साउनमा पनि पानी पाएनन् किसानले

बालाराम खड्का
तुलसीपुर, १९ साउन । ‘हिजो साँझ पानी परेकाले रोपाइँ हुन लागेको छ । पहिलोपटक धेरै पानी परेको छ’, तुलसीपुर–१० का किसान मनोज चौधरीले भने । उनले बाँझो जग्गा देखाउँदै यस बर्ष साउन १७ वित्दा पनि रोपाइँ हुन नसकेको बताए । त्यस्तै किसान मोहनबहादुर वलीले भने पालो गरेर बोरिङको पानीले रोपाइँ सकेको भन्दै आफ्नो वरपरको खेत पानी नपर्दा बाँझै रहेको बताए ।

‘तुलसीपुर बजारमा पानी झरी आउँछ यहाँ छिटा हान्छ पानी आउँदैन्, सुकेको व्याड देखाउँदै किसनाहरुले कुलामा पानी नआउँदा र आकाशबाट पानी नपर्दा आधा खेत बाँझै रहेको बताए । अन्य जिल्लामा पानी धेरै परेर बाढीले वितण्डा मच्चाए पनि दाङमा भने पर्याप्त मात्रामा पानी नपर्दा खोलानालाहरु सुख्खा नै छन् ।

साउन भदौमा सर्वसाधारणलाई वारपार गर्न कठिन हुने खोलाहरुमा अहिले कमिला हिँड्ने गरेका छन् । ‘तुलसीपुरको पातुखोला त्यस्तै छ, गुहारखोलादेखि सिँचाइ लाग्ने सबै खोला सुख्खा छन् कसरी हुन्छ हाम्रो रोपाइँ ?’ तुलसीपुर–१२ का भीमबहादुर केसीले भने– ‘खेतमा एकपटक जोतेको दुवो उम्रिएर पहिलेकै जस्तै भएको छ ।’

सरकारले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुनेगरी सम्पूर्ण तयारी गर्न निर्देशन दिइरहँदा किसानहरुले भने खेतीका लागि सिँचाइ नहुँदा आफ्नो खेतहरु बाँझै रहेको बताउछन् । ‘न मल आयो न पानी यो बर्ष किसानहरुलाई निकै समस्या छ’, किसानहरुको गुनासो गरे ।

त्यस्तै सिँचाइ हुनेले रोपाइँ गरेर धानमा रासायनिक युरिया मल हाल्ने बेला भए पनि मल नआउँदा समस्या परेको किसानहरु बताउँछन् । ‘खेती गर्दा पनि मल पाएन, अब धानले युरिया मल खोजेको छ अनुदानको मल पाइएको छैन’, किसान जसबीर खड्काले भने । उनले अनुदानको मल पाउने ठाउँमा धाउँदा–धाउँदा आफूहरु हैरान भएको भन्दै भोलि आउँछ भन्दा–भन्दै दिन गएको बताए ।

साउनको अन्तिम सातामा मल

यसैबीच अनुदानको रासायनिक मल वितरण गर्दै आएको संस्था कृषि सामग्रीले भने मल आउन अझै केही दिन लाग्ने जनाएको छ । अब किसानहरुलाई युरिया मल आवश्यक पर्ने भन्दै पहिले रोपाइँ गरेकाहरुले मल खोज्न आउने गरेको बताएको छ ।

कृषि सामग्री लिमिडेट तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले मल आउन केही दिन लाग्ने बताए । उनले साउनको २५÷२६ मा मल आउने बताए । ‘हामीहरुले पनि मल ल्याउनका लागि ताकेता गरेका छौं, अब केही दिनमै मल आउने आश्वासन पाएको छौँ’, उनले भने ।