निर्वाचनमय वातावरण र हल्लाहरूको याम

  •   
  •  

के.पी.सुवेदी
सामाजिक सञ्जालमा आजभोलि तथ्यहीन समाचारहरुको बाढी आँउदैछ । मुलुक निर्वाचनमा गएको छ । सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेश दुवै तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । अर्को पाँच वर्षका लागि जनादेश लिएर संघ र प्रदेशमा नयाँ सरकार गठन हुनेछ ।

ताजा जनादेशका लागि राजनीतिक दलहरु सत्तामा या प्रतिपक्षमै पनि जनताको हित हुने गरी आफ्नो दलले गरेका राम्रा कामहरु स्मरण गर्न र कमीकमजोरी भएका विषयमा कारणसहित स्पष्टिकरण दिने अर्को ऐतिहासिक अवसरको भरतपुर उपयोग गर्दै आगामी दिनमा कसरी देश र जनताको हितमा मात्र काम गर्ने योजनाहरु छन् ।

तिनको कार्यान्वयन हुने स्पष्ट मार्गचित्र मतदाताको सामू पस्किनुपर्छ । विगतका काम हेरेर मतदातामा एक किसिमको धारणा बनिसकेको हुनसक्छ । तर पनि धेरै मतदाताहरु आफ्नो धारणा बदल्न चाहन्छन् । त्यसका लागि उनीहरुलाई आगामी कार्यक्रम विश्वासयोग्य हुनुपर्छ । निर्वाचनमा मतदाताको मत सही ठाउँमा प्रयोग भएपछि नै परिवर्तनको ढोका खुल्ने हो । यदि मतदातामा आफ्नो मतको मूल्याङ्कन गर्ने चेतना कमजोर छ भने ठूलो अवसर गुम्ने निश्चित हुन्छ ।

आफ्नो मतको विवेकपूर्ण प्रयोगले सरकार परिवर्तन मात्र नभएर पूरै राष्ट्रको काया परिवर्तन हुन्छ । देश विकास र निर्माणको गति परिवर्तन हुन्छ । त्यसकारण सरकार सत्ता वा अहंकारी अधिनायकवादी र सर्वसत्तावादी शासकको अन्त्य गर्न पनि विवेकपूर्ण मतको आवश्यकता पर्छ । नागरिकले आफ्नो शासक आफ्नो मतको सही प्रयोगद्वारा फेर्नसक्ने अवस्था लोकतन्त्रमा सुनिश्चित गरिएको छ । आज हाम्रो मुलुकमा त्यही व्यवस्था छ । त्यसैले लोक–गणतन्त्रमा निर्वाचनलाई व्यवस्थाको मेरुदण्ड मानिएको छ ।

लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकले राजनीतिक दल खोल्न, दलमा आबद्ध हुन वा कतै पनि नजोडिइ स्वतन्त्र रहने अधिकार हुन्छ । शासन सत्तामा मतद्वारा प्रतिनिधि पठाउनु वा स्वयम् प्रतिनिधित्वका लागि जनमत लिन निर्वाचनमा आफै उम्मेदवार भइ जनतासँग मत माग्नु उनीहरुको अधिकार हो । त्यस्तो व्यवस्था कानुनद्वारा प्रदत्त भएकोले निर्वाचन सम्बन्धित रणनीति बनाउन सबै दल वा स्वतन्त्र नागरिक लागिरहेको हामीले देखिरहेका छौँ ।

विभिन्न राजनीतिक दलहरुले आफ्नो दललाई बहुमत प्राप्त गर्ने चुनावी रणनीति बनाउन लाग्नु अनौठो होइन । यसैबीच विभिन्न व्यक्तिहरु स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रममा रहेको देख्न सकिन्छ । कतिपय घोषणाहरु व्यक्तिगत महत्वाकांक्षाबाट प्रेरित भएका होलान् । कतिपय आफ्नो उम्मेदवारी कसैप्रति लक्षित भएको हुनसक्छ ।

यसबाट कसैलाई अप्ठ्यारो पारेर उसको राजनीतिक यात्रामा अवरोधक बनेर पैसामा दाउँ लगाउने सोचबाट आएका हुनसक्छन् । दलीय व्यवस्थामा दलको एकल वा मिलिजुली सरकार हुने हुँदा दलका प्रतिनिधिकै बीचमा कसको योजना कस्तो भन्ने मूल्याङ्कन जनताले गर्ने हो । व्यक्ति निर्वाचित भएर पनि उसको योजना र दृष्टिकोण दलको सहयोगबिना कार्यान्वयन हुन असम्भवप्रायः हुन्छ ।

हाम्रोमा राजनीति परिस्कृत हुन धेरै समय लाग्छ । किनभने विशुद्ध लोकतान्त्रिक आचरण निर्माण नभएसम्म राजनीति फोहरीहरुको खेलजस्तो, असभ्य जंगलीहरुको खेलजस्तो भइरहन्छ । जुन कुरा हामी व्यहोरिरहेका छौँ । सामाजिक सञ्जालहरु हेर्दा, समाचार लेखिरहेका अनलाइन तथा विभिन्न सञ्चार माध्यममा प्रकाशित, प्रसारित समाचार सुन्न, देख्न दिक्क लाग्ने खालका छन् ।

राजनीतिक दलका शीर्ष भनिने अझ कसै–कसैले राजनेता भनिन खोजेका नेताको भाषणमा प्रयुक्त भाषा र त्यसको स्तर अत्यन्त निम्नस्तरीय बनिरहेको छ । निर्वाचनको मिति घोषणा भएलगत्तै यस्ता निम्नस्तरीय भाषण श्रीङ्खला सुरु भएको छ । त्यसको पहिलो प्रयोगकर्ता नेकपा एमाले अध्यक्ष केपी ओली भएका छन् । यस्ता शब्दहरु प्रयोग गरेका छन् कि त्यो सुन्यो भने लाज पनि लजाएको होला ।

जसले साढेतीन वर्ष यो मुलुकमा सुविधाजनक बहुमतको सरकार चलाएर कानुनले नदिएका अधिकार प्रयोग गर्दै आफ्नो नजिकका कार्यकर्ता र आसेपासेलाई पाल्न देशको ढुकूटी लुटेको छ, भ्रष्टहरुको संरक्षण गरेको छ, प्रतिपक्षीको अपमान गरेको छ । साढेतीन वर्ष मनपरी गरेर गर्न सकेनन्, अहिले आफ्नो सरकार भएको भए महँगी, भ्रष्टाचार हुँदैनथ्यो । यो देश सिंगापुर भइसक्थ्यो, नेपालको नक्सा फेरिने थियो आदि ।

यिनकै पालामा हैन ट्रान्सपरेन्सी इन्टरनेशनसले एसियाको पहिलो भ्रष्ट सरकार भनेको ? महालेखाले इतिहासमा कहल्यै नभएको बेरुजु देखाएको ? अपशब्द र स्तरहीन भाषामा अहंकार प्रदर्शन अर्का नेता प्रचण्ड देखिएका छन् । उनले सरकारमा सँगै बसेर सहयात्री दलका कार्यकर्तालाई अपमानजनक शब्द प्रयोग गरेर धम्क्याएर भनिरहेका छन्, मलाई हराइयो वा दोस्रो ठूलो दल बनाइएन भने त्यसको परिणाम राम्रो हुने छैन रे । यी बाहेक चुनाव अघि र परिणाम आएपछि पनि यी कम्युनिस्ट नायकहरुले जनतालाई कति धम्क्याउने हुन् ।

चुनाव लागेपछि अत्यन्त असत्य र भ्रमित गर्ने समाचार लेख्न सुरु भएको छ । ती समाचारहरु पठाउनुमा आ–आफ्नो उद्देश्य हुन सक्छ तर केही समारहरु काल्पनिक हुन्छन् र तिनीहरुको असर दूरगामी नभए पनि क्षणिक रुपमा राजनीतिमा तरङ्ग ल्याइदिन सक्छन् । त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित दुईवटा समाचार सामाजिक सञ्जालमा हालिएको छ । पहिलो समाचार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ज्ञानेन्द्र शाह राजा हुँदैछन् भन्ने दुःखद खबर सुनियो भनेका छन् ।

बाबुरामजस्तो परिपक्व व्यक्तिले त्यसको सम्भावना, त्यसको प्रक्रिया उल्लेख नगरी केटाकेटी कुरा गरेको लेखिएको रहेछ । त्यस्तै अर्को समाचारमा पूर्व राजा ज्ञानेन्द्र नेकपा एमालेको चिह्न लिएर चितवनबाट प्रतिनिधिसभा सदस्य लड्ने भन्ने लेखिएको छ ।

यी दुई विपरीत अर्थ राख्ने राजनीतिक समाचार लेख्ने र भन्नुको उद्देश्यले उत्पन्न हुने राजनीतिक तरङ्ग निर्वाचनसँग जोडिएर आएका हुन र अब यस्ता धेरै भ्रमपूर्ण समाचारको खेती गर्नेसँग सावधानीपूर्वक विश्लेषण गरेरमात्र प्रतिक्रिया जाहेर गर्ने गर्दा राम्रो हुन्छ । ज्ञानेन्द्र शाहसम्बन्धी समाचार जेसुकै भए पनि उनी राजनीतिमा निर्वाचित प्रतिनिधि भएर आउने कुरा सकारात्मक हो । त्यसले लोकतन्त्रको भविष्य उज्यालो गराउन सहायक हुनसक्छ ।