नयाँ भर्ना हुन आएका विद्यार्थीलाई पोशाक निःशुल्क

गोरक्ष समाचारदाता
दाङ, १७ साउन । दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई निःशुल्क पोशाक प्रदान गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ को कार्यालयले विद्यालयमा भर्ना हुन आएका सबै नयाँ विद्यार्थीलाई पोशाक निःशुल्करुपमा दिएको विद्यालयमा प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिइन् ।

चालु शैक्षिक बर्षमा विद्यालयमा भर्ना हुन आएका करिब २ सय नयाँ विद्यार्थीहरुलाई पोशाक निःशुल्क रुपमा दिने ब्यवस्था वडा कार्यालयले गरेको वडाध्यक्ष रमेशकुमार पाण्डेले जानकारी दिए । पोशाकको कपडा र सिलाईसमेत गरी सरदर एकजना विद्यार्थीलाई १ हजार २ सय रुपैयाँका दरले पोशाकवाफत सहयोग गरिएको वडाध्यक्ष पाण्डेले बताए ।

यसैबीच विद्यालयमा एक कार्यक्रम गरी विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । वडाध्यक्ष पाण्डे र विद्यालयका प्रधानाध्यापक पौडेलले संयुक्तरुपमा विद्यार्थीलाई पोशाक प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा वडा सदस्य माधव श्रेष्ठ, विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगी र दीपककुमार श्रेष्ठलगायतले वडा कार्यालयले पोशाक निःशुल्क रुपमा प्रदान गर्ने कार्यले विद्यार्थीहरुलाई सहयोग मिलेको बताएका थिए । सिलाएर तयार भई आएका विद्यार्थीलाई पोशाक वितरण शुरु गरिएको र यो केही दिन जारी रहने विद्यालयले जनाएको छ ।