सहयोगका नाममा भिडभाड बढाइएकोमा प्रमुख जिल्ला अधिकारी असन्तुष्ट
दाङ,२४ चैत । विश्वभरी महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) कारण समस्यामा परेका नागरिकहरुलाई सहयोगका नाममा भैरहका क्रियाकलापप्रति दाङका प्रमुख जिल्ला अधिकारीले असन्तुष्टि प्रकट गरेका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले त्यस्तो सहयोगलाई नौटंकीको संज्ञा दिएका छन्र त्यसो नगर्न सवैमा आग्रह गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण दाङ जिल्ला असहज अबस्थामा रहेको भन्दै यस्तो अवस्थामा सहयोगका नाममा संक्रमण फैलाउने गरि भीडभाड नग्रन आग्रह गरेका हुन ।
प्रमुख जिल्ला अधिकारी रिजालले आज सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै कोरोनाका भाइरसको महामारीका कारण देश लकडाउनमा रहेको अवस्थामा विभिन्न गाँउ वस्तीहरुका आर्थिकस्तर कमजोर रहेका नागरिकहरुको सहयोगका लागि विवरण सम्बन्धित स्थानीय तहका वडा कार्यालयहरुबाट तयार पार्ने काम भइरहेको समेत जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत विपन्न नागरिकहरुका लागि सहयोग उपलब्ध गराउन चाहेमा सम्बन्धित स्थानीय तहसंग समन्वय गर्न अनुरोध गरेका छन् । सञ्जालमा लेखेका छन्–‘यहाँहरु समाजमा कुनै न कुनै रुपले प्रतिष्ठित हुनुहुन्छ र यहाँहरुको पहिचान नै तारिफ योग्य भएकाले यस संकटको समयमा थप प्रचार गर्नु नपर्ने कुरा समेत निवेदन गर्न चाहन्छु । यसर्थ थोरै खाद्यान्न केही थान स्यानिटाइजर साबुन र मास्क वितरण गरेको फोटो फेसबुकमा राखेर कथित समाजसेवी भएको नौटंकी नगर्नु भइ सभ्य नागरिकको परिचय दिनुहुनेछ भन्ने विश्वासका साथ सहायताका नाममा कोरोना भाइरसको संवाहक नबनिदिनु हुन विनम्र अनुरोध छ ।’ उनले सहयोगका नाममा कोरोना भाइरस फैलाउन भूमिका नखेल्न समेत सवैमा सचेत गराएका छन् ।
