मेरो खुशी : पत्रिकामा कार्टुन छापिँदा…

काठमाडौंतिर पत्रकारितामा कार्टुनको महत्व धेरै भए पनि दाङमा कार्टुनको महत्व कम नै छ । त्यसैले होला दाङमा धेरैले कार्टुन हेर्ने गर्नुहुन्न । प्रतिक्रिया पनि खास्सै आउँदैन तर पनि करिब १५ वर्ष अघिदेखि उत्तमले विभिन्न विषयमा कार्टुन बनाउने काम गर्दै आएका छन् । कार्टुनका माध्यमबाट विकृति र विसंगतिका विरूद्धमा सन्देश प्रवाह गर्दै आएको उनले बताए ।

राष्ट्रियस्तरमा उठेका विषयवस्तुदेखि बालबालिकाहरूसँग सम्बन्धित विभिन्न विषयहरूमा उनले नियमित कार्टुन बनाउने गर्दछन् । व्यवसायका रूपमा प्रिन्टिङ तथा आर्ट भए पनि सहायक पेसाका रूपमा उनले कार्टुन बनाउने काम गर्दै आएका छन् । बनाएका कार्टुनहरूमध्ये केही कार्टुनहरू पत्रकारितामा छापिन्छन्, कति पछिल्लो समय सामाजिक सञ्जालमा राख्छन् भने कत्ति त त्यत्तिकै खेर जान्छन् । त्यसको उनीसँग लेखाजोखा छैन तर पनि उनी आफ्नो सन्तुष्टिका लागि भए पनि नियमित रूपमा विभिन्न विषयमा कार्टुन बनाउने काम गर्छन् ।

तिनै कार्टुनमध्यको पहिलो पटक पत्रिकामा छापिदाँको खुसी बेग्लै भएको घोराही उपमहानगरपालिका–१५ निवासी उत्तमकुमार गुप्ता बताउँछन् । ‘म घोराहीकै स्कूलमा पढ्थे । त्यो बेला युगबोध पत्रिका मात्र थियो । अहिले जस्तो धेरै पत्रिका थिएनन् । त्यसैले कार्टुन बनाएर छाप्नका लागि पत्रिकाको अफिसमा दिएको थिएँ’, उनले भने, ‘कार्टुन पत्रिकामा छापिएको हेर्ने ठूलो रहर थियो तर कार्टुन भोलि पल्टको पत्रिकामा छापिएन । पत्रिकामा नछापिएपछि नराम्रो लाग्यो । पत्रिकामा गएर भनेपछि आउँछ भन्नुभयो ।

त्यसको २÷३ दिनपछि पत्रिकामा छापियो । आफैले बनाएको कार्टुन पत्रिकामा छापिएको देख्दाको क्षणको खुसी कति हुन्छ भनेर अहिले भन्न सकिँदैन ।’ पहिलो पटक पत्रिकामा छापिएको कार्टुनले उत्तमलाई काटुनिस्टका रूपमा स्थापित गर्नसँगै नियमित रूपमा बनाउन प्रेरित गरिरहेको छ । उनले पहिलो कार्टुनपछि व्यङ्ग्यसँगै सन्देश कसरी दिन सकिन्छ भनेर सिकेको बताउँछन् । ‘पहिलो पटक कार्टुन बनाएपछि व्यङ्ग्य मात्रै होइन कसरी कार्टुनबाट सन्देश दिन सकिन्छ भनेर बझुने अवसर प्राप्त गरे । त्यही अनुसारको सुझाव पनि पाएको थिएँ’, उनले भने, ‘त्यसपछि बनाउने हरेक कार्टुनमा व्यङ्ग्यसँगै सन्देश दिने गरी बनाउने गरेको छु ।’

कार्टुनले देशका चर्चित कार्टुनिस्टहरूसँग परिचित गराएको छ । उनी भन्छन्, ‘केही पाउनका लागि बनाउने काम गरेको छैन, मनको सन्तुष्टिका लागि बनाउने गरेको छु । खाली भएपछि के विषयमा बनाउने भन्ने दिमागले सोच्ने गर्छु अनि पेन्सिलले स्किेज कोर्छ र त्यसलाई स्क्यान गरेर कम्प्यूटरमा राखेर सजाउने गर्दछु ।’ उनी भन्छन् प्रविधिको अभावका कारण कार्टुनलाई राम्रो फिनिसिङ दिन सकेको छैन् तर जति गरेको छु राम्रो गरिरहेको छुझै लाग्ने गरेको छ ।

घोराहीमा अंकल गणेशप्रसाद गुप्ताको आर्ट पसल थियो । त्यो पसलमा विभिन्न बोर्ड बनाउनदेखि चित्रहरू बनाउनका लागि मानिसहरू आउँथे । त्यो बेला उत्तमको उमेर सानो थियो । उनी अंकलसँगै पसलमा जान्थे । अंकलले खाली समयमा पसलमा सरसफाई गर्नेदेखि लेख्न पर्दा उत्तमलाई भन्थे । उत्तम खुसीले काम गर्थे । भित्ताहरूमा वाल–पेन्टिङ गर्नेदेखि चित्रहरू बनाउने काम गर्दथे । त्यसरी नै उनले विभिन्न चित्रहरू बनाउन सिक्दै गएको बताउँछन् ।

उनले कार्टुन बनाउने काम गर्दै गर्दा घोराही–१८ मा रहेको लिटिल एञ्जल बोर्डिङ स्कूलमा करिब दुई वर्ष ड्रोइङ टिचरका रूपमा पढाउने काम गरे । त्यही बीचमा बालबालिकाहरूका लागि आवश्यक ‘आर्टस् बुक फर चिल्डे«न ड्रोइङ’ बुक निकाले । स–साना बालबालिकाहरूका लागि आवश्यक बुक निकाल्दाको क्षण पनि खुसीको अर्काे क्षण हो’, उनी भन्छन्, ‘सानैदेखिको कार्टुन बनाउने रहर । त्यही रहरलाई पूरा गर्नका लागि बुक निकालेर विभिन्न स्कूलमा विक्री गर्ने काम गरेको थिएँ ।’

उक्त पुस्तक निकाल्नका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाका तत्कालीन अध्यक्ष सुशील गौतम र पत्रकार शारदा शर्माले ठूलो सहयोग गरेको उत्तम बनाउँछन् तर आर्थिक अवस्था सुधारका लागि उनी आर्टस्सम्बन्धी कामकै लागि विदेश गए । त्यहाँ करिब दुई वर्ष बसेपछि उनी स्वदेश आएर अहिले आफ्नै आर्टस् व्यवसायसँगै विगत २÷३ वर्षदेखि विभिन्न सञ्चार माध्यमसँग जोडिएर कार्टुनदेखि विभिन्न नेताहरूको स्केज बनाउने काम समेत गर्दै आएका छन् ।

२०४२ साल जेठ १७ गते घोराही उपमहानगरपालिका–१५ मा बुबा राजकुमार गुप्ता र आमा स्व. सरस्वतीदेवी गुप्ताको कोखबाट जन्मिएका थिए । घोराही उपहानगरपालिका–१५ काठेकोहल स्थित सरस्वती माध्यमिक विद्यालयबाट औपचारिक पढाइ सुरु गरेका उनले काठेकोहलमा आठ कक्षासम्म अध्ययन गरेका थिए । कक्षा ९ र १० भरतपुर स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा अध्ययन गरेका उनले व्यवसायका कारण पढाईलाई अघि बढाउन नसके पनि अनौपचारिक शिक्षालाई भने निरन्तरता दिँदै आएका छन् । २०७० सालमा लक्ष्मी गुप्तासँग वैवाहिक विवाह बन्धनमा बाँधिएका गुप्ताकी पाँच वर्षीया छोरी स्वस्तिका रहेकी छिन् ।