अर्थमन्त्री शर्मालाई जनताले चोख्याउँदैनन् : महासचिव पोख्रेल

दाङ, १९ साउन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले बजेटमा जनताको भन्दा निश्चित माफियाको अनुहार देखिने गरेको बताएका छन् । उनले अर्थमन्त्री जनार्दन शर्माले बजेट माफियाकरण गरेको आरोपसमेत लगाए ।

‘व्यापारिक घरानासँगको सेटिङमा अर्थमन्त्री शर्माले बजेट ल्याएका छन् । अवाञ्छित व्यक्तिहरू, व्यापारीका एजेन्टहरू राखेर करका दरहरू हेरफेर गरेका छन्’, प्रेस चौतारी दाङले बुधवार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले भने– ‘बहुमतको आधारमा देउवा र प्रचण्डले शर्मालाई चोख्याएका छन् तर, जनताले उनलाई चोख्याउन सक्दैनन् ।’

अनुचित र गैरजिम्मेवार काम गरेको अर्थमन्त्री शर्मालाई बहुमतको आडमा उन्मुक्ति दिने काम भएको भन्दै सरकारको आलोचनासमेत गरे । महासचिव पोख्रेलले गठबन्धन सरकारका कारण देश संकटमा फस्दै गएको समेत बताए ।

‘एमाले सरकारमा रहँदासम्म देशको आर्थिक अवस्था सकारात्मक रूपमा थियो । तर अहिलेको आर्थिक अवस्था नाजुक अवस्थामा छ’, उनले भने– ‘एमालेले सरकार छोड्दा मुलुकको सोधनान्तरस्थित झन्डै ७०÷८० अर्ब रुपैयाँ बचतको अवस्थामा थियो । तर गठबन्धन सरकारका कारण एक वर्षको अवधिमा देश पौने तीन खर्ब घाटामा छ ।’

एक वर्षको अवधिमा ५ महिना बराबरको सामथ्र्य देशले गुमाउनुले गठबन्धन सरकार असक्षम भइसकेको समेत महासचिव पोख्रेलले दावी गरे । देशको अर्थतन्त्र संकटमा परेको भन्दै उनले सरकार पूर्णरूपमा असक्षम भएको बताए । महासचिव पोख्रेलले स्थानीय तहको निर्वाचनबाट एमालेले असाधारणरूपमा आफ्नो सामथ्र्य बृद्धि गरेको समेत बताए ।

‘माधव नेपाल, झलनाथ, बामदेवजस्ता व्यक्तिहरूले पार्टी छोड्दाखेरि पनि पार्टीको जनमत घटेको होइन बढेको छ,’ उनले भने– ‘२०७४ को स्थानीय तहको चुनाव पार्टीको ३३ प्रतिशत मत थियो र अहिले एमालेले ३४ प्रतिशत मत प्राप्त गरेको छ ।’ स्थानीय चुनावमा कांग्रेस पहिलो देखिए पनि आफ्नो सामथ्र्य नभएर गठबन्धनको परिणाम भएको महासचिव पोख्रेलले बताए ।

महासचिव पोख्रेलले मंसिरमा गर्नुपर्ने निर्वाचनको मिति घोषणा गर्नसमेत सरकारले आनाकानी गरिरहेको भन्दै गठबन्धन दलको लोकतन्त्रप्रतिको विश्वास खस्किँदै गएको दावी गरे । ‘मंसिरमा चुनाव गर्नुपर्छ तर अझै पनि सरकारले चुनाव घोषणा गर्न सकेको छैन’, महासचिव पोख्रेलले भने ।

राष्ट्रिय राजनीति जटिल मोडमा पुगेकोसमेत महासचिव पोख्रेलले बताए । पाँच दलीय गठबन्धनका कारण देशको राजनीति र भविष्य जटिल मोडमा छ । तर गठबन्धन त्यसको निकासको लागि गम्भीर छैन ।’ बाम गठबन्धनको सम्भावनामा सोधिएको प्रश्नमा महासचिव पोख्रेलले नीतिको आधारमा मात्र गठबन्धन गरिने बताए । ‘नीतिको आधारमा गठबन्धन गर्नुपर्छ ।

हाम्रो पार्टीको नीति मन पराएर एमालेसँग सहकार्य गर्न आएमा एमाले बाधक छैन । एमाले स्वागत गर्न तयार छ’, महासचिव पोख्रेलले भने– ‘गठबन्धन गर्नलाई नीति प्रधान हुनेछ ।’ मंगलवार राति गृहजिल्ला आएका महासचिव पोख्रेल साउन २१ गतेसम्म जिल्लामा हुने पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो । चौतारी दाङका उपाध्यक्ष प्रेमबहादुर राम्जाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गरेका थिए ।

घोराही र तुलसीपुरमा एमालेको प्रशिक्षण
कम्युनिष्ट कार्यकर्तामा हुनुपर्ने आधारभूत ज्ञान, समाजवादका आधार र आगामी निर्वाचनमा संगठन परिचालनलाई केन्द्रमा राखेर नेकपा एमालेले थालेको कार्यकता प्रशिक्षण घोराहीमा सकिएको छ भने तुलसीपुरमा ुरु भएको छ । पार्टी परिचालन, अनुशासन, कम्युनिष्ट कार्यकर्तामा हुनुपर्ने आचारण र वर्तमान अवस्थाका बारेमा कार्यकर्तालाई प्रशिक्षण दिने काम भएको एमालेले जनाएको छ ।

‘पार्टीका सिद्धान्तदेखि अन्य विषयमा यो प्रशिक्षण केन्द्रित छ’, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले भने– ‘यसले कार्यकर्तादेखि नेताहरुमा समेत उत्साह थप्ने काम गरेको छ ।’ जिल्लाका दशै पालिकामा एमालेले यस्तो अभियान थालेको छ । एमालेले कार्यकर्तामा उर्जा थप्नको लागि प्रशिक्षणमा पार्टीका केन्द्रीय नेतादेखि विश्वविद्यालयका प्राध्यापकलाई विभिन्न शीर्षक र समय निर्धारण गरेर उपयोग गरेको छ ।

एमाले तुलसीपुर उपमहानगर कमिटीले बुधवार गरेको प्रशिक्षणको उद्घाटन पार्टी महासचिव शंकर पोख्रेलले गरेका थिए । पार्टी प्रक्षिणको उद्घाटन गर्दै महासचिव पोख्रेलले जनताको पक्षमा राम्रो काम गरेमा गठबन्धनले पार्टीको विजय यात्रा रोक्न नसक्ने बताए । ‘जनताको पक्षमा काम गर्नुस् । भोलि देशको नेतृत्व पार्टीले गर्छ’, महासचिव पोख्रेलले भने– ‘त्यसको लागि जनतासँग मिलेर काम गर्नुस् ।’

उनले पार्टीमा केही अवसरवाद र अराजकताको कारण पार्टीले केही ठाउँमा चुनावमा पराजित भएको समेत बताए । अराजकता र अवसरवादले पार्टीलाई कमजोर बनाउँछ । त्यसलाई चिर्न यस्ता प्रशिक्षण आवश्यक भएको समेत उनले बताए । ‘ विचार र प्रशिक्षणको अभावमा पार्टीमा अवसरवाद मौलाउने गरेको छ’, महासचिव पोख्रेलले भने– ‘त्यसको लागि पार्टीभित्र यस्ता विचार बहस र प्रशिक्षण आवश्यक छ ।’

कार्यक्रममा नेकपा एमाले दाङका इन्चार्ज नरुलाल चौधरी, सहइन्चार्ज घनश्याम पाण्डे, जिल्ला सचिव मनोहर बुढाथोकी र नगर इन्चार्ज मानबहादुर रावतलगायतले मन्तव्य राखेका थिए । नगर कमिटी अध्यक्ष माधव वलीको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटी उपाध्यक्ष लक्ष्मण चौधरीको स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण नगर सचिव रुपबहादुर खत्रीले गरेका थिए ।

प्रशिक्षण विहीवार सकिने छ । यता, घोराही नगर कमिटीले मंगलवारदेखि शुरु गरेको प्रशिक्षण सकिएको छ । नगर कमिटी अध्यक्ष भुवन चौधरीको अध्यक्षता एवं पार्टी महासचिव पोख्रेलको प्रमुख आतिथ्यमा प्रशिक्षणको समापन गरिएको हो । समापन कार्यक्रमको सहजीकरण नगर कमिटी सचिवालय सदस्य विष्णु सुवेदीले गरेका थिए ।