प्रतिष्ठानमा १० डायलासिस मेसिन सञ्चालनमा आउँदै

दाङ, ३ भदौ । स्वास्थ्य मन्त्रालयले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको १० वटा डायलासिस मेसिनको जडान काम सुरु भएको छ । मन्त्रालयले पठाएको डायलासिस मेसिन अस्पतालमा आइपुगेको र जडान गर्नका लागि आवश्यक पर्ने अन्य सामग्रीहरु खरिद गर्नुपर्ने भएकाले टेण्डर आह्वान गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिएका छन् ।

रजिष्टार थापाका अनुसार डायलासिस मेसिन सञ्चालन गर्नका लागि आवश्यक पर्ने आरोको खरिद गर्न टेण्डर हुनुका साथै आरो राख्ने भवन पनि बनाउने कार्य जारी रहेकाले अबको एक महिनाभित्र सेवा सञ्चालनमा आउने बताएका छन् । मन्त्रालयले गएको साउन १३ गते प्रतिष्ठानमा १० वटा र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ८ गरी १८ डायलासिस मेसिन पठाएको हो । हाल प्रतिष्ठानमा ५ वटा डायलासिस मेसिनबाट दुई सिफ्ट गरेर २५ जना बिरामीले सेवा लिइरहेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिएका छन् ।

नयाँ मेसिन जडान भए यस क्षेत्रका सबै मिर्गौला रोगीले डायलासिस सेवा पाउने सूचना अधिकारी भट्टराईले बताए । उनका अनुसार हाल ४० बिरामी डायलासिसको पालो कुरिरहेका छन् । नयाँ मेसिन जडान भएमा प्रतिष्ठानमा २४सैँ घण्टा मृगौला पीडित बिरामीले डायलासिस सेवा पाउने प्रतिष्ठानले जनाएको छ ।

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको पहल तथा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने र रजिष्ट्रार थापाको समन्वयमा डायलासिस मेसिन प्रतिष्ठानमा थपिएका हुन् । त्यस्तै राप्ती प्रादेशिक अस्पतालकी डायलासिस प्रमुख लिना बडेलले हाल प्रादेशिक अस्पतालमा ५ मेसिनबाट २३ जना बिरामीले डायलासिस सेवा लिइरहेको बताइन् । नयाँ ८ मेसिन जडान भए ६० जनासम्मले सेवा पाउने बडेलले बताइन् ।