मान्यता नराखे पनि यसले सिकाउन खाजेको आदर्शलाई आत्मसात गरेर पर्वलाई हुँदा खाने र हुँने खानेबीचको भेद नहुने गरी सौहार्दपूर्ण वातावरणमा मनाउने व्यवहार गरौँ । अहिलेको आवश्यकता यही हो, चेतना भया ।