बिजौरी अस्पतालमा सुरु भो ‘जलौका कर्म’

खेमराज रिजाल
बिजौरी, ५ भदौ । तुलसीपुर उपमहानगरपालिका डुम्रीगाउँका ईश्वरीप्रसाद चालिसे खुट्टाको एलर्जीले दिक्क छन् । विभिन्न अस्पतालहरूमा छाला रोग विशेषज्ञको परामर्शमा औषधोपचार गर्दा पनि निको नभएपछि उनी यसै साता तुलसीपुर उपमहानगरपालिका—१९ बिजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा आइपुगेका छन् ।

‘यहाँ एलर्जीको उपचार जुकालाई टोकाएर गराइन्छ भन्ने सुनेर यहाँ आएको हुँ, लामो समयदेखि खुट्टामा भएको एलर्जीको समस्याले मलाई यहाँ ल्याइएको हो’, चालिसेले गोरक्षलाइ भने । आयुर्वेदका विभिन्न विधामा आफूले उपचार गराएको र यसमा पनि विश्वास भएको कारण आफू यहाँ आएको उनको विश्वास थियो । उनले यसै सातादेखि जलौका उपचार विधि (जुकाले टोकाएर शरीरको विषाक्त बाहिर निकाल्ने विधि)बाट उपचार सेवा सुरु गरेका छन् ।

बाँके जिल्लाको नेपालगञ्जकी डोल्मा सुनारलाई आफ्नो पुरानो रोग निको हुनमा आशा पलाएको छ । दुई साता अघिदेखि उनको जलौका विधिबाट उपचार सुरु भएको छ । निम्नवर्गीय परिवारकी डोल्माले यस अघि पनि धेरै सरकारी स्वास्थ्य संस्थामा धाइन्, कतै निको नभएपछि उनी तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा आइपुगेकी हुन् ।

उनी आफ्नो हातपाखुरामा भएको घाउको उपचारका लागि बिजौरी आइपुगेको बताइन् । धान गोड्ने क्रममा पाछेको पाखुरामा क्रमशः घाउ बढ्दै गयो, धेरै ठाउँ उपचार गर्दा निको भएन । ‘अलि चिलाउन कम भएको छ, आशा छ, मलाई निको हुनेछ’, जलौका कर्म पद्धतिबाट उपचार गराउँदै आएकी सुनारले पत्रकारहरूलाई भनिन् । बिजौरी स्थित सो अस्पतालले करिब डेढ महिना अघि जलौका कर्म अर्थात् जुकाले टोकाएर रगत चुसाउँदै उपचार गर्ने प्रविधि सुरु गरेपछि सुनारजस्तै कम्तिमा ४० जनाभन्दा बढीले यो सेवा पाइसकेको उपचारमा संलग्न चिकित्सक डा मदन भण्डारीले बताए ।

‘हामीले यस अवधिमा करिब ४० जनाको यही विधिबाट उपचार गर्दै आएका छौँ, धेरै पुराना इन्फेक्सन सहितका घाउहरू निको भएका छन्’, डा भण्डारीले भने । खासमा लामो समयको घाउ, छालाका विभिन्न दीर्घ समस्या, डण्डिफोर, शोरियाशिस, रक्तनली अवरोध हुने समस्यालगायतका रोगहरूमा जलौका विधिबाट उपचार सम्भव हुने पनि उनको भनाइ थियो । उनको भनाइमा यो फरक प्रजातिको जुका हो । जसले शरीरमा कुनै खराब गर्दैन, शरीरमा भएको खराब रगत मात्रै आफूले चुसिदिन्छ र रोग निको हुन सहयोग पु¥याउँछ ।

भारतबाट काठमाडौं हुँदै यहाँ ल्याइएको यो जुका हिरूडो मेडिसाइनल्स प्रजातिको हो । एक जना बिरामीको उपचारका लागि कम्तिमा ३ देखि ५ वटासम्म जुकाले टोकाइन्छ । अवस्था हेरेर हरेक ५ दिनमा यो प्रक्रिया दोहो¥याउन सकिने पनि ती चिकित्सकले बताएका छन् । अहिले यो प्रविधिबाट उपचार गराउन अस्पतालले ५५ वटा जुका ल्याएर पालेको छ । लेउ खुवाएर जुकालाई पालिँदै आएको अस्पतालले जनाएको छ ।

बिरामीको अवस्था, आवश्यकता हेरेर जुकाको संख्या पनि बढाउँदै लैजाने अस्पतालका निमित्त निर्देशक डा सन्तोष ठाकुरले बताएका छन् । एउटा जुकाको मूल्य तीन सय रूपैया पर्ने पनि अस्पतालले जनाएको छ तर बिरामीलाई आवश्यकताअनुसार एक सय रूपैयाँ शुल्कसम्म लिइने गरेको सो अस्पतालले जनाएको छ । अस्पतालमै भर्ना भएका बिरामी तथा न्यून आय भएका बिरामीहरूलाई निःशुल्क रूपमा पनि यो सेवा दिइँदै आएको बताइएको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालयमा जलौका अर्थात् लिच थेरापीबाट उपचार सेवा दिन सुरु गरेपछि अहिले बिरामीहरू सेवा लिन आउने क्रम पनि बढेको छ । डोल्माले पद्धतिबाट सुरुमा उपचार गर्दा डर लागे पनि अहिले अलि सुधार भएको बताइन् । उनले भनिन्, ‘सुरुमा जुका शरीरमा राख्दा डर लागेको थियो तर यसले टोकेको पनि केही थाहा पाइँदैन । यो रोगको उपचार धेरै गरे निको भएको थिएन । यहाँ राम्रो उपचार हुन्छ भन्ने थाहा पाएर आएकी थिएँ । यहाँ त जुकाले टोकाएर उपचार हुँदो रहेछ । धेरै चिलाउँथ्यो । यो तरिकाले उपचार गर्दा चिलाउन कम भएको छ । अस्पतालकाअनुसार पहिला छिटफुट रूपमा हुँदै आए पनि पछिल्लो डेढ महिनादेखि नियमित रूपमा सुरु भएको हो ।

डा. भण्डारीकाअनुसार सुरुमा जुकाको टोकाइबाट उपचार गराउँदा बिरामी डराउने भए पनि पछि ठिक भएपछि उनीहरूले नै अरू बिरामी ल्याएर आउने गर्दछन् । उनले भने, ‘सुरुमा बिरामीलाई यो पद्धतिबाट उपचार गर्न मनाउनै गाह्रो हुन्छ । जब उनीहरूले उपचार गरेर राम्रो हुन्छ अनि अरूलाई पनि उपचारका लागि ल्याउने गर्दछन् । जसले गर्दा यो पद्धतिबाट उपचार गर्नेको संख्या विस्तारै बढ्दै गएको छ ।’

यो उपचारबाट शरीरमा भएको दूषित रगत जुकाले खाने र त्यसले गर्दा बिरामीलाई समस्याबिना उपचार गर्न सहज हुने पनि बताए । उनले भने, ‘शरीरमा जुकाहरू राखिन्छ तर अन्य पद्धतिबाट उपचार गर्दा बिरामीलाई दुखाइ हुनसक्छ । यो पद्धतिबाट कुनै पनि दुखाइ हुँदैन । जुकाले हाम्रो शरीरमा रहेको दूषित रगत मात्र खान्छन् ।’ मुख्य गरी छालाका समस्या भएका बिरामी, दुखाइको समस्या, नसाका समस्या भएका बिरामीलाई यो पद्धतिबाट उपचार गरिने पनि उनले बताए ।

अस्पतालका निमित्त प्रमुख डाक्टर सन्तोष ठाकुरकाअनुसार जलौका पद्धतिको उपचार परापूर्वकालदेखि भए पनि नेपालमा भने कम मात्रामा हुने गरेको छ । नरदेवी आयुर्वेद चिकित्सालय, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिमकेन्द्र काठमाडौंपछि प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा यो सेवा सुरु भएको पनि उनले बताए । आयुर्वेदले मात्र नभइ विभिन्न अनुसन्धानबाट पनि अहिले आधुनिक चिकित्सकहरूले यसको प्रभावकारिता स्वीकार गरेको उनको भनाइ छ ।

श्रीलंका, भारतलगायत विभिन्न देशमा यो उपचार प्रभावकारी रूपमा बढेको पनि उनले बताए । उनले भने, ‘कुनै पनि बिरामीलाई उपचार गर्दा धेरै पीडा हुनसक्छ तर यो पद्धतिबाट उपचार गर्दा उनीहरूलाई कुनै पीडा हुँदैन । यी जुकाले हाम्रो शरीरमा भएको अशुद्ध रगत मात्र खाने भएकाले यो पनि एउटा विशेषता हो ।’

उपचारमा संलग्न स्टाफ नर्स श्रीया श्रेष्ठले पनि भर्खरैदेखि बिजौरीमा सुरु भएको जलौका विधिको उपचारले धेरै दीर्घ रोगीहरूमा सुधारात्मक प्रतिफल मिलिरहेको बताएकी छिन् । ‘हामी धेरै आशावादी छौँ, आयुर्वेद चिकित्साको यो विधिको उपचारले धेरै दीर्घरोगीहरूको समस्या समाधान हुनेछ’, स्टाफनर्स श्रेष्ठले भनिन् । विभिन्न सञ्चार माध्यमहरूमा समाचार आउन थालेपछि बिजौरी अस्पतालमा पछिल्लो समयमा यो विधिको सेवा लिनेहरूको पनि उत्साह र आकर्षण बढिरहेको अस्पतालले जनाएको छ ।

त्यसो त पछिल्लो समयमा प्रादेशिक आयुर्वेद अस्पतालले रोग निदानलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधि पनि अनुशरण गर्न थालेको छ । आधुनिक उपकरणहरू सहितको प्रयोगशाला तथा रेडियोलोजी सेवा समेत अस्पतालले सुरु गरेको छ । सुगरका बिरामीलाई नियमित रक्त जाँच तथा मुटुको इसिजी समेतका सुविधाहरू सो अस्पतालले उपलब्ध गराउन थालेपछि पछिल्लो समयमा बिजौरी अस्पताल बिरामीको गन्तव्यका रूपमा परिणत पनि भएको छ ।

अस्पतालमा पञ्चकर्म सेवा फुलफेजमा चलेको छ भने विशेषज्ञ सहित फिजियोथेरामी सेवा सञ्चालन भएपछि ढाड कम्मरका दीर्घरोगीहरू समेत सो अस्पतालमा सेवा लिन आउने गरेको अस्पतालकी फिजियोथेरापिस्ट डा नेहा रेग्मीले बताएकी छन् । अस्पताल परिसरभित्र रहेको खुल्ला नागरिक व्यायनमशालामा पनि सेवाग्राहीहरूको भीड छ । अस्पतालभित्रकै आफ्नै फार्मेसीले पनि बिरामीहरूलाई सहज भएको बताइएको छ ।