हनी ट्रयापमा पारेर पैसा कमाउने गिरोह पक्राउ

दाङ, ३ भदौ । हनी ट्रयापमा पारेर पैसा कमाउने धन्दामा लागेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीया दिलिपकुमार वली, घोराही उपमहानगरपालिका १० नारायणपुर बस्ने ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँकी ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र सर्मिला भन्ने प्रमिला नेपाली छन् ।

उनीहरुले घोराही–१० नारायणपुरमा सुनचाँदी व्यवसायी गर्ने सोही ठाउँका दिनेश घर्तीमगरलाई हनी ट्रयापमा पारेर पैसा मागेका थिए । पक्राउ परेका दिलिपकुमारको संलग्नतामा युवती प्रमिलालाई प्रयोग गरेर यो गिरोहले पैसा कमाउ धन्दामा लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए ।
उनकाअनुसार प्रमिलाले साउन २६ गते राति ११ बजे सुनचाँदी व्यवसायी घर्तीमगरलाई आफ्नो कोठामा बोलाएकी थिइन् । घर्तीमगर उनको कोठामा पुग्नासाथ दिलिप, विमला, शान्ता र पवित्रा प्रमिलाको कोठामा पुगे । त्यसपछि उनीहरुले चेलीबेटीलाई बलात्कार गर्ने भन्दै हातपात गर्नुका साथै करणी आरोपमा प्रहरीमा उजुरी दिने धम्की दिए । तर उनीहरुले पैसा दिए कुरा प्रहरी कहाँ नपुग्ने बताए । त्यसपछि उनीहरुले घर्तीमगरसँग १ वटा घडेरी पास गर्न धम्की दिएका थिए ।

घर्तीले घडेरी आफूसँग नभएको र पैसा दिने बताएपछि साउन २७ गते १ लाख नगद, २ लाखको २ वटा चेक र ७ लाख २० हजारको अर्को चेक गरी कुल १२ लाख २० हजार उनीहरुले लगेका थिए । पक्राउ परेकाहरुले पैसा कमाउने धन्दासहित यो क्रियाकलाप गरेको एसपी काफ्लेले बताए । आफूसँग पैसा असुलेको खबर घर्तीले २७ गते नै प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अहिले थप अनुसन्धान भइरहेको छ ।