मेरो खुशी : सानै उमेरमा दर्जन बढी गोल्ड मेडल …

रोल्पाको लिवाङ बजारमा पसल थियो । बुबा शारीरिक अपाङ्गता भएकाले बुबा–आमा मिलेर पसलमा बस्नुहुन्थ्यो । बिहान फुर्सदको समयमा पसलमा ममता पनि बस्थिन् । त्यही समयमा पसल अगाडिबाट खेल सिक्न जाने खेलाडीहरू सेतो ड्रेसमा जाने– आउने गर्थे, त्यो देखेर ममतालाई पनि रहर लाग्थ्यो । गेम सिक्ने ठाउँ कभर्ड हल लिवाङकै टुडीखेलमा थियो । पसल टुडीखेल नजिकै भएकाले प्रायः पसल अघिकै बाटो हिड्ने गर्थे । त्यो देखेपछि मलाई पनि रहर लागेको थियो ।

साथीसँग सल्लाह गरेर सिक्ने ठाउँसम्म गएँ तर भर्ना हुनलाई अभिभावक चाहिँदो रहेछ । मलाई खेल सिक्नका लागि ममीको अनुमति थिएन । बुबा शारीरिक रूपमा अपाङ्गता भएको र तेक्वान्दो खेलमा लड्नुपर्ने भएकाले ममीले मलाई खेल्नलाई अनुमति दिनुभएको थिएन । पछि आफन्तीको सहयोगमा रोल्पा तेक्वान्दो डोजाङमा भर्ना भएर तेक्वान्दो खेल सिक्न थालेँ ।

तेक्वान्दो खेलमा लागेको छोटो अवधिमै राम्रो क्षमता प्रदर्शन गर्दै सानै उमेरमा दर्जन बढी गोल्ड मेडल जित्न सफल भइन् । सानै उमेरदेखि तेक्वान्दो खेलमा उत्कृष्ट क्षमता प्रदर्शन गरिरहेकी ममता १७औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताबाट राष्ट्रिय टिममा समेत पर्न सफल भइन् ।

देशको प्रतिनिधित्व गरेर अन्तराष्ट्रिय प्रतियोगितामा खेलेर देशसँगै आफ् नाम चिनाउने लक्ष्यका साथ अघि बढेकी तेक्वान्दो खेलाडी ममता रिजालले १७औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्दाको क्षण आफ्नो जीवनको पहिलो खुसीको क्षण भएको बताउँछिन् । ‘सानो उमेर र खेलमा लागेको छोटो अवधिमै धेरै प्रतियोगिता खेल्ने अवसर पाएकी छु ।

खेलेका अधिकांश प्रतियोगितामा स्वर्ण जितेको छु’, ममताले भनिन्, ‘त्यीमध्ये मलाई सबैभन्दा खुसी लाग्ने क्षण भनेको १७औँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्दाकोक्षण हो ।’ जुनियर ६३ केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी ममताले डोजाङ स्तरीय, जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण जित्दै लुम्बिनी प्रदेशको टिममा परेर राष्ट्रिय प्रतियोगिताका लागि छनोटमा भएकी थिइन् ।

काठमाडौँको सातदोबाटोमा गत चैत १८ र १९ गते भएको प्रतियोगितामा कर्णाली प्रदेशकी खेलाडीलाई फाइनलमा हराउँदै ममताले स्वर्ण पदक जितेकी थिइन् ।त्यसो त उनी खेल सिक्न थालेको करिब एक हप्तामै रोल्पाको मिरुलभन्ने ठाउँमा भएको प्रतियोगितामा सहभागी भएकी थिइन् ।

प्रतियोगितामा सहभागी हुनलाई खेल सिकेकी त थिइनन् तर सबै साथीहरू जान लागेकाले रहर र गेम खेलेको हेर्दा सिक्ने तीव्र इच्छाका कारण उनी प्रतियोगितामा सहभागी भइन् । गुरुको सल्लाहअनुसार प्रतियोगितामा खेलेकी ममताले पहिलो प्रतियोगितामा तेस्रो भइन् । मेडल र प्रमाणपत्र जितेर घर ल्याउँदा ममी खुसी हुनुभएको थियो र मलाई खेलमा सहयोग गर्न थाल्नुभएको हो । त्यो क्षण पनि आप्mनो जीवनको खुसीको क्षण भएको ममता बताउँछिन् ।

‘म खेल सिक्न गएकोमा ममी खुशी हुनुहुन्थेन । ममीलाई त्यता नगैदिए हुन्थ्यो भन्ने चाहना थियो’, ममताले भनिन्, ‘मेरै जिद्धिले गर्दा म खेल्न पुगेको थिएँ । पहिलो गेममा तेस्रो हुन सफल भएपछि ममी खुसी हुनुभएको थियो । ममी खुसी भएर मलाई सहयोग गर्दाको त्यो क्षण मेरो जीवनको अर्काे खुसीको क्षण हो ।

सायद घरपरिवारको सहयोग नभएको भए म यो स्थानमा आइपुग्ने थिइनँ ।’ खेलभन्दा बुबाआमाको चाहना राम्रोसँग पढेर सरकारी जागिर खाओस् भन्नेमै थियो तर मेरो चाहना भने खेलप्रति बढ्दै गयो । जसले गर्दा तेक्वान्दो खेलमा सक्रिय भएको करिब पाँच वर्षमै एक दर्जन स्वर्ण पदक जितेकी छिन् भने रजत र काश्य पदक पनि करिब ५÷७ वटा जितेकी छिन् । त्यहीमध्यको अर्को खुसीको क्षण हो,
प्रथम मेयर कप विविध प्रतियोगितामा गोल्ड मेडल जित्दाको क्षण ।

‘रोल्पा नगरपालिकाको आयोजनामा २०७५ सालमा प्रथम मेयर कप विविध प्रतियोगिता भएको थियो’, ममताले भनिन्, ‘उक्त प्र्रतियोगितामा पहिलो पटक मैले स्वर्ण पदक जित्न सफल भएको थिएँ, त्यो क्षण मेरो जीवनको अर्काे खुसीको क्षण हो ।’ उक्त प्रतियोगिताले ममताले ४५ केजी उमेर समूहमा प्रतिष्पर्धा गरेकी थिइन् ।

ममताले जिल्ला, प्रदेश राष्ट्रिय हुँदै एउटा अन्तराष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा समेत स्वर्ण जितेकी छिन् । सन २०२१ मा भारतको नयाँ दिल्लीमा भएको इन्डो–नेपाल मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन्, त्यो क्षण पनि आफ्नो जीवनको खुसीको क्षण भएको उनले बताइन् ।

यसैगरी २०७५ सालमा लिवाङमा भएको जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा पहिलो पटक स्वर्ण जितेकी उनले प्रथम मेयर कप विविधि प्रतियोगिता, मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता, आठौँ राष्ट्रिय खेलुकद प्रतियोगिताअन्तर्गत् लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जितेकी छिन् । खेल क्षेत्रमा अघि बढ्नका लागि घरपरिवार, आफन्ती, साथीभाइ, विद्यालय गुरूहरूसँगै खेलाडी आयुष केसीको निरन्तर सहयोग रहँदै आएको उनी बताउँछिन् ।

२ ० ६ २ साल भदौ २९ गते बुबा भक्तिराम रिजाल र आमा कमल रिजालको कोखबाट रोल्पा नगरपालिका–२ लिवाङमा जन्मिएकी थिइन् । ममताका एक भाइ मनोज छन् । गाउँमै रहेको ब्राइट फ्यूचर बोर्डिङ स्कूलबाट औपचारिक पढाइ प्रारम्भ गरेकी ममताले उक्त स्कूलमा युकेजीसम्म थिइन् । त्यसपछि लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरिन् ।

उक्तविद्यालयबाट एसइई पास गरेपछि गत वर्ष रोल्पाबाट घोराही झरेकी ममता भरतपुर स्थित पद्मोदय नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन संकायमा भर्ना भएर प्लस टुमा पढ्दै छिन् । घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङमा आबद्ध रहेर तेक्वान्दो खेलमा भविष्य खोजिरहेकी  खेलाडी ममता बल्याक बेल्ट फष्ट डान हुन ।