अति सबैतिर वर्जित हुन्छ

के.पी.सुवेदी
केही वर्ष अगाडिको कुरा हो, एकजना नागरिकको गुनासो थियो । उनले भनेका थिए ‘अहिले नेताहरुको चर्तिकला देखेर यिनलाई भोट हाल्ने मेरो हातलाई सिलौटोमा राखेर लोरोले थिच्न मन लाग्छ ।’ यो भनाइको चर्चा चारैतिर फैलिरह्यो । सायद आज पनि र भोलिका दिनमा तबसम्म रहिरहला जबसम्म राजनीति फोहरीहरुको हातबाट उम्किँदैन सामान्य मानिसले भनेको भए यति सान्दर्भिक लाग्दैनथ्यो होला ।

आफ्नो राजनीतिक सहभागिता त्रुटिपूर्ण भएकोमा गरिएको पश्चातापको अभिव्यक्ति थियो, त्यो । उनले भनेका थिए, ‘अहिले नेताहरुको चर्तिकला देखेर त आफ्नै हात सिलौटोमा राखेर थिच्न मन लाग्छ’, यो पश्चाताप हो । यो एकजना मुर्धन्य साहित्यकारले महशुस गरेको नरमाइलो अनुभूति आजकल धेरैलाई हुनथालेको होला । यस्तो महसुस धेरैले गर्दा रहेछन् जो राजनीतिक चेतनालेयुक्त भएर पनि निर्वाचनको समयमा भावनामा बगिरहेका हुन्छन् ।

यथार्थभन्दा धेरै पर फर्केर आउन नसक्ने ठाउँमा पुगेपछि पछाडि फर्किन मन लाग्यो भने यस्तो अनुभूति सबैले गर्छन् । खास पात्रको विषयमा यस्तो अनुभूति हुने रहेछ । यतिखेर दुवैखाले चर्चाले शिखरमा पु¥याइएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समर्थनमा व्यक्त गरेको मतलाई लिएर प्रसङ्ग जोड्नु नै उपयुक्त होला । जसलाई एकजना प्रतिष्ठित लेखकले आफ्नो गल्तीको प्रयाश्चित गर्न आफ्नै हातको औँलो सिलौटोमा राखेर थिच्न चाहन्थे ।

निर्वाचनको समयमा बहकिने या अधैर्य हुने मानिसको संख्या धेरै नै हुन्छ । आफ्नो प्रतिनिधि आफूले अपेक्षा गरेअनुसार भूमिका देखाउन सकेन भने पश्चाताप बाहेक अरु केही बाँकी रहँदैन । पटक–पटक गल्ती गरिरहने मतदाताले मात्र होइन, नेतृत्वहीन अवस्थामा पुगेर व्यवस्थाप्रति वितृष्णा जगाउने काम समेत यस्तै प्रवृत्तिबाट हुने हो । सामान्य नागरिकको के कुरा, राष्ट्रिय राजनीति आफ्नो नजिककालाई सुविधा सम्पन्न बनाउनु हो भन्ने अर्थमा बुझ्नेहरु राजनीतिज्ञ कहलाउने परिवेशमा आमनागरिकको अवस्था त्यस्तै हालतमा दोहोरिरहन्छ ।

कुनै बेला नेपालको राजनीति उनीहरुकै वरिपरि परिक्रमा गरिरहेको नेतृत्व नै सबैभन्दा निकम्मा एवम् दृष्टिकोणविहीन भएको मुलुकमा आम मतदाताले पछुताउनु बाहेक के रहन्छ र ? कुनै बेला नवीनतम सोच र समतामूलक समाज निर्माणको अभियानमा नेतृत्व गरेका तथाकथित जनयुद्धका सञ्चालकमध्येका एक बाबुराम भट्टराई घुमेर फेरि प्रचण्डको नेतृत्वमा समेटिन पुग्दा उनी सँगसँगै बसेर माओवादी कम्युनिस्ट सबैभन्दा उत्कृष्ट विचार, फेरि माओवादीको विचार काम नलाग्ने, सान्दर्भिकता नभएको, आज पुनः त्यही विचारको अनुयायीकरण ? के यति साह्रै फेरिइरहने पनि विचारक वा राजनीतिक दर्शनको चिन्तक हुनसक्छ ? होइन यस्ताबाट शासित हुने हामी नेपालीको भाग्यश्री कस्तो होला ?

संसदीय प्रजातन्त्रात्मक शासनमा शासकले जनतालाई झुठो आश्वासन दिएर झुक्याउन मात्र जनताको घरदैलोमा पुगेर मत माग्छन् तर जब उनीहरु सरकारमा पुग्छन्, राज्यको सम्पत्तिमा आफूले रजाइँ गर्छन् । त्यसैले संसदमा उनीहरु खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यापारीको व्यवहार गर्छन् भनेर त्यसका विरुद्धमा दशवर्षे जंगली शासन चलाए । जनतालाई आफूले लादेको विचारबाहेक अरु विचार संसारमै नरहेको उर्दी दिँदै विवेक शून्य नागरिक मात्र देख्न, सुन्न र सहन सक्ने भए ।

अन्त्यमा घुमेर फेरि उही संसदीय अभ्यासमा आफू वफादार सिपाही भनेर कुर्लिँदा पत्याउने कस्ता हरिलठ्ठक ? त्यसरी भण्डाफोर गरेर फेरि यसकै माध्यमबाट देशले काँचुली फेर्ने स्वाङ गर्ने कति नकचरो ? यस्ता नेताहरुले यो देशको गरिबी अन्त्य गर्न र युगसापेक्ष प्रविधिमैत्री सुशासन सञ्चालनको जिम्मेवारी कसरी निर्वाह गर्छन् ? त्यसैले धेरै मानिसहरुको बुझाइमा प्रचण्ड यो मुलुकको सबै समस्याको मूल जरो हो भन्ने अभिव्यक्ति आइरहेको बेला प्रचण्ड नै विकास निर्माणका आयोजनाहरु अलपत्र पार्ने एउटा शक्तिशाली व्यक्ति हुन् ।

किनभने सञ्चालित आयोजनाहरु उनको योजनामा उनकै निर्देशन र नियन्त्रणमा रहेर काम गर्ने प्रचण्डकै घरबेटी ठेकेदार अम्बिकाप्रसाद अधिकारी हुन् । यो कुरा थाहा सबै सरोकारवाला शासक प्रशासकलाई भए पनि भन्न नसक्ने विभिन्न कारण होलान् तर काठमाडौंका नवनिर्वाचित प्रमुख बालेन साहले सहन सकेनन् र भनिदिए । काठमाडौं फोहरको सहर हुन बाध्य गराउने खास मानिस प्रचण्ड रहेछन् । उनका ठेकेदारले ठेक्का लिएको सडक निर्माण नगरिदिँदा बन्चरेका बासिन्दा सम्झौता कार्यान्वयन भएन भनेर सरकारमाथि खनिएका रहेछन् ।

बालेन साह काठमाडौंका जनता अत्यधिक संख्याले रुचाएर काठमाडौं महानगरको प्रमुखमा जितेको व्यक्तिले फोहर हटाउन नसकेर खिन्न र आक्रोशित हुँदै मुलुककै समस्या प्रचण्ड रहेको खुलासा गरिरहँदा उनको कार्यक्षमताको सीमाको बहस सुरु भइसक्यो । परिवर्तनको चाहना राखेर पार्टीहरुलाई छक्काउँदै यस पटक बालेनलाई रोज्नेहरु गत निर्वाचनमा एमालेका विद्यासुन्दर शाक्यलाई मत दिएर पछुताएझैँ नहोस् । जसलाई रोजे पनि आफ्नै बुद्धि र कर्मलाई दोष दिने अभिशप्त राजनीति हाम्रो नियति बनिरहने देखियो ।

किनभने देशकै समस्या बनेका प्रचण्डको देवत्वकरण गरेर दुरुत्साहित गर्नेको कमी छैन । काठमाडौं महानगरबासीले फोहरको दुर्गन्धले निसास्सिएको बेला टोल–टोलमा प्रचण्डको शालिक बनाएर पूजा गर्ने दिन आउने भविष्यवाणी गर्ने माओवादीका दोस्रो तहका नेताहरुको अभिव्यक्ति सहज ग्राह्य छैन । जंगली शासनको पुनरागमन हुने दुःस्वप्न बाहेक अरु परिस्थितिले देवत्व होइन दानवीयकरण मात्र पछ्याइरहेको छ, चेतना रहोस् ।