गोरक्ष समाचारदाता
दाङ, २ भदौ । दाङको घोराहीमा रहेको राप्ती इन्जिनियरिङ कलेजले प्रि–डिप्लोमा इन सर्भे इन्जिनियरिङ (अमिन) सातौँ व्याचमा भर्ना भएका विद्यार्थीलाई बिदाई गरिएको छ । बिदाई कार्यक्रममा बोल्दै राप्ती इन्जिनियनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवम् डा. भीमसेन गिरीले इन्जिनियरिङ शिक्षाको सहयोगले कलेजबाट उत्पादित सयौ विद्यार्थीले रोजगारी प्राप्त गर्न सफल भएको र विभिन्न कार्यालयमा कार्यरत रहेको बताए ।
डा. गिरीले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक रहेकाले आफूमा भएको सीपको सही प्रयोग गरी समाज र राष्ट्रको लागि स्मरणीय काम गर्न गाउँबस्तीसम्मै लैजान आवश्यक भएकोले यसलाई सबै विद्यार्थीको सामूहिक प्रयासबाट सम्भव हुने बताए ।
राप्ती इन्जिनियरिङ कलेजका डाइरेक्टर मधुसूदन वैद्यले कलेजका उत्पादनहरू मुलुक भर क्रमिक रूपमा फैलिँदै गइरहेकाले यसलाई अझ फलदायी बनाउन सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गरे । कलेजबाट उत्पादित विद्यार्थी विभिन्न सरकारी, गैरसरकारी क्षेत्रमा कार्यरत रहेको बताए । रेशम गिरीले विद्यार्थीहरूको नियमित सिकाइले मात्र लक्ष्य हासिल गर्न सकिने भएकोले सबैजना आफ्नो योजनाअनुसार आयोगको पढाइलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा कलेजका प्रशिक्षक रेशम विष्ट, बिदाइ हुने विद्यार्थीको तर्फबाट गीता गिरीलगायतले भनाइ राखेका थिए । कार्यक्रममा एकेडेमिक कोअर्डिनेटर बाबुराम जोशी, प्रमुख प्रशासकीय अधिकृत धनेश्वर चौधरी, प्रशिक्षक, कर्मचारीलगायतको सहभागिता रहेको थियो । प्रि–डिप्लोमा इन सर्भे इन्जिनियरिङका विद्यार्थी रविना केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशिक्षक विश्वबन्धु थापाले गरेका थिए । उक्त अवसरमा प्रि–डिप्लोमा इन सर्भे इन्जिनियरिङका विद्याथीहरूले नृत्य, कविता, मुक्तक, गजल प्रस्तुत गरेका थिए ।