अर्काले रोपेको बाली स्याहार्न खोज्नु दुःखद् : दंगीशरण गाउँपालिका

गोरक्ष समाचारदाता
दाङ, ५ भदौ । दांगीशरण गाउँपालिका वडा नं. २ स्थित तुइसोता पुल नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले बुधवार शिलन्यास गरेकी छन् । यसलाई दंगीशरण गाउपालिकाले दुःखद तथा राजनीतिको फोहरी खेल भनेको छ ।

गाउँपालिकाका प्रमुख शम्भु गिरी र उपाध्यक्ष पिमा वली खड्काले एक विज्ञप्ति जारी गरीे पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले निर्वाचन नजिक आउँदै गर्दा पुल शिलन्यास गरेर राजनीतिक स्टन्टमात्रै गरेको जनाएका छन् ।

एउटाले रोपेको बाली अर्कै आएर स्याहार्न खोज्ने प्रवृत्तिलाई जनताले राम्ररी बुझ्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ । कोमल वलीले यहाँ ठिक त्यस्तै गरेकी छिन्, गाउँपालिकासँग समेत समन्वय नगरी कांग्रेसको पहलमा निर्मित पुल उद्घाटन गरेर भ्रम छर्ने काम भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

‘स्थानीयको आँखामा छारो हाल्न र मतदाता आकर्षित गर्ने बाहेक अरु उद्देश्य यसमा देखिएन’, गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कोमल वली र उनको पार्टीले तुहीसोतामा पुल निर्माणका लागि कुनै पहल र योगदान नै नगरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विसं २०७० सालमा कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको पहलमा तुहीसोतामा पुल परेको थियो । यो पुल २०७१ साल असार २७ गते निर्माण व्यवसायी भरत शाहले निर्माण गर्ने भनेर सम्झौता भएको थियो । डिजाइनअनुसार पुल निर्माण प्रक्रिया अगाडि नबढेपछि डिजाइन परिवर्तन गर्नुको साथै ठेकेदार शाहसँग भएको पहिलो सम्झौता रद्द गरिएको थियो ।

त्यसपछि नयाँ डिजाइनको पुल निर्माण गर्नका लागि कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी र गेहेन्द्र गिरीको नेतृत्व पटक÷पटक स्थानीय डेलिगेशन गएर पुल सदर गराएका थिए । नयाँ डिजाइनका लागि मुद्दा समेत परेको थियो । अदालतको फैसलापछि फेरि नयाँ टेण्डर भइ पुल निर्माणको काम अगाडि बढेको थियो । विज्ञप्तिमा जनाइएअनुसार २०७१ मा तुहीसोतामा पुल पर्दै गर्दा कोमल वली गायन क्षेत्र र राप्रपामा आबद्ध थिइन् । उनको त्यो पुलसँग कुनै साइनो छैन ।

‘स्थानीय सरकार र प्रमुखलाई थाहा नै नदिएर चुनाव लक्षित जस लिन अरुले गरेको काममा मनपर्दी गर्न लाज लाग्नुपर्ने हो’, विज्ञप्तिमा उल्लेख छ । यो विषयमा गाउँपालिकाको गम्भीर विमति रहेको पनि बताइएको छ । दंगीशरण–२ मा वडाध्यक्ष एमालेले जितेको छ । एमाले नेतृ वलीकै उक्साहटमा लागेर सोही वडाका वडाध्यक्षले शिलान्यासको चाजोपाजो मिलाएको पनि विज्ञप्तिमा बताइएको छ ।

आफूहरू प्रशिक्षणका लागि काठमाडौं गएको अवसर छोपी सुटुक्क पुल उद्घाटन गरेर वलीले नाटक मञ्चन गरेको पनि विज्ञप्तिमा उल्लेख छ । कूल ११ करोड लागतमा निर्माण हुन थालेको उक्त पुल निर्माण पूरा भएमा गाउँपालिकाको वडा नं. १ र २ लाई जोड्नेछ । अहिले पुल निर्माणको जिम्मा निर्माण व्यवसायी महेश सत्यबर्ती जेभी प्रालिले पाएको छ ।