दंगीशरणको नयाँ आयाम,वडाबाटै सामाजिक सुरक्षा भत्ता

  •   
  •  

प्रमोद आचार्य
दंगीशरण, १७ साउन । सामाजिक सुरक्षा भत्ता लिन सास्ती ब्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला दंगीशरण गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्तीस्तरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएका हो ।

गाउँपालिकाले वडा र बस्तीस्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको शुरुवात वडा नं. १ देखि शुरु गरेको छ । औपचारिक कार्यक्रमको आयोजना गरी सुरुआत गरिएको हो । पालिका अध्यक्ष शम्भु गिरी, प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर वली, वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीलगायतले भत्ता वितरण गरी सामाजिक सुरक्षा भत्ताको औपचारिक शुभारम्भ गरेका हुन् ।

बैंकिङ प्रणालीमार्फत वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता लाभग्राहीको थप सहजताका साथै नवनिर्वाचित अध्यक्ष शम्भु गिरीले चुनावी प्रतिबद्धता गरेअनुसार गाउँपालिकाको समन्वयमा बैंकका कर्मचारीलाई वडा र बस्तीस्तरमै पु¥याएर वितरण गर्ने प्रबन्ध मिलाइएको पालिका अध्यक्ष गिरीले बताए ।

‘मैले निर्वाचनअघि नै ज्येष्ठ नागरिक एवं अशक्तहरु दिनभर चर्को घाममा लाम बसेको देखेपछि दैलोमै भत्ता पुराइदिने बाचा गरेर मत मागेको थिएँ, उहाँहरुको सम्मानका लागि हामी भत्ता लिएर दैलोमै आइसकेका छौं’, गिरीले भने । गाउँपालिकाका प्रमुखसहितका प्रतिनिधिहरु भत्ता बोकेर घरमै आएकोमा ज्येष्ठ नागरिकहरुका आशीर्वादका पात्र बनेका थिए । घरमै भत्ता पाएपछि ज्येष्ठ नागरिकहरु पनि निकै हौसिएका देखिन्थे ।

दंगीशरणका ३ र ४ नं. वडा बैंकको नजिकको दूरीमा रहेकाले ५ वटा वडाका लाभग्राहीको एनसीसी बैंकमा रहेको खातामा गत वैशाखदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता पठाइसकिएको र वडा नं. १ को भौगोलिक कठिनाइका कारण गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म आएर भत्ता बुझ्न कठिनाई हुने र घण्टौँ लाइन बस्नुपर्ने भएपछि बैंकका कर्मचारीलाई बस्तीस्तरमा पु¥याएर वितरण गर्न थालिएको वडा नं. १ का वडाध्यक्ष रमेश भण्डारीले बताए ।

गाउँबस्तीमा पुगेर भत्ता वितरणमा हुने सबै खर्च गाउँपालिकाले ब्यहोर्ने उनले बताए । दंगीशरण गाउँपालिकाले कार्यतालिका नै बनाएर वडा नं. १ बाट गाउँबस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर वलीले जानकारी दिए । उनका अनुसार १६ गते वडा नं. १ को बाँकीमा, १७ गते वडा नं. २ को कौवाघारीमा, २५ गते वडा नं. ५ को नन्द्रागाउँ, १९ र २० गते वडा नं. ६ को श्रीगाउँमा, २२ र २३ गते वडा नं. ७ को श्रीगाउँमा, २९ र ३० गते वडा नं. ३ का लागि एनसीसी बैंक बैबाङबाट र वडा नं. ४ का लागि बैंकले अग्रिमरुपमा जानकारी गराउने कार्यतालिका रहेको उनको भनाइ रहेको छ ।

यस्तै वडा नं. १ का वडाध्यक्ष भण्डारीले हेकुलीस्थित एनसीसी विकास बैंकमार्फत बैंकिङ प्रणालीबाट वितरण हुँदै आएकोमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको सहजताका लागि बैंकका कर्मचारी जनप्रतिनिधि र सुरक्षा निकायको रोहवरमा वडामै पुगेर भत्ता वितरण गरिएको बताए । आफूहरु चुनावका बेला पनि सामाजिक सुरक्षा भत्ता गाउँ–गाउँमै पुगेर बाँड्ने प्रतिबद्धता गरे अनुसार जेष्ठ नागरिकको समस्यालाई मध्यनजर गर्दै वडाबाट बाँड्ने निर्णय गरेको बताए ।

वडा नं. १ का २११ लाभग्राहीलाई वडाबाटै भत्ता वितरण गरिएको एनसीसी बैंक हेकुली शाखाका प्रमुख एकराज केसीले जानकारी दिए । पालिकाबाट हुने हरेक काम कुराहरूलाई बैंकसँग जोडेर पालिकाको हरेक काममा साथ दिनेसमेत प्रतिबद्धता ब्यक्त गरे । दंगीशरण गाउँपालिकाले बैंकको पहुँचदेखि टाढा रहेका ५ वटा वडामै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा वितरणको प्रबन्ध मिलाउने कार्यपालिका बैठकबाट निर्णय गरेको छ ।

ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, विधवालगायतका लाभग्राहीलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले उनीहरुको सम्मान र सहजताका लागि हरेक वडामै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गिरी बताउँछन् । मुलुकमा स्थानीय सरकार आए पनि ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लिन निकै सास्ती थियो । उनीहरुले कोरोनाको कहरमा समेत ज्यू–ज्यानको प्रवाह नगरेर दिनभरी बैंकको लाइनमा बसेर जोखिमपूर्णरुपमा भत्ता लिन बाध्य थिए ।

तीन महिनाको भत्ता लिन बृद्धबृद्धाहरु बैंकमा दिनभर लाइन लागेको दृश्य त्यो बेला निकै हृदयविदारक देखिएको स्थानीयबासीहरुले बताएका छन् । मुलुक जनप्रतिनिधिविहीन भएको अवस्थामा बरु गाविसमै स्थानीय लक्षित समुदायले भत्ता पाउँथे । तर जनप्रतिनिधिहरु आएसँगै उनीहरुको भत्ता बैंकिङ प्रणालीमा लैजाने भन्दै विकट बस्तीका नागरिकलाई समेत भत्ता लिनका लागि शहर–बजारमा रहेको बैंकमा जान बाध्य बनाइएको थियो ।

चर्को घाम, भारी बर्षात तथा विश्वव्याधिका रुपमा फैलिएको कोरोना कहरमा पनि ज्येष्ठ नागरिकहरु यसरी नै सामाजिक सुरक्षा भत्ता लिन बाध्य थिए । त्यसो त दंगीशरण गाउँपालिकाले स्थानीय नागरिकहरुको न्यायोचित गुनासोहरुलाई सम्बोधन गर्दै सम्पत्ति तथा घरजग्गा करमा पनि पुनरावलोकन गरेपछि स्थानीय नागरिकहरु सरकारप्रति थप आशावादी बन्दै आएका छन् ।