बालाराम खड्का
तुलसीपुर, २ भदौ । ‘असारमा अलिअलि पानी प¥यो, साउन सुख्खा, आजदेखि भदौ लाग्यो, यो प्रकृति पनि किसानमारा भयो’, गर्मीमा पसिनाले लथ्रक्क भिजेका लमही निवासी उमेश बढाथोकीले भने । जलवायु परिवर्तन र अन्य कारणले गर्दा अतिवृष्टि, अनावृष्टि निम्तिएको तर्क रेशमबहादुर खड्काले गरे ।
‘विस २०२९ सालमा यस्तै भएको थियो, त्यो साल भोकमारी पनि प¥यो’, उनले भने । पानी पर्दै नपर्ने, अनावृष्टि, वर्षा नहुने विनाशकारी । त्यस्तै २०३३ सालमा पनि असार साउनमा पानी नपरेको र पछि कार्तिकसम्म पानी परेको तिलक केसी बताउँछन् । ‘असारमा सजिलै राप्ती नदी गाडीले तर्ने तर असोजमा पानी ज्यादा भएकाले राप्ती नदीले गाडीहरू रोकेको थियो । कसैले पनि त्यो साल धान सिहार्न पाएनन्, सबै डुबायो । अतिवृष्टि आवश्यकताभन्दा बढी वर्षा हुने विनाशकारी र अनावृष्टि वर्षा नहुने विनाशकारी अहिले देखापरेको सर्वसाधारणहरू बताउँछन् ।
प्राप्त वर्षात नहुँदा किसानहरूले लगाएको धानबाली सुक्न थालेका छ भने केहीले व्याड नै सुकेको बताए । ‘यो वर्ष पानी परेन आकाशको भरमा खेती गर्ने हामीले व्याड ठूलो र ढिला भएका कारण रोपाइ भएन, सबै जग्गा बाँझै छ’, तुलसीपुर–१३ की सुष्मा खड्काले भनिन् । उनीजस्तै बबई, दंगीशरणलगायतका क्षेत्रमा पनि व्याड सुक्दा रोपाइ नै भएन । जिल्लामा गत वर्ष भने शतप्रतिशत धान रोपाइ भएको थियो । रासायनिक मल नपाएका किसानले यस वर्ष प्रकृतिले पनि आफूहरूलाई विभेद गरेको गुनासो गरे ।
यो वर्ष अझै १३ प्रतिशत जमिनमा रोपाइ हुन बाँकी नै छ । जिल्लामा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा करिब ८७ प्रतिशत जमिनमा मात्र धान रोपाइ भएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ । केन्द्रकाअनुसार अझै जिल्लामा १३÷१४ प्रतिशत धान रोपाइ हुन बाँकी रहेको छ ।
यो वर्ष समयमा पानी नपरेका कारण घोराही र तुलसीपुरमा भदौ लाग्दा समेत रोपाइ जारी रहेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी मनोजकुमार सिंहले जानकारी दिए । जिल्लाको देउखुरी क्षेत्रमा मात्र शतप्रतिशत धान रोपाइ सम्पन्न भएको छ । अन्य पालिकाहरूमा भने रोपाइ हुन बाँकी रहेको छ । जसअनुसार देउखुरी क्षेत्रको राप्ती, गढवा, राजपुर र लमहीमा ९८ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ ।
तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र बबई गाउँपालिकामा ८० प्रतिशत रोपाइ भएको छ । रोपाइ भएकाहरूले धानबालीमा भने विभिन्न प्रकोपहरू देखिएका छन् । पानी अभावका कारण धान सुक्नुका साथै रोग देखिएको किसान बताउँछन् । ‘धान सबै सुकिसक्यो, रोगको प्रकोप पनि त्यत्तिकै छ, स्थानीय श्याम चौधरीले भने । हाल धान रोपाइ गरेका किसानहरू रोग लागेको भन्दै तुलसीपुरका एग्रोभेटहरूमा धाउने गरेका छन् ।