नारायणप्रसाद श्रेष्ठ
संकल्पको माध्यमबाट आफू र आफ्नो परिवेशलाई पवित्र गंगासागर सरी स्वच्छ राखी मोह र मायाले उत्पन्न गर्ने क्षणिक बसिकरणको पहिचान गरेर बुद्धि र विवेकी बनी जीवनको गोरेटोलाई सहज गति दिनु भनेको जीवनलाई सफलता उन्मुख बनाउनु हो । सोच र चिन्तनबाट उब्जने जति पनि आरोह अवरोह, दुःख कष्टहरु छन्, ती सबै मानिसको स्वार्थपरक चिन्तनले ल्याएको परिणामहरु हुन् ।
जीवनलाई के, किन र कसरी गतिशील बनाउने हो ? त्यो मानिस स्वयम्ले निर्धारण गर्नुपर्ने हुन्छ । तसर्थ, जीवनलाई गतिशीलता दिने हरेक गोरेटोमा देखापर्ने काँडालाई पन्छाउँदै सहज अवतरण दिनु बुद्धिमानी मानिन्छ । जीवन काँडारुपी गुलावको फूलसरी हुर्कने सत्य भएकोले यहाँ आउने सबै समस्याको समाधान जीवन स्वयम्ले ग्रहण गर्दै गुलावको सुगन्धसरी सबैको आकर्षण बन्न सक्ने सामथ्र्य राख्न सक्नुपर्छ ।
सुन्दरता कलाकारको कलाकारिताले शृंगारिएको गहना हो । कलाकारको सीप र जाँगरबाट नै सुन्दरताले विभिन्न रुपहरु धारण गर्न सक्छ । जसरी तापको माध्यमबाट कारिगढले सूनलाई आफ्नो इच्छाअनुसारको गहना निर्माण गरी आभूषणको रुपमा आकर्षण गराइरहेको हुन्छ । त्यसरी नै सृष्टिको रचनाकारले पनि मानव जीवनको रुप र रँगमा विविध किसिमको ताप दिइ जीवन र जगतलाई चलायमान बनाएको हुन्छ ।
आगोको ताप र समयको परिवर्तनसँगै जीवनको रुप, रँग, गन्ध, स्पर्ष र गतिशीलतामा परिवर्तन गराइरहेको हुन्छ । उसले यसको महत्वलाई आफ्नो मूल्य र मान्यताअनुरुप प्रस्तुत गर्ने क्रममा हरहमेसा परीक्षाको कसौटीमा जीवन र जगतलाई निखारिरहेको हुन्छ । मानव जीवन परीक्षाको त्यो कसौटी हो जहाँ हरेक पल मानवले आफूलाई प्रस्तुत गरिहनु पर्छ । निर्माणकर्ताको निर्देशनअनुसार जीवनलाई चलायमान गराइरहनु पर्छ । यो कुरा मानव सोचभन्दा धेरै टाढा पनि छ ।
भनिन्छ जीवन परीक्षा नै परीक्षाले भरिएको त्यो रुप हो, जसले आफ्नो क्षमता र पुरुषार्थलाई हरहमेसा तराजुमा तौलेर प्रस्तुत गरिरहनु पर्छ । कुन कुरा र व्यवहार प्रयोग गर्दा मानिस आफूलाई खुसी र सफल बनाउन सक्छ र कुन कुरा गर्दा मानवोचित गुणको वर्खिलाप हुन्छ त्यो सधैँ छुट्याइरहनु पर्छ । चुनौती र अवसरलाई प्रयोग गर्दै सधैँ विवेकलाई मनको तराजुमा तौलेर सक्षमतातर्फ अग्रसर भइरहनु पर्छ ।
तसर्थ, जीवनको सुरुवातसँगै देखापर्ने माया, मोह र आकर्षणमा ल्याउने परिवर्तनलाई जीवनको उद्देश्यसँग गाँसेर समय परिवर्तनशील छ र यसले कसैलाई पनि पर्खँदैन । तसर्थ, यसको परिवर्तित सत्यसँग जुध्दै परीक्षामा सफलता पाउने मानव जीवनको उद्देश्य रहनुपर्छ । त्यसैले घृणा र द्वेषले ल्याउने गलत मानसिकता र दुष्कर्मतर्फ सचेत रही जीवनलाई असफलतातर्फ डो¥याउने तत्वसँग सावधान रहेर जीवनले निर्धारण गरेको कर्मको परीक्षामा सफलता हासिल गर्दै अगाडि बढ्नुपर्ने हुन्छ ।
परीक्षामा सफल असफल हुने कुरा जीवनमा आफैले निर्धारण गरेको कर्मले निश्चित गर्ने हुँदा प्रत्येक कर्मलाई परीक्षाको कसौटीमा उत्तीर्ण गराइ व्यवहारमा लगाउनु आफै प्रयत्नशील रहनुपर्छ । जीवनलाई पतीतबाट पावन बनाउन अवसर जुटाइदिने त्यो अवसरलाई धन्यवाद दिँदै अगाडि बढ्नु पर्छ । जीवन आशा र भरोसाको शक्तिकेन्द्र भएकोले बाह्य आवरणमा आउनसक्ने निराशाको बादललाई पन्छाउँदै संकल्प नै सफलताको कडी हो भन्ने ठान्नुपर्छ ।
ज्ञानको स्वरुप मानव जीवनमा लुकेको क्षमतालाई पहिचान गरी जीवनको पूर्वार्धदेखि उत्तरार्धसम्मको यात्रालाई सहज बनाउन जीवनको डुङ्गालाई एक किनाराबाट अर्को किनरामा लैजानसक्ने पुरुषार्थी बन्न सक्नुपर्छ । जसरी नदीको वहाबमा रहेका फोहरहरु नदीले आफै किनारा लगाई पाखा लगाउन सक्छ, त्यसरी नै मनको पवित्र गंगाको निखारले कर्मको वहावमा आउने दूषित वातावरणलाई सहजै किनारा लगाउन सक्षम र दृढ बन्न सक्नुपर्छ ।
यो कुरा जीवनरुपी डुङ्ग खियाउने ड्राइभररुपी मानवले बुझ्न जरुरी छ । जीवनलाई निर्धक्कसँग आशा र विश्वासका साथ अगाडि बडाउनु पर्छ । यसको लागि संकल्प र लगनताका साथ हरेक कर्मभित्र रहेको समस्यालाई निराकरण गर्दै अगाडि बढ्नु पर्छ । समयको परिवर्तनसँगै कहिलेकाहीँ आउने अप्रत्यासित अप्ठेरो क्षणलाई पनि निश्चिन्त भएर मनको दृढतासँगै सहनसक्ने क्षमतालाई मजबुत बनाएर अगाडि बढ्न सक्नुपर्छ ।
जसरी वृक्षले कहिलेकाहीँ आउने हुरी, बतास, बाढी, पहिरोलाई सहन गर्दै आफूलाई अरुको भलाई खातिर उभिने क्षमता राखेको हुन्छ । हावामा आएको परिवर्तनले विरुवामाथि परेका दबाब जसरी वृक्षले नुहेर पनि आफ्नो स्थिति मजबुत बनाएको हुन्छ, त्यसरी नै मानव जीवनमा पनि त्यस्ता घटना नआउला भन्न सकिन्न । तसर्थ, त्यसको लागि धैर्य र सहासको माध्यम आफूलाई परीक्षामा सफल बनाउँदै अघि बढ्नु पर्छ ।
बाह्य वातावरणबाट आउने क्षणिक अवरोधलाई यो सामान्य हो भनी आफूलाई प्रस्तुत गर्नुपर्छ । कहिलेकाहीँ जीवनमा आउने निराशावादी अवसकुन सोचलाई पन्छाउँदै यी त सामन्य हुन्, यिनले मेरो सफलतामा कतै असर पर्न सक्दैनन् भनी मनलाई दृढ राखी परीक्षामा सफल हुन सक्नुपर्छ । कार्यमा सधैँ समर्पित भइरहनुपर्छ । आफ्नो हरेक उद्देश्य र कर्ममा सही र स्पष्ट गन्तव्य निर्धारण गरी कर्म र व्यवहारलाई सकारात्मक उन्मुख अगाडि बढाइरहनु पर्छ ।
जीवनको गति छोटो र अनिश्चित छ । यो कुन बेला अन्त्य हुने हो यो कसैलाई थाहा छैन । त्यसैले मानव जीवनमा आफूले गर्न चाहेको र गर्न खोजेको कुनै पनि सकारात्मक कर्मलाई समय छँदै सदुपयोग गर्न जान्नुपर्छ । मध्याह्नको सूर्यको रोशनीलाई बिहानको झुल्के घाम भनी खोज्न लाग्ने मानसिकता, सोच र चिन्तनलाई हटाइ तथा मनको पवित्रतामा आउने कुविचारलाई हटाइ विवेकशील बनेर उदाउँदो सूर्यको झुल्के घाम पछि मध्याह्न हुने सत्य बुझ्ने कोशिस गर्नुपर्छ । मनको दृढता नै परीक्षामा सफल हुने सबैभन्दा महत्वपूर्ण उपाय हो ।
त्यसैले मानव आकृतिमा देखिने सुन्दरता र कुरुपतालाई वास्ता नगरी उसको पवित्रतालाई ध्यान दिन सक्नुपर्छ । भित्रैबाट प्रवाहित हुने उसको भावना र संकल्पलाई हेरेर सत्यको पहिचान गर्न सक्नुपर्छ । मानव आत्माभित्र जुन सत्यता लुकेको हुन्छ, जुन क्षमताले उसले अरुको विचार, भावनालाई सकारात्मक सोचका साथ सुप्रवृत्ति मार्गमा डो¥याउँछ, त्यो क्षमतालाई पहिचान गरी अन्तरहृदयभित्रको सुन्दरतालाई पहिचान गर्न सक्नुपर्छ ।
जसरी एउटा विद्यार्थीले परीक्षामा सफलता हासिल गर्दा खुसी, उमंग र आनन्दको अनुभूति गर्दै खुसी साटासाट गरिरहेको हुन्छ, त्यसरी नै जीवनमा पनि सफलता हासिल गरी खुसी र उमंग बाँड्ने भावनाको विकास गरिरहनुपर्छ । विचार र संकल्पमा तालमेल हुने गरी सही समयमा सही कर्म गरी सही र सत्य विचार प्रवाहित गर्ने सत्पुरुषार्थी बन्नुपर्छ । कर्म गर्ने नाममा जथाभावी गर्न हुँदैन । मैले त मेरो गर्नुपर्ने कर्म गरेकै हुँ, सफलता अवश्य पाउँछु भनी समयको गतिलाई र परीक्षाको आदर्शतालाई यदि पहिचान गर्न नसक्ने हो भने कुनै पनि कर्मले सकारात्मक भाव पैदा गर्न सक्दैन ।
तसर्थ, व्यक्ति, स्थान, समय र कर्मको तालमेल मिलाइ मानव आत्माभित्रको सत्यतालाई पहिचान गरेर आफूलाई सर्वाजनिक जिम्मेवारी बोकेको सगुन साकार मानव जीवन ठानी सहज गतिमा यथार्थपरक सत्यको धरातलमा रही परीक्षामा खरो उत्रने गरी प्रस्तुत हुनु पर्छ । जीवनलाई सहज गति दिन परीक्षा मलाई शुद्ध र पवित्र बनाउ आएको अवसर हो भन्ने ठानी परीक्षामा सफल हुनु नै जीवनको वास्तविकता हो र यसबाट नै मानव जीवनले सफल आरोहण गर्न सक्छ भन्ने मान्यतामा आफू दृढसंकल्परत रहनुपर्छ ।
वर्तमान समयमा देखापरेको अवसरवादी चरित्रलाई यो मेरो धोका हो भन्ने बुझी यथार्थ र सत्यमा आधारित सकारात्मक प्रवृत्ति मार्गमा देखापर्ने अवसरलाई आफ्नो अमूल्य समय सम्झी खरो र सकारात्मक शक्तिको रुपमा आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । वर्तमानले यही खोजिरहेको छ ।