थारू जनप्रतिनिधिबीच चिनजान कार्यक्रम

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, २२ साउन । स्थानीय तहको निर्वाचन २०७९ मा दाङका दशवटै पालिकामा नेपाली कांग्रेसबाट टिकट पाएर निर्वाचित जनप्रतिनिधिबीच चिनजान कार्यक्रम शनिवार घोराहीमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातान्त्रिक थारू समाज दाङले आयोजना गरेको जनप्रतिनिधिबीच चिनजान तथा बधाई कार्यक्रममा सहभागी जनप्रतिनिधिले आगामी निर्वाचनमा थारू समुदायको राजनीतिमा अर्थपूर्ण र नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिएका छन् । सहभागी जनप्रतिनिधिहरूले थारू समुदायलाई राजनीतिको नेतृत्व तहमा लैजान पार्टीले अझै पनि उदारनीति बनाउन र कार्यान्वयन गर्न नसकेको विचार व्यक्त गरेका छन् ।

प्रजातान्त्रिक थारू समाजका अध्यक्ष लक्ष्मीमान चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका सहभागीले अब निकट भविष्यमा हुने संघ र प्रदेशको निर्वाचनमा नेतृत्व लिनका लागि पनि पार्टीसँग आवश्यक बहस र अन्तक्र्रिया चाँडै गर्ने प्रतिबद्धता पनि जनाए । साथै पार्टी नेतृत्वले यहाँको बहुसंख्यक थारू समुदायलाई राजनीतिको मूलप्रवाहमा ल्याउन आवश्यक नीति निर्माणमा समेत दबाब दिने सहभागी जनप्रतिनिधिको अभिव्यक्ति थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीले थारू समुदायमा सबैभन्दा पहिले उच्च शिक्षाको पहुँच बढाउन आवश्यक रहेको भन्दै सवै पालिकाहरूमा थारू समुदायलाई उच्च शिक्षा तथा व्यावसायिक सीप उपलब्ध गराउन पहल गर्नुपर्ने बताइन् । शिक्षा र सीपको अभावमा कैयौँ थारू समुदायका युवा खाडी मुलुकमा पलायन हुन बाध्य भएको भन्दै प्रमुख अतिथि चौधरीले व्यवसायमूलक शिक्षा दिन सबै जनप्रतिनिधिले आ–आफ्नो पालिकामा दबाब सिर्जना गर्नुपर्ने बताइन् ।

कार्यक्रममा विशिष्ट अतिथि तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले दाङ जिल्ला थारू समुदायको इतिहास बोकेको जिल्ला भएकाले थारू समुदायलाई राजनीतिको मूलप्रवाहमा लैजान सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताए । त्यसका लागि सबैको एकता आवश्यक रहेको पनि उनको अभिव्यक्ति थियो । अर्का विशिष्ट अतिथि तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीले अधिकार मागेर होइन, खोसेर लिनुपर्ने बताउँदै थारू समुदायका महिलाहरू पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम भइसकेको बताइन् ।

सीप र दक्षता हुँदाहुँदै पनि थारू समुदाय अवसरमा अझै पछि परेको भन्दै अब आउने संघ र प्रदेशको निर्वाचनमा थारू समुदायका नेतालाई टिकट दिलाउन सबैले पहल गर्नुपर्ने बताइन् । अर्का विशिष्ट अतिथि तथा थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरीले पनि थारू समुदायलाई अवसरबाट अझै पनि कञ्जुस्याइ भइरहेको बताउँदै नेपाली कांग्रेसले थारू समुदायलाई राजनीतिको मूलधारमा समाहित गर्न अझै सक्रिय हुनुपर्ने बताए ।

प्रजातान्त्रिक थारू समाज दाङका सल्लाहकार तथा किसान नेता गणेश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शान्तिनगर गाउँपालिकाका वडा सदस्य राजकुमारी चौधरी, राजपुरकी गंगा चौधरी, घोराही उपमहानगरपालिकाका जनप्रतिनिधि बुद्धिराम चौधरी, तुलसीपुर उपमहानगरपालिकाका धनीराम चौधरी, दंगीशरण गाउपालिकाका कान्छाराम चौधरीलगायतले अधिकारको लडाइँमा ऐक्यबद्धता आवश्यक भएको बताएका थिए ।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव इन्द्र चौधरीले गरेका थिए । सो अवसरमा आयोजकले निर्वाचित जनप्रतिनिधिलाई खादा र अविर लगाएर सम्मान गरिएको थियो ।