दलहरू जनमुखी नहुँदा वैकल्पिक शक्ति उदय

भूवन पोख्रेल
वि.सं. २०७२ सालमा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि संघर्ष, आन्दोलन, आवेग, प्रतिरोध, उत्तेजना होइन, नीति कार्यक्रम, सपना र समृद्धिको यात्रा सुरु भएको हो । जनताले शिक्षा, स्वास्थ्य, कृषि, यातायात आदि सबै क्षेत्रमा भएका समस्याका फेहरिस्त सुन्दा–सुन्दा जनता आजित भइसकेका छन् ।

अबको राजनीतिक वैकल्पिक शक्तिको विकल्प वा समाधान हुनुपर्छ । झुठको पुलिन्दा सुन्दासुन्दै जनता हैरान भइसकेका छन् । अब जनताले समस्या मात्र उठान गर्ने राजनीतिक शक्रि होइन समस्याको समाधान सहित जनता सामू आउने शक्तिको खोजी गरिरहेका छन् । प्रत्येक ठाउँमा समस्या देख्दा–देख्दा जनता थकित भइसकेका छन् । नेतृत्ववर्गले विपक्षीलाई अछितो काढेर गाली गरेको, आक्रोश प्रकट गरेको, विरोध गरेको सुन्दा–सुन्दा जनता वाक्क, दिक्क बनिसकेका छन् ।

सरल र सभ्य भाषामा आफ्ना योजना सहित समस्याको समाधान लिएर जनता माझ आउने वैकल्पिक नेतृत्वको खोजी जनता र मुलुकले गरिरहेका छन् । जनताले सपना बुन्न चाहन्छन् ।
हालैको काठमाडौं महानगरको मेयरमा बालेन साह वैकल्पिक नेतृत्वका रुपमा उदाउनुको कारण उनले कहिल्यै कुनै पनि राजनीतिक दलका नेतृत्ववर्गको विरोध, गाली, गलौज र आक्रोश पोखेनन् बरु सरल र सभ्य भाषामा समस्याको समाधान सहितको योजना सुनाए, सपना देखाए ।

जनताले पनि विपक्षी दल र नेतालाई गालीगलौज र विरोध गर्नुको साटो आफ्ना रणनीति र योजनाहरु अघि सारे । यी कुरा जनतालाई मन प¥यो र उनलाई जनताले विजयी बनाए । उनले काम गरेर देखाउन सक्ने नसक्ने आफ्नै ठाउँ छ तर उनको विजयले राजनीतिक दल र नेतृत्ववर्गलाई खतराको घण्टी पक्कै बजाएको छ ।

राजनीतिज्ञप्रति मात्र वितृष्णा हुँदै गर्दा नेता फेर्न सकिन्छ तर राजनीतिप्रति नै वितृष्णा पैदा भयो भने देशको व्यवस्था नै संकटमा पर्दछ । राजनीतिक व्यवस्था फेरियो तर दल र नेता र तिनको प्रवृत्ति फेरएन । मूलधारका राजनीतिक दल र नेताको कार्यशैली पनि उस्तै रहनाले विगत ५–७ वर्षदेखि देशमा वैकल्पिक राजनीति भन्ने शब्द चर्चामा रह्यो ।

मिलन पाण्डेदेखि रवीन्द्र मिश्रसम्म बालेन साहदेखि रवि लामिछानेसम्मकाले वैकल्पिक राजनीतिक शक्तिको रुपमा राजनीतिक सुदृढीकरण गर्ने आफूहरु लागिपर्ने जनताका समस्यालाई केन्द्रमा राखेर अघि बढ्ने भन्दै सबै जसो दल वा व्यक्ति मूलधारका राजनीतिक दलप्रति जनतामा बढ्दै गएको वितृष्णाबाट लाभान्वित हुने मोहमा मुलधारका दल र नेताप्रति घृणा, उत्तेजना र क्रोध ओकलेर जनताको सेन्टिमेन्टललाई पपुलर भोटमा रुपान्तरणगरी आफूहरु राजनीतिको सिँढी उक्लने प्रोत्साहन बढिरहेको छ ।

यसरी उदाएका वैकल्पिक शक्तिले समस्या अनेकौँ देखाउन सक्छन् तर समाधानका उपाय, योजना र रणनीति निर्माण गर्ने सामथ्र्य उनीहरुसँग हुँदैन । कथमकदाचित यिनीहरुले जितिहाले पनि पदमा पुगेर के गर्ने भन्ने पूर्वयोजना हुँदैन । क्षणिक आवेगमा उत्पन्न राजनीतिले समस्या सिर्जना गर्न त सक्छ । कहिलेकाहीँ कसैले विस्थापन र कसैको पदस्थापन त सम्भव होला, अन्ततोगत्वा परिणाम सुखद र असल नेतृत्व स्थापना गर्न मुस्किल प्रायः हुन्छ ।

अबको समाधान वैकल्पिक राजनीतिक शक्ति मात्र होइन दलहरुमा जनमुखी कार्यशैली हुनु पर्दछ । दलहरुले समाजका विविध हिस्साबाट आउने सुझाव र संकेत ग्रहण गरेर आफ्नो हँचुवा अवसरवादी कार्यशैलीमा रुपान्तरण गरी जनमुखी र जवाफदेही बनाउनुको विकल्प छैन । दल र नेताहरुको कार्यशैलीमा समयमै सुधार नभए जनताका असन्तुष्टि झाँगिँदै गएर विस्तारै राजनीतिक प्रणालीप्रति नै भरोसा टुट्नसक्छ ।

मुलुकमा व्यवस्था फेरियो तर जनताको अवस्था फेरिएन । मुलुकमा १०४ वर्षे निरंकुश जहानिया राणा शासनको पतनसँगै २००७ सालको प्रजातन्त्र आयो । कुलुकमा पञ्चायती व्यवस्था निर्दलीय थियो । वि.सं. २०४६ सालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था आयो । जसको फलस्वरुप विभिन्न राजनीतिक दल र नेताहरु शासन सत्तामा पुगे । २०५२ सालतिर माओवादी जनयुद्ध सुरु भयो । यो पनि वैकल्पिक शक्तिको सुरुवात थियो तर यसको लोकप्रियता र नेताहरुको प्रतिष्ठाको ग्राफ तल झ¥यो ।

वि.सं. २०६२÷०६३ को दास्रो जनआन्दोलन भयो । माओवादी सशस्त्र युद्ध रोकेर शान्ति प्रक्रियामा आयो । वि.सं. २०७२ सालमा संविधानसभाबाट संविधान लेखियो । दलहरुको तडकभडक र नेताहरुको तामझामले राजनीति भनेको छिटो लाभ दिने सुविधाभोगी पेसा रहेछ भन्ने छाप दिएको छ । नेतृत्ववर्ग भ्रष्टाचारी भएका कारण आम जनताले नेतालाई घृणा गर्न थाले । राजनीतिक दलको कार्यशैली उपयुत्तः हुन नसक्नुको कारण जनताको आस्था र धीरताको बाँध टुट्न पुगेको हो ।

सञ्चार माध्यममा दिनहुँजसो जनताले भोगेका दुःख, कष्ट, पीडा, नियम कानुनको पालना नभएको समाचार प्रवाह भइरहे । नोले स्रोत साधनको दुरुपयोग गरेका खबर सुन्नमा आए । नेतृत्ववर्गले लोकतन्त्रको आधारभूत मूल्य र मान्यता विपरीतको कार्यशेली तथा अवसरवादी कार्यशैलीका कारण वैकल्पिक राजनीतिक शक्तिले धमाधम टाउको उठाउन थालेका छन् ।

सर्वसाधारण जनता निराशा व्याप्त छ । यही मौकामा राजनीतिक परिवर्तन नरुचाइरहेको तत्वले लोकतान्त्रिक प्रणालीकै विरोधमा मलजल गरिरहेको छ । नेतृत्ववर्गले जनमुखी कार्यशैली नअपनाएका कारण जनआक्रोश बढ्दो छ । जनतामा उठेका असन्तुष्टिले जुनसुकै बाटो लिनसक्ने संकेत विभिन्न सूचकहरुले दिइरहेकै छन् ।

नेपालमा वैकल्पिक राजनीतिक शक्तिको वकालत गर्ने प्रचलनको लहर २००७ सालदेखि हो । २००७ सालको परिदृश्यमा नेपाली कांग्रेस आफैमा वैकल्पिक राजनीतिक शक्ति थियो । तत्कालीन प्रजापरिषदको राजनीतिक विकल्पको रुपमा कांग्रेस उदाएको थियो । मूलधारको राजनीतिमा स्थापित हुँदै गर्दा कांग्रेसका क्रान्तिकारी नारा शिथिल र भुत्ते बन्दै गएपछि सशक्त रुपमा कम्युनिस्ट शक्तिको रुपमा एमाले उदियमान भयो । एमाले सत्तामा पुगेपछि विस्तारै पथभ्रष्ट बन्न पुग्यो ।

एमाले पनि कांग्रेसभन्दा अझ तल्लो पंक्तिमा पुगेपछि त्यही एमाले फुटेर माले वैकल्पिक शक्तिका रुपमा उदायो । त्यसपछि कालान्तरमा एमालेमा वैकल्पिक बामपन्थी सोच पनि उदाउँदै गयो । यसरी वैकल्पिक शक्ति देखापर्ने बिलाउँदै जाने सोच हाबी भएको छ । त्यसपश्चात नेपालको राजनीतिक परिदृश्यमा वैकल्पिक शक्तिको रुपमा वि.सं. २०५२ तिर ज्वालामुखी विष्फोटन भए जसरी माओवादी सशस्त्र जनयुद्धले आमूल परिवर्तनको नारा बोकेर मुलुक र जनतामा आतंक, त्रास, डर, भयको हिंसात्मक हलचल मच्चियो ।

कैयौँ विस्थापित भए, कैयौँको सिन्दुर पुछियो, बालबालिका असहाय र टुहुरा बन्न पुगे, कैयौ अपाङ्ग बन्न पुगे । अझै पनि जनयुद्धको घाउमा खाटा बस्न पाएको छैन । कैयौँ विद्यालय उमेरमा पढ्ने बालबालिका शिक्षाको अवसरबाट वञ्चित बन्न पुगे । सशस्त्र द्वन्द्वको जगमा स्थापित भएको माओवादीलाई कांग्रेस र एमाले जस्तै बन्न पुग्यो भन्ने आरोप लगाउँदै मधेशवादी, नयाँशक्ति, केही क्षेत्रीय दल खुले ।

नेपालमा वैकल्पिक राजनीतिक शक्तिका प्रयास निरर्थक सावित बन्न पुगेको इतिहास सक्षी छ । वि.सं. २०३६ सालको जनमतसंग्रहमा पञ्चायती व्यवस्थाका बखत बहुदलीय व्यवस्था र निर्दलीय व्यवस्थाका लागि जनमत निर्दलीय पञ्चायती व्यवस्थाकै पक्षमा उभिएको दृष्टान्तबाट पनि भन्न सक्छौँ । नेपाली जनताले वैकल्पिक राजनीतिक शक्तिलाई बारम्बार घुँडा टेकाएको इतिहास हम्रा माझ छ । विडम्बना नै मान्नुपर्छ नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयास बारम्बार तुहिएको इतिहास छ ।

नेपालमा माओवादी पार्टी छोडेर नयाँशक्ति गठन गरेका डा बाबुराम भट्टराई, विवेकशील अभियानबाट राजनीति थालेका स्वर्गीय उज्ज्वल थापा, बिबिसी नेपाली सेवाको जागिर छोडेर साझा पार्टी गठन गरेका रवीन्द्र मिश्र, अधिवक्ता स्वागत नेपाल, पूर्व डिआइजी रमेश खरेलले पनि आफूलाई वैकल्पिक राजनीतिक शक्तिको वाहक माने तर सफलता चुम्न र जनमत बटुल्न सोजस्तो सजिलो छैन । यो क्रमलाई सञ्चारकर्मी तथा पत्रकार रवि लामिछाने निरन्तरता दिँदै स्वतन्त्र पार्टी गठन गर्दै जनतामाझ उदियमान वैकल्पिक राजनीतिक शक्तिका रुपमा जुर्मुराएका छन् ।

संक्षेपमा हेर्ने हो भने वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने व्यक्ति वा समूहका उद्देश्य, एजेण्डा, घोषणापत्र, लक्ष्य एउटै प्रकृतिका देखिन्छन् । मुलुकको आमूल परिवर्तन र रुपान्तरण परम्परागत दल र पुरानै नेतृत्ववर्गबाट नहुने र आफूहरुले राजनीतिको फोहरी खेलमा शुद्धिकरण गर्ने भन्दै राजनीतिमा विकल्प दिन आएको दाबी गर्छन् । जनताका पिरमर्का, गुनासा, समस्यालाई बुझेर समाधानको सही विकल्पमा पुग्ने रणनीतिक योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछन् ।

वैकल्पिक राजनीतिक शक्ति दलीय पुस्तान्तरणका विरुद्धमा देखापरेको छ । यदि राजनीतिक दल र नेतृत्ववर्ग बेग्लैमा सचेत नबनेर जनतालाई आक्रोशित बनाउँदै गर्ने हो भने जनताको राजनीतिक दलका नेताहरुप्रति वितृष्णा बढ्दै जान्छ ।

नेतृत्ववर्गतर्फ मात्र असन्तुष्टि बढ्ने होइन, राजनैतिक प्रणालीप्रति वा राजनैतिक व्यवस्थाप्रति वितृष्णा बढेर जान्छ । जसको परिणाम स्वरुप मुलुकमा वैकल्पिक राजनीति मौलाउँदै जान्छन् । दलहरुमा जनमुखी कार्यशैलीको खडेरीका कारण वैकल्पिक शक्ति उदियमान भएको हो । नेपालका पुराना दललाई ठेगान लगाइदिने दाबीका साथ नयाँ वैकल्पिक शक्ति देखापरेका छन् ।

नेपालमा वैकल्पिक राजनीतिको नाममा जतिसुकै प्रयास भए पनि असफल हुनुका पछाडि नारा लोकप्रिय तर रणनीतिक व्यवहार भुत्ते भएरै हो । विवेकशील र साझा पार्टी पनि वैकल्पिक शक्तिकै रुपमा उदाएका थिए । जसरी वाह ! वाह !! भएका थिए, त्यसरी नै एकाएक विलिन बन्न पुगेका छन् । स्वतन्त्रको लहर चलेका बेला रवि लामिछानेले नयाँ स्वतन्त्र पार्टी खोलेका छन् । यसले पनि नेपाली राजनीतिमा केही परिवर्तन ल्याउँदैन ।

वैकल्पिक राजनीतिक शक्तिको स्थापना गर्ने व्यक्ति पुराना दलमा स्पेस नपाएका, काम नगर्ने गफ हाक्ने प्रवृत्तिका हुन्छन् । राजनीतिमा अवसरको भ¥याङ चढ्ने, त्याग र इमान नभएका छन् । त्यसर्थ, जनताले केही समय वाह ! वाह !! र थपडी पिटे पनि जनमत पुरानै दल र नेताहरुलाई दिन्छन् । वैकल्पिक शक्तिको वाणिमा जनता बग्दैनन् बरु मझधारमा उभिन्छन् र तैरिएर आफ्नो पुरानै किनारमा उभिन्छन् ।

वैकल्पिक राजनीतिक अस्थिरताको सूचक हो, बरु पुरानै राजनीतिमा जनमुखी रणनीतिक कदम चाल्नु आजको आवश्यकता हो । पुराना राजनीतिक दल र नेतृत्ववर्ग पथभ्रष्ट नभइ जनमुखी कदम चाल्दै जनताका आवश्यकता समस्यालाई सम्बोधन गर्नु पर्दछ ।