वाटर पोलुशन बढ्दो

बालाराम खड्का
तुलसीपुर, ५ भदौ । कुनै बेला जिल्लाका विभिन्न खोलाहरूको पानी पिउनका लागि प्रयोग गरिन्थ्यो । त्यस्तै सर्वसाधारणले नुहाउनेदेखि कपडा समेत धुने गरेका थिए । आज भोलि भने पानी प्रदूषण बढ्दै गएको छ ।

जिल्लाका विभिन्न स्थान हुँदै बग्ने खोला र कुलाहरूमा फोहर फाल्ने डम्पिङसाइटजस्तै भएका छन् । कुला खोलामा घर तथा अन्य कम्पनी उद्योगहरूको फोहर विसर्जन गर्ने स्थान बनेको छ । यसको असर र कुला नदीमा फोहर गर्नु हुँदैन भन्ने सचेतना पनि छैन र यो गरेवाफत दण्ड जरिमाना पनि नहुने हुँदा दैनिक पानी प्रदूषण बढ्दै गएको छ ।

तुलसीपुर–४ का अभिनव खड्का उमेरले करिव ८ वर्ष भएका छन् । उनले पानी प्रदूषण भएको देख्दा निकै चिन्ता व्यक्त गरे । तुलसीपुर–३ हुँदै बजार आउने कुलोमा मरेका चल्ला, कपडा, प्लास्टिक र अन्य घरायसी फोहरहरू बगाउँदै आइएको छ । कुनै बेला स्वच्छ र सफा हुने कुलाको पानी अहिले धमिलो समेत हुने गरेको छ ।

अहिले तुलसीपुरका विभिन्न स्थानबाट बग्ने खोलाहरूमा ढल तथा शौचालय र विभिन्न फोहरहरू फाल्ने गरेका छन् । ‘शौचालय तथा अन्य फोहर कुला, नदीमा फाल्दा कुलो तथा नदीहरू प्रदूषित हुँदै गएका छन्, यसलाई रोक्ने सम्बन्धित निकायले भूमिका खेल्नुपर्छ’, स्थानीय कविता पुनले भनिन् । उनले कुलाहरूमा बगाएको फोहर पानीले खेतबारीमा ल्याउने र दुर्घन्ध फैलने गरेको बताइन् ।

यस्तै कुला नदीमा फोहर फाल्दा त्यो पानीले नुहाउँदा शरीर चिलाउने र छालासम्बन्धी विभिन्न रोग लाग्ने गरेको तुलसीपर–७ निवासी कुबेर कँवरले बताए । उनले कुनै बेला सफा र स्वच्छ हुने रानीघाट खोला पनि प्रदूषित भएको भन्दै प्रदूषण रोक्न सबै जिम्मेवार हुनुपर्ने बताए । जनसंख्या वृद्धिसँगै खोला तथा मूल वरपर बस्ती बस्नु, पानीको मुहान र खोलामा फोहर फाल्नु हुन्न भन्ने सचेतना नभएका कारण पनि प्रदूषण बढ्दै गएको जानकारहरू बताउँछन् ।

बेला–बेलामा केही ठाउँका खोला वरपर सफा हुने गर्ने गरे पनि पानीमा अन्य घुल्ने वस्नुहरू मिसाउँदा विभिन्न रोगहरू लाग्ने खतरा बढेको छ । यसरी जथाभावी फोहर फाल्ने र खोला तथा पानीमा ढलमिसाउनेहरूलाई कारबाही गर्नुपर्ने सर्वसाधारण बताउँछन् । जथाभावी प्लास्टिक, कपडाहरू कुलामा बगाउँदा पुछारमा खेती गर्ने किसानहरूलाई समस्या हुने गरेको छ । त्यस्तै अन्य सिसा, सुईहरू बगाउँदा वर्षेनी त्यसबाट धेरै मानिस घाइते हुने गरेका छन् ।