विनोद पोख्रेल
२०७७ चैत्र २० गते
मैले धेरै पढेँ वा धेरै पुस्तकको अध्ययन गरेँ भनेर दाबी गर्न त सक्दैन । यी कुराहरुमा म अति सामान्यमै पर्छु तर एउटा कुरा निर्धक्कसँग भन्न सक्छु । मलाई मेरो जीवनले र मेरो अनुभवले जेजति पढायो वा सिकायो त्यसको अगाडि मेरो किताबी अध्ययन अत्यन्तै कम छ । किताबमा पढेको अरुको धारणा हो । त्यहाँ मेरो धारणाको स्थान नै छैन । त्यसको उद्देश्य पनि ज्ञान, सीप आदि पाउनु र जीविका चलाउनु हो तर अनुभवले जीविका चलाउन सकिँदैन । यसले आफ्नो पालो वा समय सकिएपछि समेत केही सिकाइ रहेको हुन्छ । जसको भरमा आ–आफ्नो समाजको मूल्यांकन गरिने गर्छ । ती कुरा आफू सक्रिय हुँदा त्यति महत्व दिइँदैन ।
नसक्दा त्यसको काम नै छैन । जे भए पनि बरु किताबले दिएका ज्ञानमा जतिपल्ट संशोधन गर्नुपर्ला तर अनुभवले दिएको ज्ञानमा संशोधन गर्ने परिवेश अपवादमा मात्रै बन्छ । त्यसैले अनुभव पाको ज्ञान हो भन्दा ठिकै हुन्छ होला । त्यसैले मैले धेरै पल्ट भनेको वा लेखेको पनि छु, त्यही व्यक्ति कसैको लागि ठिक र कसैको लागि गलत हुन्छ । अनुभव आ–आफ्नो हुन्छ तर अनुभव त समाजका प्रत्येक सदस्यको मात्रात्मक रुपमा उस्तै–उस्तै हुन्छ ।
प्रकृति, व्यक्ति, राजनीति सबैको बारेमा उस्तै र उत्तिकै अनुभव हुन्छ । तैपनि सोच र मूल्यांकन अलग–अलग हुन्छ । यसको कारण सबैले मूल्यांकन गर्दा आफ्नो अनुूलताको आधारमा गर्ने गर्छ । त्यसैले यो फरक देखिन्छ । अनुकूलता वा स्वार्थ सबै हुन्छ र सबेको अलग–अलग हुन्छ । त्यस्तै प्रतिक्रिया देखाउने शेली पनि व्यक्तिअनुसार फरक हुन्छ । आफ्नो स्वार्थ पूरा नगरिदिएकोमा अलि बढी उग्र प्रतिक्रियामा देखाउनेहरु हुन्छन् । त्यस्तासँग अलि टाढा बस्न मन लाग्छ ।
आफूले नसकेर अरुको सहारा लिन चाहने अनि अरुले गरिदिएन वा पु¥याइदिएन भनेर नमीठो प्रतिक्रिया अभिव्यक्त गर्नेहरुले आफूले नसकेको स्थितिलाई किन बिर्सनु ? जुन काम मैले सक्दैन त्यो काम अरु पनि नसकेको होला भन्ने सोच आए त यस्ता प्रतिक्रियाहरु सुन्न वा देख्न पर्दैनथ्यो । सबै मेरै लागि हुनुपर्ने, सबैले मेरै लागि गर्नुपर्ने भन्ने सोच अलि व्यावहारिक हुँदैन । स्वार्थ पनि सबैको हुन्छ र आवश्यकता पनि सबैका हुन्छन् ।
समता र पहुँचको सीमा हुन्छ । यी सबै कुराले मानिस कति सीमित बनाइएको हुन्छ त्यो बुझ्ने प्रयास गर्ने हो भने रिसभन्दा बढी सहानुभूति हुन्थ्यो तर मेल्े जसरी यो लेखमा बुझाउन खोजे पनि म सफल हुने छैन भन्ने मलाई थाहा छ । व्यक्तिको सोच अरुबारे केही फेर्न सकिएला तर उ आफैबारे फेर्न सायद उसले मात्रै सक्छ । अरुले सिकाएर उसले आफ्नो सोच वा आचरण फेर्न सक्दैन वा चाहँदैन ।
२०७७ चैत्र २१ गते
मैले कसैसँग भने पनि आजभोलिका लेख विशेष महत्वपूर्ण छैनन् । कारण पनि केही हदसम्म थाहा छ । एउटा त सायद अस्वस्थताकै परिणाम हो । मैले सायद भने । यसको पनि कारण छ । मेले बुझेको छु मेरो स्वाभाविक वा स्वस्थ अवस्था भनेको यही हो । एकजनाले मलाई नहार्न (मनले) पनि भन्यो । मैले मनले पनि हारेको छैन र हार्दैन । जित्न नपाएकोमा कुनै दुखेसो वा गुनासो पनि छैन ।
जीवनदेखि निरपेक्ष मानसिकतामा भएको मान्छेले हार र जितमा मतलव राख्दैन । यी सब कुरा स्वाभाविक हुन् तर पनि मानसिक रुपमा पहिलेको जस्तो जोस र जाँगर भने नहुने रहेछ । यो भौतिक कमजोरीको परिणाम होला । अर्को आफ्नो अस्वस्थता र कोरोनाको चर्चाले गर्दा जति हुनुपर्ने हो त्यति भेटघाट र विभिन्न विषयमा हुने तर्कहरुमा कमी भएको छ । यस्ता तर्कहरु आफ्ना वा अरुका समेत सुन्दा पनि विषयहरु प्रशस्त भेटिन्थे ।
त्यस्तो अवस्थामा कमी आएकोले पनि नयाँ तर्क समेतका लेखाइ नभएको हुनसक्छ । अर्को कारण अध्ययनको कमी पनि हो । करिब सात महिनामा पूरै पढेको भनेको एउटा किताब हो । अलि अलि त समय काट्न पनि पढेको छु । तर पूरै एउटा नभए र दुईवटा पुस्तक पढेँ । एउटा विता संग्रह र अर्को थारु भाषाका किम्बदन्ती कथाहरु (बट्कोही)को संग्रह । यिनले पढ्दा आकर्षण गरे पनि लेख्नलाई प्रेरणा दिने त्यस्तो केही दिन सकेनन् अथवा भनौँ मैले केही लिन सकेन । जति तर्क गरे पनि लेखाइ कमजोर हुनुको कारण मेरा आफ्ना शारीरिक, मानसिक कमजोरी नै हुन् ।
त्यसैले वाध्य भएर यी कुरा स्वीकार गर्दैछुँ । फेरि आफ्नो प्रतिबद्धताप्रति खरो प्रमाणित हुन मन छ । त्यसकारण कलम पकड्न छाडेको छैन । फेरि त्यस्तै दिन आउने हुन् कि होइनन् थाहा छैन तर आउलान् भन्ने आशामा भने म छुँ । यत्ति अभिव्यक्त हुँदा पनि केही हलुङ्गो नै लाग्छ । कुनै अलि गम्भीर र अलि सामाजिक, राजनैतिक विषयमा तर्क राख्न नपाएको वा नसकेको मात्रै हो । यो अध्ययनको कमीले पार्ने असर हो । अर्का पक्ष पनि छ जस्तो लाग्छ ।
आजभोलि नेपालको राजनीति जुन बाटोमा हिडिरहेको छ र आफूलाई विज्ञ सम्झनेहरुले यसलाई जसरी व्याख्या गर्ने गरेका छन् त्यो देख्दा पनि दिक्क लागेर आउँछ । नढाँटेर भन्ने हो भने मैले वर्तमान परिवेशलाई विकृतिको पराकाष्ठाको रुपमा बुझेको छु । न नीति छ न विचार छ न उद्देश्य छ न जिम्मेवारी छ न नैतिकता छ । छ भने जहाँ पनि आफ्नो मान्छे सेट गर्ने राजनीति छ । नमीठो भाषामा भन्ने हो भने बाँडिचुँडी खाने (त्यो पनि एक्लै खान नपाएपछि या नसकेपछि) चरित्र छ ।
अडान नभएको राजनीतिले देश कहाँ पुगिसक्यो र अझै कहाँ पु¥याउने हो ? त्यो कसैलाई मतलव छैन । सक्नेले रहर पूरा गर्ने राजनीति हाबी छ र नसक्नेले डाह गर्ने चरित्र देखिएको छ । राजनीति नभएको वा यसको प्रभाव नपरेको कुनै विन्दु छैन । यस्तोमा के लेख्नु, कति लेख्नु अनि दिक्क पर्नु स्वाभाविकै जस्तो पनि लाग्छ ।