विश्व स्तनपान दिवस : नवजात शिशु स्तनपानबाटै वञ्चित

  •   
  •  

बालाराम खड्का
तुलसीपुर, २२ साउन । साउन १६ गतेदेखि सुरु भएको स्तनपान सप्ताह आज (आइतवार) सकिँदै छ । सरोकारवाला निकायहरूले जिल्लामा औपचारिक तथा अनौपचारिकरूपले स्तनपान सप्ताह मनाउने गरेका छन् । कुनै स्वास्थ्य संस्थाले प्रबद्र्धनात्म कार्यक्रम गरेका छन् भने कुनैले विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरी सप्ताह मनाएका छन् ।

स्तनपानको महत्व नबुझ्दा तथा महिलाहरूको कामकाजी तथा अन्य कारणले पनि पर्याप्त मात्रामा नवजात शिशुहरूलाई स्तनपान गराउनेहरूको संख्या भने घट्दै गएको छ । स्तनपान अमृत समान’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइरहेको बेला शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने चेतनासमेत सबैमा नभएको पाइएको छ । जसले गर्दा नवजात शिशु प्रारम्भिक स्तनपानबाट वञ्चित हुने गरेका छन् ।

स्तनपान गराउनुपर्छ भनेर दिइने परामर्शको अभाव तथा बजारमा पाइने विभिन्न प्रकारको खाद्यपदार्थका कारणले कमी भएको चिकित्सकहरू बताउँछन् । स्तनपान गराउने दुई किसिमको हुने र पहिलो जन्मेको एक घण्टाभित्र तथा दोस्रो ६ महिनासम्म खुवाउनुपर्ने तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओपी न्यौपानेले बताए । उनकाअनुसार हाल तुलसीपुरमा करिब ९० प्रतिशत महिलाहरूले सुरुमा स्तनपान गराउने गरे पनि विस्तारै त्यसको संख्या भने घट्दै गएको देखिएको बताए ।

‘सुरुमा सबै आमाहरूले शिशुलाई स्तनपान गराउनुहुन्छ तर विस्तारै आमाहरू शिक्षित भए पनि विभिन्न कारणले त्यसको दर भने घटेको छ’, उनले भने । श्रममा जानुपर्ने तथा केही महिलाहरू जागिरे भएका कारणले पनि स्तनपान गराउने आमाहरूको संख्यामा कमी आएको उनले बताए । ‘नगर तथा जिल्लामा पनि यस्तै अवस्था छ’, उनले भने । न्यौपानेले दैनिक स्तनपान सबै महिलाहरूले गराउने भन्दै दिनमा कम्तिमा १० पटक स्तनपान गराउनुपर्नेमा विभिन्न कारणले सो भने हुन नसकेको बताए ।

उनले हाल धेरैजसो महिलाहरूले शिशुलाई अस्पतालमै जन्म दिने भएकाले अस्पतालमा रहेका चिकित्सकहरूले जन्मेको एक घण्टामै स्तनपान गराउने गरेको बताए । पहिले–पहिले भने बच्चालाई आमाको पहिलो विगौती दूध फाल्ने चलन थियो । ‘स्तनपान गराउने तरिका र फाइदाबारे अस्पतालका नर्स वा डाक्टरले नै सिकाउनुहुन्छ तर घरमा पुगेपछि विस्तारै त्यसको संख्या भने अन्य कारणले घट्ने गर्छ’, उनले भने ।

शिशु तथा सुत्केरी आमाको मृत्युदर घटाउनका लागि स्तनपान सप्ताह विश्वभर तथा नेपालमा पनि सुरु गरेको भन्दै न्यौपानेले कामकाजीको बहानामा शिशुलाई स्तनपान नगराउनु गलत भएको बताए । हजार दिनका आमाहरूलाई स्तनपान तथा अन्य स्वास्थ्य शिक्षाहरू दिने गरेको उनको भनाइ छ । ‘हामीले महिला स्वयम्सेवक तथा स्वास्थ्यकर्मीमार्फत् विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेका छौं’, उनले भने ।

६ महिनासम्म शिशुलाई आमाकै दूध खुवाउनुपर्ने र ६ महिनापछि भने अन्य पौष्टिक खाना पनि खुवाउन मिल्ने उनको भनाइ छ । स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपनालगायत रोगबाट बचाउने भएकाले पनि स्तनपानको महत्व धेरै भएको बताइएको छ ।

आमाको दूधमा पाइने कोलस्ट्रम (बिगौती) दूधमा विभिन्न रोगसँग लड्नसक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला र निमोनियाजस्ता घातक संक्रमणबाट बचाउन सकिने भएका कारण पनि दुई वर्षसम्म अनिवार्य स्तनपान गराउनुपर्ने चिकित्सकको सुझाव छ । सप्ताह सुरु भएसँगै तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले प्रत्येक वडामा महिला स्वयम्सेविकाहरूलाई यसको महत्वको विषयमा उत्प्रेरणा कार्यक्रम गरेको बताए । त्यस्तै तुलसीपुरका विभिन्न स्थानमा सचेतनात्मक व्यानरहरू राखेर सप्ताहव्यापी कार्यक्रम गरेको बताए ।

स्तनपान गराउने महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना कम हुने प्रमुख न्यौपानेको भनाइ छ । स्तनपान गराउन सहजीकरणको लागि महिला कार्यरत भएको निजी तथा सरकारी कार्यलयमा स्तनपान कक्षको समेत स्थापना गरिएको छ । नेपालमा एक सयमध्ये करिब ५५ जना शिशुलाई जन्मेको एक घण्टाभित्रै स्तनपान गराइन्छ । नेपाललगायत विश्वका १ सय ७० भन्दा बढी देशले एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरेका छन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो ।