मन्त्री चौधरीको ‘मुभमेन्ट’

बालाराम खड्का
लमही, ३० साउन । २०७४ सालको प्रतिनिधिसभाको चुनावमा दाङ क्षेत्र नं. १ बाट विजयी भएका मेटमणि चौधरी मन्त्री भएको एक महिना बितेको छ । नेकपा एमाले विभाजनसँगै गठन भएको नेकपा समाजवादी एकीकृत पार्टीका पोलिटव्यूरो सदस्य चौधरी हाल सहरी विकास मन्त्री भएका छन् ।

संघ र प्रदेशको चुनाव घोषणा भएसँगै उनी गृहजिल्ला आएका छन् । मन्त्री भएसँगै पहिलो पटक गृहजिल्ला आएका चौधरी विभिन्न कार्यक्रममा व्यस्त छन् । भवन शिलान्यस, उद्घाटन, सडक शिलान्यास र अन्य औपचारिक कार्यक्रममा छन् ।

गृह जिल्ला आएका मन्त्री चौधरीले यो पटक करिब डेढ अर्ब बराबरको विकास निर्माणका कामको सुरुवात गरेर आफू काठमाडौं फर्कने औपचारिक कार्यक्रममा बोलेका छन् । सम्भवतः उनले सोमवार लामो समयदेखि सञ्चालनमा आएको मसिना, सैघा हुँदै स्वर्गद्वारी जाने सडकको औपचारिक रूपमा शिल्यानास गर्नेछन् ।

यो सडकमा प्रदेश, नगरपालिका र साविक जिल्ला विकासले लाखौँ रूपैयाँ लगानी गरेका छन् । जिल्ला आएका मन्त्रीको यो दौडधुप र केही ठाउँमा भएका शिलान्यासलाई विकासको छलाङ भनेर टिप्पणी गर्न समेत भ्याएका छन् भने अधिकांशले मन्त्री चौधरीको चुनावी प्रचार भनेका छन् ।

मन्त्री चौधरीले पहिलो चरणमा जिल्लामा १ अर्ब ५० करोड र अर्को चरणमा २ अर्बको विकास निर्माणको काम सुरुवात गर्ने उद्घोष गरेका छन् । राप्ती करिडोर, गढवालाई नयाँ सहर कोइलाबासको विकासका लागि बजेट र स्वर्गद्वारीसम्म केबुल कार सञ्चालनका लागि डिपिआर तयारसम्मका योजनाहरू आप्mनो कार्यकालमा सुरुवात गरेर छाड्ने योजना बुनेको उनले सुनाए ।

मन्त्री चौधरीले अब केही दिनमै राप्ती नदीको किनारामा कालोपत्रे गराइ बस्ती बसाल्ने, नदीलाई सुन्दरता गराउने विभिन्न स्थानमा पुल निर्माण गर्नेलगायतका काम हुने बताए । ‘अब दाङलाई समृद्ध बनाउन राप्ती करीडोरले पनि धेरै सहयोग गर्नेछ’, उनले भनेको छन् । मन्त्री चौधरीले राप्ती नदी वरपर सुन्दर बगैँचा र बोटिङ, ¥याफ्टिङ पनि सञ्चालन गरी पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको बताए ।

मन्त्री चौधरीले स्वर्गद्वारीसम्म पुग्नका लागि केबुल कारको डिपिआर निर्माणको तयारी भएको बताए । ‘दाङको कुन स्थानबाट यसको सम्भव हुन्छ त्यहीँबाट केबुलकार सञ्चालनका लागि निजी क्षेत्रको सहभागितामा डिपिआर बनाउने काम अगाडि बढ्दैछ’, उनले भने ।

मन्त्री चौधरीले गढवालाई नयाँ सिटीको रूपमा विकास गर्न भने ३२ करोड बजेट समेत विनियोजन भएको बताए । कोइलाबासमा १२ करोड, वीपी भवनको निर्माण सम्पन्नका लागि एक करोड बजेट छुट्याएको बताए । उनले घोराही–लमहीलाई सडकखण्डको अजुर्न खोलादेखि मुसोट पुलसम्म अर्को बाटो र मुसोटदेखि घोराहीसम्म १२ किलोमिटर सुरुङमार्ग निर्माणका लागि प्रक्रिया अगाडि बढाउने समेत बताए ।

‘घोराही–लमही सडकखण्डलाई विस्तार गरी घोराही र लमहीलाई जोड्ने काम पनि अब केही समयमै सुरु हुन्छ’, मन्त्री चौधरीले भने । ‘मैले सबै क्षेत्रको भावना समेट्ने गरी विकास निर्माणलाई अगाडि बढाएको छु’, मन्त्री चौधरीले भने, ‘परशुराम चौधरी र खुमबहादुर खड्काले दाङको विकास र दङालीको उत्थानका लागि काम गरे, त्यसरी नै आफूले पनि काम गर्नेछु ।’