युवराज शर्मा
पुरुषहरु घरबाट रोजगार गर्न भारततर्फ जान्छन् । घरमा घर धानेर गृहस्थी जीवन बिताउने महिलाहरुले गर्छन् । उनीहरु गाउँरमा एनजीओको माध्यमबाट धेरै प्रकारका समूहरु गठन भएको र त्यस्ता समूहमा महिलाहरु मात्र छन् । यहाँको टोल विकास संस्थामा पनि महिलाहरु मात्र छन् । २०७६ सालदेखि विकासक्रममा पछि परेको छ । यहाँका महिलाहरुमा एकताको भावना छैन । पतिले नगद आम्दानी गर्ने र आइएमईबाट पैसा आउने हुँदा घरमा आर्थिक समस्या छैन ।
खाद्य समस्या घर–घरमा छैन तर आर्थिक र खाद्य समस्या टार्न पति मुग्लान गएको स्मरण गर्ने क्षमता पत्नीमा छैन । छोराछोरीले बोर्डिङ स्कुलमा पढ्छन् । देख्दा धेरै सुकिला–मुकिला छन् । उनका गोजीमा पैसा हुन्छ तर झोलामा घरमा आमाले बनाइदिएको टिफिन पनि हुन्न । किनकि घरमा छोराछोरीलाई टिफिन बनाएर झोलामा राखिदिने आमालाई फुर्सद हुन्न । भैसी, गाइगोरु र बाख्राहरु पाल्नेहरुको संख्या औँलामा गन्न सकिन्छ । त्यस्ता घरका छोराछोरीले घाँस काट्छन् र दिउँसो स्कुल पढ्न जान्छन् ।
बिहानमा उनीहरुको पढाइ–लेखाई भन्दा कामकाज गराई धेरै हुन्छ । विद्यार्थीहरु बोर्डिङ स्कुल पढ्न जानेलाई इज्जती घरानाका भन्छन् । सार्वजनिक स्कुलमा पढ्नेहरु खेतीपातीको काम गर्ने श्रमिक ठान्छन् । तर बोर्डिङ स्कुल पढ्नेभन्दा सामुदायिक स्कुलमा पढ्नेहरुको बोलीबचन आत्मज्ञानी र अनुशासित देखिन्छन् । उनीहरुलाई यस्तो ज्ञानको विकास समय, वातावरण र सामाजिक व्यवहारले आपसी बसउठबाट सिकेको पाइन्छ । यस्तो ज्ञान आत्मअनुभवको अनुभूति हो ।
गाउँले बालबालिका घोराही बजारमा कुनै जात्रा, उत्सव, सभा–जुलुस र राष्ट्रिय कार्यक्रममा गए भने त्यहाँको माहोल र पाएको ज्ञानका सम्बन्धमा सोधपुछ ग¥यो भने खुलस्त रुपमा भन्छन्– हाम्रो उपस्थिति गराएको शोभा बढाउन रहेछ । हाम्रा लागि पानी खाने व्यवस्था पनि थिएन । अहिलेका विद्यार्थी वर्गमा सोच्ने शक्तिको विकास भइरहेको छ । आफ्ना बाबुले स्वदेशमा रोजगारी नपाएर विदेशी भूमिमा पसिना बगाउनु परेको छ ।
बाबुको विदेशी कमाइमा धेरै आमाहरु घरमा रमाउन पाएका छन् । उनीहरुमा आत्मअनुशासन हराउँदै छ । जसमा मर्यादित व्यवहार, सत्यनिष्ठा, सत्कार्य, संयमित बन्ने र सभ्य प्रवृत्ति, सकारात्मक चिन्तन, लक्ष्यअनुसार काम गर्ने बानी, असफलतासँग नडराउने प्रवृत्ति र दैनिक रुटिन अनुसार काम गर्ने आदतको विकास गर्न सक्नुपर्छ । यस्ता आत्म अनुशासनमा पछौटेपनका धेरै महिलाहरु छन् । त्यसैले होला अदुवाबारीको समाज विकसित बन्न सकेको छैन भन्छन्, छिमेकीहरुका गाउँलेहरु ।
पहिले यो गाउँ रामपुर गाविसअन्तर्गत पर्ने वडा नं. ७ थियो । त्यस समयमा गाउँमा बुझेका र समझदारी भएका बुद्धिमार्गीहरुको बसोबास थियो । यो गाउँ ज्यादै पुरानो गाउँ हो । जो भोटेदहको दक्षिणमा अवस्थित छ । गाउँको पूर्वमा लाइनबद्ध घरहरु छन् । परापूर्वमा ६ घर भएको गाउँ थियो । केही समयपछि छोराहरुको संख्या बढ्यो । घरबासको समस्याले घरमुलीहरु आत्तिए । क्रमशः जग्गा–जमिन बेच्दै बसाई सर्दै गए । यहाँको तुलनामा अन्य गाउँ ठाउँहरुमा जग्गा–जमिनहरु सस्तो मूल्यका थिए ।
पुरानो बस्तीदेखि अद्यारीसम्म बस्नु हुने पण्डित परिवार मात्र छन् । उनका सन्तानहरु छन् । जसको घरबास गाउँको बिचोबिच भूभागमा छ । उहिले पुरानो बासिन्दाहरुमा सामाजिक व्यवहार अनुकरणीय थियो । त्यस समयका गाउँलेहरुमा पढ्नुपर्छ भन्ने सन्देश पण्डित बाजेले दिनुभएको थियो । जसको परिणाम उनका सन्तानहरुले पढे–लेखे र सरकारी जागिरमा प्रवेश गरे ।
जागिरे जीवन बिताउन सफल भएका थिए । निजामती, शिक्षण सेवा, दूरसञ्चार सेवा, विद्युत प्राधिकरण सेवा, विश्वविद्यालय सेवाजस्ता क्षेत्रमा काम गरी निवृत्त भएकाहरु र कार्यरत कर्मचारी पनि छन् । भनिन्छ– अदुवाबारीमा सूर्य पहिले उदाए र झलमल्ल उज्यालो भयो । ज्ञानी र गुणी बन्ने मौका पाएका थिए ।
अहिले यो गाउँ घोराही उपमहानगरपालिका वडा नं. १ मा पर्छ । यो वडा ज्यादै पिछडिएको क्षेत्र पनि हो । यहाँ सरकारी उपस्थिति शून्य बराबर थियो । वर्तमान समयमा स्थानीय तहको सरकार भएपछि सरकारी उपस्थिति भएको देखापरेको छ । यो वडामा जल, जमिन र जंगल छ । यहाँ तालतलैया र पोखरीहरु छन् । भोटेदह, चरिंगेदह र किचेनीदह प्राकृतिक दहहरु हुन् भने मानवनिर्मित तालतलैयाहरुमा चेपेताल, अजिङ्गरे ताल निर्माण सम्पन्न भएका छन् ।
भोटेदहको विस्तार गरी पानी रिचार्जको व्यवस्था वडाअध्यक्ष राममणि पाण्डेले दिएको बजेटबाट भएको हो । यो तालको रिचार्जको पानीले अदुवाबारी सिँचाइ हुन्छ । यो तालमा माछा पनि पाल्छन् । आम्दानी भोटेदह वन उपभोक्ता समितिले लिन्छ तर यो तालमा उक्त रकम प्रयोग भएको पाइन्न भन्छन्– अदुवाबारीका बासिन्दाहरु । सम्बन्धित निकायहरुको दृष्टि यसतर्फ फिरेको छैन । अहिले गाउँको शिरदेखि पुच्छारसम्मको बस्तीको घरधुरी सख्या ५३ छ तर टोलको रेकर्ड ४२ मात्र देखाइएको छ ।
राष्ट्रिय जनगणना भएको गाउँमा थाहा छैन । जनसंख्या उल्लेख गर्न सकिन्न । सम्बन्धित निकायको हचुवा गणना प्रवृत्ति यस गाउँमा देखिन्छ । पहिलेको ६ घरहरु भएको गाउँ अहिले ५३ घरधुरीहरु छन् । बसाई सरी आउनेहरुको ठूलो संख्यामा लामो लर्को छ । पुरानो बस्ती र नयाँ वस्ती छुट्याउन सडकमा भए–गरेको ग्राभेल अवस्थाले देखाउँछ । तलदेखि भएको ग्राभेल पुरानो बस्तीमा आएर रोकिएको छ । नयाँ बस्तीदेखि भएको ग्राभेल माथिबाट तल आएपछि रोकिएको छ । पण्डितका घर अगाडिको सडक हिलैहिलो छ । यो सार्वजनिक सडक हो ।
कसैको व्यक्तिगत सडक होइन । तर नवआगन्तुक व्यक्तिहरुका अगाडि टोल विकास संस्था र वडा कार्यालयको कार्यशैली हाँस्यास्पद देखिन्छ । यसले पुष्टि गर्छ कि अदुवाबारीको समाज पछौटेपनमा छ । हुन त यो गाउँ भोटेदह भ्रमण गर्नेहरुको नजरमा पर्यटकीइ गाउँ बन्नुपर्ने थियो तर बन्न सकेन ।
राष्ट्रियस्तरमा सामाजिक विकृतिहरुको विकास द्रुतगतिमा बढेको छ । यस्तो वातावरण गरीब र विपन्न देशका नागरिकहरुमा पनि छ ।
खासगरी विपन्न देशका बासिन्दाहरुले मादक पदार्थको अत्यधिक सेवन गर्ने, तास, जुवा, कौडाहरु धनपैसाको दाउमा खेल्ने, आपराधिक प्रवृत्तिमा रमाउने र हिंसा, दुव्र्यवहार, आत्महत्या गर्ने जस्ता विकृतिहरु समाजमा बढेको अवस्था नेपालमा भएजस्तै यो गाउँमा पनि छ । त्यस्ता प्रवृत्तिका व्यक्तिले गर्दा अदुवाबारी दुर्गन्धित बनेको छ । प्रहरी चौकी पनि एक किमिको दूरीमा छ । तर यस गाउँमा गस्ती गरेको पाइन्न ।
धेरै मानिसहरु घोराही बजार पलायन भएका छन् तर घरबास बेचेको पाइन्न । सुव्यवस्थित बस्ती बनाउनेतर्फ टोल विकास संस्थाको ध्यान छैन । गाउँको वातावरण दूरदशामा गएपछि गाउँलेहरुको सामाजिक सुधार हुँदैन । समाजको सुगन्धले अरुहरुलाई अनुकरण गर्ने ज्ञान दिनु नै सभ्य समाजको परिचय गराउनु हो ।