पूर्वाधार विकास नै प्राथमिकता : मन्त्री चौधरी

बहुउद्देश्यीय सभाहलको उद्घाटन
अमरराज आचार्य
दाङ, ३० साउन । जिल्ला सदरमुकाम घोराहीमा रहेको बहुउद्देश्यीय सभाहलको उद्घाटन गरिएको छ । यस अघि नै सो सभाहलमा विभिन्न कार्यक्रम भइराखेका थिए तर आइतवार सहरी विकासमन्त्री मेटमणि चौधरीले सभाहलको औपचारिक रूपमा नै उद्घाटन गरेका छन् । यस प्रकारको सभाहल जिल्लाकै पहिलो हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा सभाहलको निर्माण भएको थियो । सभाहलमा झण्डै १ हजार मान्छे अटाउने क्षमताको छ । संघले सभाहल निर्माणका लागि सभाहल निर्माण स्थलमा रहेका सुकुम्बासीहरू व्यवस्थापनका लागि जग्गा किनेर उनीहरूलाई व्यवस्थापन गर्ने काम गरेको थियो । सभाहल निर्माणको लागि उवासंघले महोत्सवमा प्रत्येक व्यक्तिहरूबाट ५ रूपैयाँ अभियानलगायतका कार्यक्रम समेत सञ्चालन गरेको थियो । सबैको साथ र सहयोगले नै अहिले निर्माण गर्न सकिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए ।

‘यस क्षेत्रको लागि अत्यन्त आवश्यक रहेको सभाहल निर्माणका लागि सबै क्षेत्रको सहयोग पाएर नै निर्माण सम्पन्न गर्न सकिएको हो’, अध्यक्ष बुढाथोकीले भने । सभाहल निर्माण सम्पन्न भए पनि अझै केही काम गर्न बाँकी भने छ । सभाहलको लागत अनुमान ३८ करोड २० लाख ९३ हजार छ । सभाहलको लागि सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा बजेट विनियोजन गरेको संघन सहरी तथा भवन निर्माण आयोजना दाङका प्रमुख खड्गबहादुर चौधरीले जानकारी दिए ।

पहिले ३० करोड २५ लाख २२ हजारमा निर्माण सम्पन्न गर्ने गरी साविक सहकारी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दाङ र बंगलाचुली÷गौरी–पार्वती जेभी काठमाडौंबीच सम्झौता भएको थियो तर केही अत्यावश्यक आइटमहरू थप गर्नुपर्ने भएकाले ३१ करोड ३० लाख ९६ हजारमा निर्माण भएको आयोजना प्रमुख चौधरीले बताए । निर्माण व्यावसायीसँग २०७६ पुस २९ गते २७ महिना म्याद दिएर निर्माण सम्पन्न गर्ने गरी २०७४ असार २९ गते सम्झौता भएको थियो तर विभिन्न कारणले गर्दा निर्माण कम्पनीले २०७८ असोज २२ गते निर्माण सम्पन्न गरेको हो । सभाहल ४ तलाको छ ।

सभाहलको उद्घाटन गर्दै मन्त्री चौधरीले सरकाले पूर्वाधार विकासमा प्राथमिकता दिएर काम गरिरहेको बताए । ‘सहरलाई व्यवस्थित र सुन्दर बनाउन पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ’, मन्त्री चौधरीले भने, ‘पूर्वाधार विकाससँगै आर्थिक विकासमा समेत सहयोग पुग्नेछ ।’ जिल्लाको पूर्वाधारको विकासमा सबै ऐक्ताबद्ध भएर अगाडि बढ्नुपर्ने समेत मन्त्री चौधरीले बताए । ‘संस्थागत नेतृत्व गरेर अगाडि बढेमा काम गर्न सहज हुनेछ’, उनले भने ।

सभागृह निर्माण सम्पन्न भए पनि सजावट, भिआइपी रूपका लागि आवश्यक सामग्री तथा अन्य सामग्रीका लागि मन्त्रालयले एक करोड बजेट दिने समेत बताए । सभाहललाई व्यवस्थित गर्नका लागि मन्त्रालयले एक करोड बजेटको व्यवस्थापनका लागि सँगै रहेका मन्त्रालयका सचिव र डिइलाई मन्त्री चौधरीले निर्देशन समेत दिए । ‘हल निर्माण गरेर मात्र हुँदैन यसलाई सम्पन्न गरिनु पर्दछ’, मन्त्री चौधरीले भने ।

उद्योग वाणिज्य संघले उठाउँदै आएको अर्को योजना विजनेश कम्पेलेक्सका बारेमा आप्mनो ध्यान गएको समेत बताए । विजनेस कम्पेलेक्स निर्माण गर्न सकिएमा घोराही बजारलाई व्यवस्थित गर्न थप सहयोग पुग्ने उनको भनाइ छ । उनले यस प्रकारको योजनालाई प्राथमिकतामा राखेर आफू अगाडि बढ्ने समेत बताए ।

मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले संरचना निर्माण मात्र नभइ निर्माण भएका संरचनाको सही सदुपयोग हुनुपर्ने बताए । ‘बनेको संरचनाबाट कसरी रिटन ल्याउने भन्ने चुनौती छ’, उनले भने, ‘त्यसतर्फ सबैले ध्यान दिन आवश्यक छ ।’ सभाहल सञ्चालनको सव्यवस्थापन र सञ्चालनको जिम्मा दाङ जिल्ला उद्योग वाणिज्य संघले गर्ने भएकाले यो व्यवस्थित रूपमा सञ्चालन हुने आप्mनो अपेक्षा रहेको उनको भनाइ छ । निर्माण हुने संरचना समयमा निर्माण हुनुपर्ने र गुणस्तरी हुनु समेत सचिव सिंहले बताए । कार्यक्रममा बोल्ने वक्ताहरूले सभाहल निर्माणसँगै जिल्लामा हुने ठूला कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग पुग्ने बताएका थिए ।

दाङ उद्योग वाणिज्य संघ दाङका अध्यक्ष टंकसिह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुन योगी, नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामणि बेलबासे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, राष्ट्रिय जनमोर्चा समन्वय समितिका टीकाबहादुर विक, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायतले मन्तव्य राखेका थिए । संघका पूर्व अध्यक्ष हेमराज बन्जाडेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।