गोरक्ष समाचारदाता
दाङ, १ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा एक सय बढी महिलाले निःशुल्क प्रसुती सेवा पाएका छन् । प्रतिष्ठानले बैशाख १ गतेदेखि निःशुल्क प्रसुती सेवा दिन थालेपछि सुत्केरी हुन आउने महिलाको संख्या पछिल्लो महिनाहरूमा अत्यधिक बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले बताए ।
उनकाअनुसार आइसियु, भेन्ट्रिलेटर, बच्चाको लागि एनआइसियु, पिआइसियु सेवासहित विशेषज्ञ चिकित्सक थपेपछि बिरामीको चाप अस्पतालमा विगतको भन्दा धेरै बढेको बताए । उनले सीमित स्रोत साधनको वावजुद पनि राम्रा–राम्रा विशेषज्ञ चिकित्सक थप्ने तयारीमा प्रतिष्ठान रहेको बताए । प्रतिष्ठानमा अहिले मात्रै दैनिक ओपिडीमा विशेषज्ञ चिकित्सकसँग देखाउने बिरामीको संख्या ७ सय बढी छ ।
प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने नेतृत्वमा आएपछि प्रसुती सेवा निःशुल्क गर्ने पहिलो निर्णय गरेका थिए । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले अस्पतालमा बितेको ४ महिनामा सामान्य र जटिल गरेर ९ सय बढी महिलाले निःशुल्क प्रसुती सेवा पाएको बताए । उनकाअनुसार ५ सय ८ जना महिलाले नर्मल डेलिभरी सेवा र ३ सय ७९ जना महिलाले जटिल प्रकृतिको प्रसुती सेवा पाएका छन् ।
प्रतिष्ठानमा प्रसुती सेवा निःशुल्क भएपछि सुत्केरी भएर आउने महिलाको संख्या दिन प्रतिदिन वृद्धि हुँदै गएको प्रतिष्ठानका शिक्षाध्यक्ष तथा प्रसुती रोग विशेषज्ञ डा. बसन्त लामिछानेले बताए । गएको बैशाखमा १ सय २ जना महिलाले नर्मल डेलिभरी, ६८ जना महिलाले जटिल प्रकृतिको प्रसुती सेवा लिएका छन् भने जेठमा १ सय ४० जनाले नर्मल, ९४ जनाले जटिल किसिमको प्रसुती सेवा पाएका छन् ।
असारमा १ सय ५४ जनाले नर्मल, १ सय जनाले जटिल, साउनमा १ सय ६६ जना नर्मल र १ सय १७ जना महिलाले जटिल प्रकृतिको प्रसुती सेवा पाएका छन् । प्रतिष्ठानमा प्रसुती रोग विशेषज्ञ डा. बसन्त लामिछाने, शिशिर कवँर, सुगन्ध श्रेष्ठ र मेडिकल अफिसर एलिना धितालले प्रसुती विभागबाट सेवा दिइरहेका छन् ।