ब्रह्माकुमार माधव तिमिल्सेना
संसारमा लाखौं मनुष्य आत्माहरुको जन्म हुन्छ अनि मृत्यु । सबैको नाम र जन्मलाई याद पनि गरिदैन र जन्मोत्सव पनि मनाईदैन । तर संसारमा यस्ता महान् हस्तीहरुको जन्म हुन्छ जसको नाम नलिइकन र जन्मोत्सव नमनाएर रहन पनि सकिदैन । जन्माष्टमी पर्व यस्तो एक महान् पुरुष श्रीकृष्णको जन्मोत्सवको यादगार पर्व हो जो सृष्टिकै एक अदभुत, अद्धितीय अनि महान् छन ।
जसको नाम मात्रको स्मरणले पनि मानवतामा खुशीको लहर छाउंछ । यस्ता महान् पुरुष जसलाई जगतले सम्मान गर्दछ, पूजा अर्चना गर्दछ र गायन पनि गर्दछ जव श्रीकृष्ण जन्माष्टमी आउंछ तव श्रीकृष्णका आकर्षक झांकीहरु सजाइन्छन् । त्यस्तै कृष्ण मन्दिरमा समेत मोर मुकुटधारी, हीरा रत्नजडित मुकुट लगाएको तेजस्वी मुखमण्डल, आकर्षक र भव्य आभा मण्डलधारी देखाइन्छ तर सांच्चिकै श्रीकृष्ण साकारमा कति सुन्दर र आकर्षणमूर्त थिए होलान् जसको कल्पना हामीले गर्न पनि सक्दैनौं ।
श्रीकृष्ण वास्तवमै सर्वगुण सम्पन्न, सोह्रकला सम्पूर्ण, सम्पूर्ण निर्विकारी, मर्यादा पुरुषोत्तम, अहिंसा परमोधर्म, परमपूजनीय, सर्वश्रेष्ठ देवता थिए । यिनै महान् हस्तिको जन्मोत्सवलाई नै हामी श्रीकृष्णजन्माष्टमी पर्व भनेर मनाउंदछौं । कृष्ण शव्द कृष् धातुबाट बनेको छ । जसको अर्थ हुन्छ आकर्षित गर्नु । आकर्षित उसैले गर्न सक्छ जो गुणवान वा चमकदार तथा उच्च आदर्शले सम्पन्न हुन्छ । भाद्र महिनाको कृष्णपक्ष अष्टमी तिथीमा कृष्णको जन्म भएको कुरा श्रीमद्भगवद गीतामा उल्लेख छ ।
श्रीकृष्णको जन्म भन्दा पहिला आठ मुख्य देवताहरुको पनि जन्म भएको देखाइन्छ । अतः वास्तवमा जन्माष्टमी केवल श्रीकृष्णको जन्म उत्सव मात्र नभै आठ मुख्य देवताहरुको जन्मोत्सव पनि हो । श्रीकृष्णका भक्तहरु उनलाई ‘बैकुष्ठनाथ’ को उपाधीले सम्वोधन गर्दछन् । सतयूगी पावन एवं सम्पूर्ण सुखी सृष्टि वा दैवी सृष्टि अथवा स्वर्ग हो बैकुष्ठ । यसबाट पनि स्पष्ट हुन्छ कि श्रीकृष्णको जन्म द्धापरयुगमा नभएर सतयुगमा भएको हो किनकी सतोप्रधानता धर्मनिष्ठता केवल दैवी दुनियांमा मात्र सम्भव छ।जव यही लोकमा पवित्रता, सतोगुण, दिव्यताले सम्पन्न तथा सुख शान्तिको दृष्टिकोणले उच्च हुन्छ तव यसैलाई हेवन, प्याराडाइज, गार्डन अफ फ्लावर, स्वर्ग बैकुष्ठ आदी नामले सम्वोधन गरिन्छ जुन यस दुनियां भन्दा अलग्गै अर्को संसार हुदैन । त्यस्तो हुनमा मनुस्यको स्वभाव संस्कार दिव्यगुणमा भर पर्दछ ।
आजभोलि हामी जुन रुपमा श्रीकृष्ण जन्माष्टमी मनाउंछौं त्यसमा महत्वपूर्ण आध्यात्मिक रहस्य एवं अर्थ लुकेको छ । वास्तवमा श्रीकृष्णको जन्म मध्यरात र जेलमा सामान्य व्यक्तिको कोखबाट भएको, वाल्य अवस्था देखि नै अनेकौं असूरहरुलाई संहार गरेको, पाण्डव जस्ता सत्यवादीहरुलाई अर्ति उपदेश दिई मुक्तिको मार्ग बताएको, विराट स्वरुप दर्शन गराई अर्जुनलाई नष्टोमोहाको पाठ सिकाएर वैराग्य वृत्तिको विकास गराएको जस्ता महत्वपूर्ण एवं रहस्ययुक्त कुराहरु कृष्ण लिला तथा कृष्ण चरित्रमा उल्लेख छन् भने अर्कोतिर कृष्णको नाउंमा अनेकौं विकृतिजन्य हौंआहरु पनि शास्त्रमा लेखिएको पाईन्छ ।
कृष्णले दही चोरेर खाए, ग्वालिनीहरुको कपडा लुकाई दिए, सोह्र हजार एक सय आठ पटरानी बनाए आदि जस्ता विभिन्न विसंगतियुक्त कुराले गर्दा समाजमा भावनात्मक रुपमा उच्छृंङखलता र उदण्डता एवं बहुविवाह जस्ता क्रियाकलाप समेतलाई टेवा पुगेको पाईन्छ । वास्तविक रुपमा विश्लेषण गर्दा यी सबै नाटकिय प्रवृतिहरु हुन् । भाव र व्याख्यामा समानता हुनुको सट्टा विविध अतिरंजित तरिकाबाट व्याख्या गर्दा यथार्थ भाव नै अन्यत्र गएको पाईन्छ । शास्त्रमा उल्लेखित जन्माष्टमी सम्बन्धमा हामीले प्रतिकात्मक रुपमा बुझ्नुपर्ने हुन्छ । वास्तविक रुपमा हामीले जन्माष्टमीको बारेमा बुझ्न बांकी नै छ कि जस्तो लाग्दछ ।
जबसम्म धर्म संस्कृति एवं चाडपर्वहरुको यथार्थ पहिचान गर्दैनौ र त्यस भित्रको सत्यताको उजागर हुदैन तवसम्म हरेक वर्ष मनाईने चाडपर्वहरुबाट उपयुक्त फाईदा लिन सकिदैन । त्यसपछि केवल परम्परा र देखावटीमा मात्र सिमित हुदै जांदा समाजले जुन रुपमा गति लिनुपर्ने हो सो हुन नसकिरहेको अवस्था हो । वर्तमान संगमयूगमा परमात्मा निराकार ज्योतीस्वरुप शिवले यस धरतीमा मानवीय तनमा प्रवेशता गरी दिइएको राजयोग र ईश्वरीय ज्ञानको आधारमा श्रीकृष्णजी कुनै सूर्यास्त पछिको मध्य रातमा जन्मेका होइनन् वरू कलियुगरुपी मध्यरात जांदा दुःख, अशान्ति र चिन्ताको वातावरणमा साधारण व्यक्तिको कोखबाट योगबलद्धारा उनको दिब्य जन्म भएको थियो । श्रीकृष्णको जन्म पश्चात संसारमा कलियुगको महाविनास हुनगई स्वर्णिम संसारको अभ्युदय हुन्छ।
यहां मथुरा एवं ‘जेल’ भनेको कलियुगी कष्टदायी वातावरणको प्रतिक हो भने ‘गोकुल’ सतयुगको प्रतिक हो । जब संसारमा एक चमत्कारीक व्यक्ति (श्रीकृष्ण) को जन्म हुन्छ तव वातावरणदेखि नै हरेक प्राणी विशेषमा शान्ति र सुखले बास गर्न थाल्दछ जसलाई स्वर्णिम संसारको संज्ञा दिईन्छ । अर्को यथार्थता श्रीकृष्णले कुनै कुरुक्षेत्रमा एक व्यक्ति विशेषलाई मात्र महत्वपूर्ण गीता ज्ञान सुनाएका थिएनन् वरु परमात्मा शिवले ब्रह्मा (श्री कृष्णको पूर्व जन्म) को माध्यमबाट कुरुक्षेत्र अर्थात् संसाररुपी कर्मक्षेत्रमा परमात्मासंग प्रितबुद्धि मानवलाई सुनाउनु भएको थियो । जसबाट अनेकौं अज्ञानतारुपी असुरहरुलाई नास गरी ईश्वरीय प्रवृतिको विकास गरिएको थियो । यो कुनै हिंसात्मक युद्ध थिएन ।
त्यस्तै जव ब्रह्माको माध्यमबाट भगवान शिवले दिव्य अलौकिक ज्ञान हजारौं नर नारीहरुलाई दिंदा उनीहरु सबै सुन्न लालायित भई आफ्नो जीवन महान बनाउंदछन् तर यस किसिमको सत्य भावलाई नबुझी श्रीकृष्णका हजारौं पटरानी थिए भन्नु युक्तिसंगत होईन यो त उल्टै कलंक पो हो त । वास्तवमा ज्ञानको प्रवाह कलियुगको अन्त्यमा वर्तमान समय बह्रमाको माध्यमबाट भएको हो । यसलाई किवंदन्तिको रुपमा नकारात्मक तरिकाले व्याख्या गरियो । साथै श्रीकृष्णले पाण्डवलाई साथ दिए भन्ने भावार्थ सत्यबादी ब्यक्ति नै सतयुगी श्रीकृष्णको राज्यमा पुग्न सक्दछ भन्ने भावार्थ हो । दानवीय प्रवृत्तिका मानवहरुले आफुलाई परिवर्तन नगराएसम्म श्रीकृष्णको राज्य अर्थात स्वर्ग वा बैकुष्ठमा पुग्न सक्दैनन् ।
वास्तवमा पाण्डव भनेका ईश्वरप्रेमी एवं सकारात्मक सोच,दृृष्टिकोण धारणा भएका व्यक्ति विशेषका प्रतिक हुन भने काम क्रोध जस्ता मनोविकारले ग्रसीत व्यक्ति नै कौरव हुन जसले संसारमा हत्या हिंसा आतंकको साम्राज्य स्थापना गर्दछन् । परमात्मा प्रदत्त सत्य ज्ञानद्धारा उदय भई विस्तारै हरेक मानवमा विद्यमान विविध विकृतिजन्य दानवीय प्रवृत्तिहरुलाई पबित्र ईश्वरीय प्रबृत्तिमा रुपान्तरण गर्नु नै अहिंसक संग्राम हो । हिंसक युद्धले सुशासन वा स्वर्ग आउन सक्दैन । व्यक्तिमा वैचारिक अथवा भावनात्मक परिवर्तन ल्याउने अहिंसक संग्राम नै हो ईश्वरीय ज्ञान र योगको प्रवल शक्ति ।
त्यसैगरी श्रीकृष्णलाई पांचमुखे विषालृ बासुकी नागमाथि नाचेको देखाइन्छ । पांच विकारहरु काम क्रोध लोभ मोह र अहंकाररुपी विषालु विकार माथि विजय प्राप्त गरेको प्रतिकात्मक अवस्था हो । साथै चारैतिर समुन्द्रको वीचमा पिपलको पातमाथी बुढीऔला चुस्दै गरेका श्रीकृष्ण देखाइएको हुन्छ । विचार गरौ सागर त्यसमा पनि एउटा पातमा बच्चा रहन सक्छ कि सक्दैन ! यसको भावार्थ पनि बुझ्नु जरुरी छ– कलियूगको महाविनास पश्चात चारैतर्फ पानीको भाग बढी र जमिन कम हुन्छ अर्थात पिपलको पात बरावर जमिनको क्षेत्रफल हुन्छ । यही सानो संसारमा सर्वश्रेष्ठ दैवी दुनियांको स्थापना हुन्छ र श्रीकृष्ण स्वर्णीम राज्यका पहिलो देवताको रुपमा जन्म लिन्छन् । प्रकृति तथा पुरुष दुवै सतोप्रधानता भएको अद्धितीय देवकूलमा पवित्र सर्वगुणसम्पन एकता र समानताको प्रार्दुभाव हुन्छ ।
हामीले पनि जीवनलाई श्रीकृष्ण समान प्यारो बनाउनु छ । यसरी हामीले श्रीकृष्ण जन्माष्टमी पर्वमा केवल मन्दिर गएर श्रीकृष्णको पूजा गरेर सन्तुष्ट हुनु छैन । हामीले त श्रीकृष्ण जस्तो पूज्य पद प्राप्त गर्न प्रेरणा लिनु छ । श्रीकृष्णलाई मनमोहन मान्नेहरु आफ्नो जीवन मनमोहन किन बनाउन सकिरहेका छैनौ ? श्रीकृष्णको जीवन उज्वल महान र गुणवान पावन अवस्थाको सूचक हो । हामी मध्ये कसैलाई थाहा होला कुनै समयमा स्वयंवर भएपछि वर बधुको नाम प्रायः बदलिन्थ्यो । यही प्रथाको कारण हुन सक्छ जानकीको नाम सीता राखिएको त्यसैगरी श्रीकृष्णको स्वयंवरपछि श्री नारायण रहेको ।
‘श्रीकृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण बासुदेव’ यो श्लोकबाट पनि हामीले बुझ्न सक्छौ कि श्रीकृष्णको आत्मा नै श्री नारायण वन्ने रहेछ । श्रीमद्भागवत गीतामा श्रीकृष्णलाई नारायण भनी सम्वोधन गरेको पाइन्छ । श्रीकृष्ण निर्विवाद रुपमा एक अत्यन्त महान धार्मिक देवआत्मा थिए । उनमा राजनीतिक पदवी, प्रशासनिक कुशलता पनि प्राप्त थियो । अतः श्रीकृष्णको चित्र तथा मन्दिरमा सदैव प्रभामण्डलले सुशोभित तथा रत्नजडित स्वर्णमुकुटले सुसज्जित देखाईन्छ । सतयूगमा राजनैतिक तथा धार्मिक सत्ता एउटैको हातमा हुन्छ । यी दुइटै मुकुट त्यही सत्ताको प्रतिक हो ।
जसको जन्म दिन आज एक सार्वजनिक उत्सव वनेको छ । स्वामी विवेकानन्द सन्यास पश्चात महान वने । महात्मा गान्धी प्रौढ अवस्थामा एक राजनीतिक नेता एवं एक सन्तको रुपमा प्रसिद्ध भए । यही कुरा गौतमबुद्ध, तुलसी, कबीर, दयानन्द, महावीर, मदर टेरेशा,दादी डा.प्रकाशमणी, डा.जानकी आदी आदीको वारेमा समेत भनिन्छ । परन्तु श्रीकृष्णको विशेषता यस्तो छ कि उनको जन्मको समयमा उनकी आमालाई विष्णु चर्तुभुजको साक्षात्कार भएको थियो र जन्मदादेखि नै पूज्य पदवी प्राप्त थियो ।
हाम्रो संस्कृती मूलतः सत्संस्कारहरुको संस्कृती हो । संस्कार आत्मामा निहित जन्म जन्मान्तरका प्रवृतीहरु तथा आदतहरु हुन जसले विचार कर्म एवं जीवनलाई अभिप्रेरित गर्दछन । आत्माको मौलिक विशेषता सद्गुण हो त्यसैले संस्कारहरुलाई प्रायः सुकार्य एवं संस्कृतीको सुकृतिका रुपमा ग्रहण गरिन्छ । परन्तु आजको परिप्रेक्ष्यमा संस्कार जाती वर्णको रिती नीतिको सीमाभित्र बांधिएर कर्मकाण्डको रुपमा रुपान्तरण भैदिंदा निस्प्राण हुन पुगेको छ । अव त संस्कृती र सांस्कृतिक शव्दको अवमूल्यन हुन गएको छ, दुरुपयोग भएको छ भन्दा अन्यथा नहोला । हाम्रो सभ्यता र संस्कृतीको महत्ता त सम्पूर्ण मानवताका साथ स्थापित गर्नु अर्थात ‘वसुदैव कुटुम्वकम्’को पवित्र भावनामा छ ।
संक्षेपमा, सत्यता, पवित्रता, दया, प्रेम क्षमा उदारता सद्भावना, सम्मान जस्ता शाश्वत गुणहरुलाई सांस्कृतिक मूल्य मानिन्छ । तर विडम्वना खै यी मूल्यहरु ? आजको समाज आन्तरिक विकृतिहरुको शिकार बनिरहेको वास्तविकता हामीबाट लुकेको छैन ।अद्यात्मप्रधान मूल्यनिष्ठ संस्कृती भौतिकताको चकाचौंधमा फसिरहेको छ । त्याग र संयम प्रवासी जस्तो देखिएको छ ।सहिष्णुता कायरतामा बदलिएको छ । उदार संस्कृती र वन्धुत्व भाव बन्दूक भावको भेष धारण गरेजस्तै भएको छ । अव हामीसंग प्राचीन संस्कृतीको ढोल पिट्नुको सिवाय केही छैन । यो सवैको जिम्मेवार अरु कोही नभएर हामी स्वयं नै हौ ।
सांस्कृतिक प्रदुषण सामाजिक व्यवस्थामा व्लड क्यान्सर जसरी फैलिरहेको छ । दिन दिनै बढ्दै गइरहेको नास्तिकवाद, धर्मप्रतिको उदासिनता या कट्टरवादिता, साम्प्रदायिक दंगा, महिलाहरुको आत्मघाती अंग प्रदर्शनको प्रवृती, युवाहरुमा दिशाहीन दौड, आधुनिकताको आकर्षणमा फसिरहेको असंस्कृतिक जाल, सेटेलाइट चैनलहरुबाट प्रसारित नकारात्मक सूचनाहरु, मानवको दिल दिमागमा भरिएको भोग वासना, भ्रष्टाचारको महासागरमा डुविरहेको समाज, अनैतिकताको भूंमरी हराईरहेको राजनीति, युद्ध र गृह युद्धको आगोमा जलिरहेको राष्ट्र, प्राकृतिक विपत्ति र विज्ञानका विनाशकारी साधनहरुको होडवाजीले अवको समाज कता गइरहेको छ ? कल्पना गर्नुहोस आदरणीय पाठकगण…. अव पनि नसोचे कहिले सोच्ने आज नगरे कहिले गर्ने र हामीले नगरे कसले गर्ने ?
चरित्र मनुस्यको सर्वश्रेष्ठ पुंजी हो । यही चरित्रको आधारमा व्यक्तिको यथार्थ मूल्यांकन गरिन्छ । स्वर्णीम संसारको इतिहास उज्वल चरित्रको पृष्ठभूमीमा लेखियो । त्यसैले आज पनि जनमानसमा सत्यम् शिवम् सुन्दरम्को अवधारणा छ । मन्दिरमा विराजित देवी देवताहरुको मूर्तिमा पवित्रता र दिव्यताको आभास पाइन्छ । यही चारीत्रिक सम्पदाको अभिव्यक्ति हो । देव संस्कृतीमा दैहिक दैविक एवं भौतिक सम्पन्नता थियो सृष्टिको प्रथम चरण सत्ययुग र त्रेतायुगमा । अवको आवश्यकता हाम्रो गुमेको दैवी संस्कृतीको उत्थानका लागी आद्यात्मिकता र सांस्कृतिक जागरण हो ।
सांस्कृतिक परिवर्तनको अभियानमा सम्पूर्ण युवावर्गको सकृय सहभागिताको जरुरी भैसकेको छ । संस्कार परिवर्तनले संसार परिवर्तन संभव छ परन्तु हामीमा संयमता, दृढ इच्छा शक्ति र मनोवललाई पुर्नजागृत गर्नुछ । त्यसैले योगी वनौ पवित्र वनौ जीवनमा सच्चरित्रता अपनाऔं यही उद्घोष जन जनमा पु¥याऔं । मातृशक्तिको क्षमतालाई प्रत्यक्षता गर्ने समय आइसकेको छ । आजको दिनले हाम्रो दैवी सनातन संस्कृतिको रक्षाका लागी सोच्ने शुभ प्रेरणा समेत प्रदान होस ।
निकट भविश्यमा यस कलियुगी कालरात्रीको महाविनाश आइसकेकोछ । हाहाकार पश्चात अवश्यमेव जयजयकार हुनेछ । चारैतर्फ जलमग्न हुनेछ र अवनाशी भरतखण्डेमा श्रीकृष्णको दिव्य जन्म निश्चय नै हुनेछ, त्यसैको यादगार पर्व हो जन्माष्टमी । पुन यस पावन घडीमा यहांहरुको भौतिक तथा आद्यात्मिक उन्नति प्रगति हँुदै जावस् यही मंगमय शुभकामना ।